काठमाडौं,  साउन ८ - पछिल्ला बन्दहरुमा एउटा परम्परा बसेको छ, कार्यालय समय सकिने बित्तिकै बन्द खुलाउने । बिहान उज्यालो हुने बित्तिकै बन्दकर्ता नाराबाजी गर्दै सडकमा पुग्छन् । झण्डा हल्लाउँदै नाराबाजी गर्छन् ।
कुनैबेला प्रहरीसँग घम्साघम्सी पनि हुन्छ । दिनभरी बन्द गर्न हिँडेकाहरु कार्यालय समय सकिने बित्तिकै बेलुकी ५ बजेपछि बन्द सकिएको घोषणा गर्छन् । बन्दकर्ताको घोषणालगत्तै सडकमा गाडी पनि चल्न थाल्छन् । दिनभरी पैदल हिँड्न बाध्य भएकाहरु बेलुकी एकछिन भएपनि गाडी चढेर घर फर्कन पाउँछन् ।
यसअघिका अरु बन्द जस्तै शुक्रबार नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्द पनि बेलुकी ५ बजेपछि खुल्छ भन्नेमा धेरै ढुक्क छन् । तर बन्दकर्तालाई नै बन्द कति बजेसम्म हो भन्ने अन्योल छ ।
‘यसअघिको परम्परा अनुसार ५ बजेपछि त खुल्नुपर्ने हो’ बन्दकर्ता दल नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव खगेश्वर केसीले भन्नुभयो । तर नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले भने दिनभर नै बन्द हुने बताउनुभयो ।
‘एक दिनको बन्द भनेपछि त बिहानदेखि बेलुकीसम्म उज्यालो हुँदासम्म नै हुने भयो नि’ विश्वकर्माले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म बन्द हुनुपर्ने हो, ६ बजेपछि खुल्छ भनेर भन्दिनुहोस् ।’
हिउँदको बेला दिन छोटो हुने भएकाले ५ बजेपछि बन्द खुल्नु स्वभाविक भएपनि अहिले ६ बजेपछि मात्रै खुलाउन ठीक हुने उहाँले तर्क गर्नुभयो । बन्द सधैंका लागि बन्द गर्नुपर्ने आवाज उठाउँदै आएका नागरिकको समर्थन नहुँदा नहुँदै पनि शुक्रबार बन्द भएको छ । नहुनुपर्ने बन्द भैसकेपछि दिनभरी नहोस् भन्ने धेरैको चाहना हुन्छ ।
किनकी बन्द खुल्ने बित्तिकै गाडी चल्ने र गाडी चलेपछि गन्तव्यमा पुग्न सजिलो हुन्छ भनेर धेरैजना आशा गरेर बसेका हुन्छन् । तर बन्द कतिबजेसम्म हो भन्नेमा आयोजकले नै दुईथरी कुरा गरेपछि नागरिक झन् अलमलमा परेका छन् ।

Post a Comment

 
Top