काठमाडौं, साउन ९ – वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण धेरैको बास खुला चउरमा भयो । घरभित्र बस्दा भत्किएर ज्यान जाने भन्दै उनीहरु खुला चउरमा बसेका हुन् ।
यसैमध्येकी एक हुनुहुन्छ। बानेश्वरमा बस्दै आएकी ५० वर्षकी कालिका शिवाकोटी । भूकम्पपछि पराकम्पन आउन नछाडेपछि ११ वर्षका छोरासँग छिमेकीको साथमा उहाँ पनि चउरमा बस्नुभयो । वैशाख १२ गते केही पनि नखाएकाले छिमेकीसँग छोरा छाडेर उहाँ खाना पकाउन जानुभयो । तर खाना लिएर आउँदा छोरा भेटिएनन्, हराए । त्यसपछि खोजतलास सुरु भयो ।
त्यही छोरा बाहेक आफ्नो भन्ने कोही नभएकाले पनि उहाँ निकै आत्तिनुभयो । के गर्ने ? कसो गर्ने ? उहाँ भन्नुहुन्छ –‘१२ गते खाना खान दिँदै थिए, भुईंचालो आइहाल्यो, त्यो दिन केही खाएको पनि थिएन, पराकम्पन आएको आयै भएपछि बाहिर चउरमै बस्यौँ । भोलिपल्ट दिउँसो एक बजेपछि छिमेकीसँगै छोरा छोडेर खाना पकाउन गएँ । फर्केर आउँदा त हिँडिसकेछ । मलाई त आतेस लाग्यो ।’ शिवाकोटी थप्नुहुन्छ –‘अब त भेट्दिन होला जस्तो लाग्यो । मलाई त के गरौं, कसो गरौं भयो । त्यसपछि बालबालिका खोजतलास समन्वय केन्द्रमा गएर निवेदन दिएँ ।
छोराले लगाएको लुगा, उसको कपाल कस्तो छ भनेर सबै भने । एउटा फोटो पनि दिए । त्यहि फोटो पुलिस अनि अरु मान्छेले फेसबुकमा हालेछन् । भोलिपल्ट तीन बजेतिर फोन आयो । एकजना चिनेको बहिनीले तपाईंको छोरो हराएको हो भनेर फोन गर्नुभयो । अनि दिदी तपाईंको छोरोको फोटो विक्रम पाण्डे भन्ने मान्छेले फेसबुकमा हालेको छ । भेटियो रे । नारायणथान प्रहरी चौकीमा छ रे ।’
खुसीले उहाँका आखाँ रसाए । ५० वर्षकी शिवाकोटी भन्नुहुन्छ ‘त्यो दिन त गाडी नै चलेको थिएन, भोलिपल्ट नारायणथान प्रहरी चौकीमा गएँ अनि हराएको चारदिनमा छोरो लिएर आएँ ।’ भूकम्पपछिको असहज परिस्थितिका कारण बालबालिका यसैगरी हराउने गरेका छन् । केन्द्रीय बाल कल्याण समितिका अनुसार भूकम्पपछि सिन्धुपाल्चोकका १२, गोरखाका ८ र काभ्रेको १ जना गरी २१ जना बालबालिका हराएका छन् ।
बालबालिका खोजतलास समन्वयन केन्द्रमा भूकम्पपछि ३० बालबालिका हराएको उजुरी परेको छ । काठमाडौंबाट मात्र हराएका ३० मध्ये ८ जना बालिका छन् भने २२ जना बालक । तीमध्ये ११ बालक र २ बालिका फेला परेका छन् । बाँकी ११ बालक र ६ बालिकाको खोजी भैरहेको प्रहरीले जनाएको छ । प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयका निर्देशक प्रहरी नायव महानिरीक्षक मिङ्मार लामा भूकम्पपछि बालबालिका हराउने भन्दा पनि ओसारपसार गर्ने प्रवृत्ति बढेको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ  ‘भूकम्पपछि बालबालिका हराउनेभन्दा पनि ओसारपसार बढेको छ । त्यसैले महिला र बालबालिका ओसारपसार नियन्त्रण गर्न स्थलगत अभियान गर्दैछौं । यो अभियानमा हामी भूकम्प बढी प्रभावित जिल्लामा गएर कस्ता व्यक्तिले बालबालिका ओसारपसार गर्छन् अनि केके भनेर लान खोज्छन् भन्नेबारे जानकारी दिन्छौं ।’
भूकम्पका कारण १४ जिल्ला बढी प्रभावित भएको छ । त्यहाँका बालबालिका ओसारपसारको उच्च जोखिममा रहेको भन्दै सरकारले तीन महिनासम्म कतै लैजान नपाउने निर्णय गरेको छ । लैजानै परे जिल्ला बाल कल्याण समितिको सिफारिस लिनुपर्छ । केन्द्रीय बाल कल्याण समितिका वरिष्ठ कार्यक्रम व्यवस्थापक कपिल अर्याल भूकम्पपछि वृद्धवृद्धाभन्दा पनि बालबालिका म लान्छु भन्नेहरु बढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ , ‘बालबालिका लान्छु भन्नेले तँछाडमछाड गर्न थाले । यसले पनि बालबालिकालाई प्रयोग गरेर फाइदा लिइरहेका रहेछन् भन्ने कुरा देखियो ।’
भूकम्प जस्ता प्राकृतिक विपत्तिपछि बालबालिका उच्च जोखिममा रहने विभिन्न अध्ययनले देखाएको छ । घर परिवार गुमाएपछि संरक्षणको अभावमा पनि उनीहरु जोखिममा पर्ने गरेका छन् । भूकम्प प्रभावित १४ जिल्लाका १३ हजार ५ सय ३० गाउँ, पहिरोको उच्च जोखिममा रहेको भन्दै सरकारले त्यहाँका बासिन्दालाई स्थानान्तरण गर्न निर्देशन दिएको छ । यो अवस्थामा बालबालिकाको पालन पोषण र अध्ययनको व्यवस्था गर्न प्रभावितलाई कठिन हुने देखिन्छ ।
यहि कठिनाईको फाइदा उठाउँदै बालबालिका ओसार पोसार भइरहेका छन् । भूकम्पपछि बालबालिका हराउने क्रम बढेपछि धेरै अभिभावक चिन्तामा परेका छन् । बालबालिका हराइहालेमा उजुरी गर्न प्रहरीले आग्रह गरेको छ । प्रहरी निरीक्षक हिमालय मर्दन बस्न्यात हराएको बच्चाले लगाएको लुगा, उसको हुलिया कस्तो भनेर १०४ मा फोन गर्दा बालबालिका खोज्न सजिलो हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –‘बालबालिका हराएमा १०४ नम्बरमा फोन गर्नुपर्छ भन्ने धेरैलाई थाहा नै छैन । यो नम्बरमा फोन गर्दा पैसा पनि लाग्दैन । जहाँ हराएपनि यो नम्बरमा खबर गरे हामी तुरुन्तै खोज्न थाल्छौँ ।’
आफ्नो सन्तानको लागि २४ सै घण्टा खटिन तयार रहेका अभिभावक आफ्ना बालबालिकाले गुणस्तरिय शिक्षा पाउने भनेपछि दलालको चंगुलमा फस्ने गरेका छन् । त्यसैले यसबारेमा सचेत हुन माइती नेपालका निर्देशक विश्वराम खड्काको सुझाव छ । उहाँले प्रहरी, स्वयमसेवक, सामाजिक कार्यकर्ता वा अरु व्यक्ति विभिन्न सहयोग गर्ने नाममा पनि दलाल सक्रिय हुन सक्ने भएकाले सचेत हुन आग्रह गर्नुभयो । कसैले केही प्रस्ताव गर्छ भने किन गर्दैछ ? के को लागि गर्दैछ ? भन्ने कुरा सोच्न र एकपल्ट अरुसँग सोध्न उहाँको सुझाव छ ।
भूकम्पपछि ओसारपसार बढेको भन्दै प्रहरी र बालबालिकाको क्षेत्रमा काम गर्नेहरु सक्रिय भएका छन् । तर मौकाको फाइदा उठाउन दलालले पनि नयाँ उपाय अपनाउन सक्छन् । त्यसैले अभिभावक आफैं सचेत हुन आवश्यक छ ।

Post a Comment

 
Top