बाँके
, साउन ८ - नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण शुक्रबार नेपालगन्जमा जनजीवन प्रभावित भएकोछ । बन्दका कारण पूर्वपश्चिम राजमार्ग तथा अन्य सडकखण्डमा यात्रुबाहक सवारी साधन संचालनमा नआएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बन्दकर्ताले नेपालगन्जमा भारतीय नम्बरप्लेटको गाडीसहित पाँचवटा गाडीमा आगजनी र तोडफोड गरेका छन् । पूर्व–राजमार्ग राजमार्ग अन्तर्गत खासकुसुमको सौरीनजिकै राकिराखिएको ना ५ ख ५०१४ नम्बरको मालबाहक ट्रकमा आगजनी गरिएको प्रहरीले जनाएको छ । मदिरा बोकेर नारायणघाटबाट दार्चुलाका लागि जानेक्रममा रोकिराखेको ट्रकमा माओवादी कार्यकर्ताले आगजनी गरेका हुन् ।
आगजनीबाट ट्रक धनी  दार्चुला भगवती १ का गौरसिंह बोहरा सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक टिका केसीले जानकारी दिनुभयो । बोहरा ट्रकभित्र रहेको अवस्थामा माओवादी कार्यकर्ताले आगजनी गरेका हुन् । 
यसैगरी सीमावर्ती भारतको रुपैडियाबाट नेपालगन्जतर्फ विद्यार्थी लैजान आएको रुपैडियास्थित सिमान्त इन्टर क्लेजको युपी ४० टियु ७६३ भारतीय नम्बर प्लेटको भ्यानमा स्नेह होटल नजिकै आगजनी गरिएको छ ।  आफ्नो विद्यालयको भ्यानमा आगजनी भएपछि सीमान्त इन्टर कलेजका विद्यार्थीले सीमावर्ती रुपैडियास्थित नेपालगन्ज नाकामा प्रदर्शन गरेपछि नाका क्षेत्र केही समय तनावग्रस्त भएको थियो । 
तयस क्रममा नेपाल प्रहरीले नेपाली नम्बरप्लेनका गाडी समेत भारत जान रोक लगाएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी बशन्तकुमार पन्तले स्कुल भ्यानमा आगजनी गर्ने बन्दकर्ताको खोजी भईरहेको जानकारी दिनुभएको छ । 
एसपी पन्तले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेत र प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरसमक्ष रुपैडियाका विद्यार्थीले आगजनी गर्नेलाई कडा कारवाही र क्षतिपुर्ती माग गरेको बताउनुभयो । सीमा क्षेत्रमा आवागमन नै ठप्प हुनेगरी कुनै तनाव नभएको एसपी पन्तले जानकारी दिनुभयो । 
यस्तै नेपालगन्ज बसपार्कमा पाकिङ गरि राखिएका दुईवटा बसमा  तोडफोड गरिएको छ । प्रहरीले पार्किङ गरिएको बसमा अपरिचित समुहले बिहान १० बजेतिर तोडफोड भएको जनाएको छ । 
यसैगरी कोहलपुरको किरणनाला नजिक भे १ ज ७०३ नम्बरको भ्यान तोडफोड भएको छ । प्रहरीले बन्दमा आगजनी र तोडफोडमा संलग्नमध्ये तीनजना पक्राउ गरिएको जनाएको छ । अन्य व्यक्तिको समेत पहिचान भइ खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 
बन्दकर्ताहरु सडकमा खासै नदेखिएपनि बन्दको पुर्ण प्रभाव परेको छ । बन्दका कारण शिक्षणसंस्था, उद्योग कलकारखाना, बजारलगायत बन्द छन् । सडकमा बस, जीप पनि चलेका छैनन् । भारत रोजगारीबाट फर्कनेहरु पैदलै नेपालगन्जसम्म पुगेका छन् ।

Post a Comment

 
Top