बाँके, साउन ७ – नेपालगन्ज भन्सार कार्यालयले गएको आर्थिक वर्ष २०७१/०७२ मा लक्ष्य भन्दा झण्डै २९ करोड रुपैयाँ कम राजश्व संकलन गरेको छ । तर संकलित राजश्व रकम आर्थिक वर्ष २०७०/०७१ भन्दा झण्डै दुई करोड बढी हो ।
नेपालगन्ज भन्सार कार्यालयले गएको आर्थिक वर्ष २०७१/०७२ मा चार अर्ब ९ करोड रुपैयाँ लक्ष्य पाएकोमा तीन अर्ब ८० करोड ५५ लाख ७७ हजार रुपैयाँ संकलन गर्न सफल भएको भन्सार अधिकृत ठाकुर आचार्यले जानकारी दिनुभयो । भन्सार कार्यालयले तीन महिना मात्रै लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेको थियो ।
गएको आर्थिक वर्षमा साउन, असोज र असारमा मात्रै लक्ष्य कटाउन सकिएको भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयले सुरुको ६ महिना भन्दा पछिल्लो ६ महिनामा बढी राजश्व संकलन गरेको छ । नेपालगन्ज भन्सार कार्यालयको पहिलो ६ महिनाको अर्धवार्षिक लक्ष्य एक अरब ८८ करोड रुपैयाँ भएकोमा एक अर्ब ७७ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्यमा आएको गिरावटका कारण भ्याट असुलीमा कमी हुनु, नेपाली सिमेन्ट उद्योगले बजार लिएपछि  भारतबाट सिमेन्ट आयातमा कमी हुनु र नेपालगन्ज नाका भएर मोटरपार्टसका सामान नभित्रिएका कारण लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकिएको भन्सार अधिकृत आचार्यले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७०/०७१ मा लक्ष्य तीन अर्ब ६० करोड आठ लाख ३२ हजार रुपैयाँ रहेकोमा तीन अरब ७८ करोड ९६ लाख ३२ हजार रुपैयाँ राजश्व संकलन भएको थियो । नेपालगन्ज भन्सार कार्यालयले  आर्थिक वर्ष २०६९/७०  दुई अर्ब ८६ करोड रुपैयाँ लक्ष्य रहेकोमा तीन अर्ब ४३ करोड ९६ लाख ६९ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।
कार्यालयले आर्थिक वर्ष २०६९/७० मा पनि लक्ष्य भन्दा ५७ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको थियो ।  तर यसपटक भने लक्ष्य अनुसारको राजश्व संकलन हुन सकेन् ।

Post a Comment

 
Top