काठमाडौं, साउन ७ – बुधबार राती गएको पराकम्पको केन्द्रबिन्दू काठमाण्डूको भृकुटीमण्डप भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रको प्राविधिक गडबढीका कारण राती पराकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक भएको भनिएकोमा पछि सच्चाइएको छ । 
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार केन्द्रीय मापन केन्द्रमा आएको खराबीका कारण पराकम्पको केन्द्रबिन्दू पहिचानमा समस्या भएको हो । क्षेत्रीय मापन केन्द्रबाट मापन गर्दा दूरी फरक पर्न गएको उहाँले बताउनुभयो ।
केन्द्रीय मापन केन्द्रको हार्ड डिक्स बिग्रेकाले क्षेत्रीय मापन केन्द्रबाट मापन गर्दा सिन्धुपाल्चोक देखिएको उहाँको भनाई छ । केन्द्रले अहिले सामान्य मर्मत गरी केन्द्रीय मापन केन्द्रबाट सूचना जारी गरेको छ । 
बुधबार राती १० बजेर १४ मिनेट जाँदा काठमाडौं भृकुटीमण्डप केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको पराकम्प गएको हो । धेरैपछि शक्तिशाली पराकम्प गएकाले काठमाडौंका बासिन्दा केहीबेर घर बाहिर निस्केका थिए ।
वैशाख १२ गतेको शक्तिशाली भूकम्प पछि अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिका ३ सय ५५ वटा पराकम्पन गैसकेका छन् । फेरि पनि पराकम्प आउन सक्ने भएकाले नआत्तिन तर सचेत हुन केन्द्रले आग्रह गरेको छ ।

Post a Comment

 
Top