कास्की, साउन १५ - बुधवार रातिको पहिरोमा परी कास्कीमा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । लुम्ले ६ माझथरको एउटै वडामा मात्र २४ जनाको ज्यान गएको छ । भदौरेतामागी गाविसमा पाँच र ढिकुरपोखरी गाविसमा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

लुम्लेको पहिरोमा पुरिएर बेपत्ता भएकी ७२ बर्षिय सियोधरी देवकोटाको शब शुक्रवार भेटिएपछि मृतकको संख्या बढेको हो । लुम्लेमा नै पहिरोले घर पुर्दा वेपत्ता भएका ६८ बर्षिय ईन्द्रप्रसाद देबकोटा, ६२ बर्षिय रुद्रबति देबकोटा, पाँच बर्षिय कबिता शेर्पा र पाँच महिनाकी बालिका अन्जिला शेर्पाको खोजी कार्य जारी छ । पहिरोमा परेर भदौरेतामागी गाविस ५ का पाँच बर्षिय विश्व पराजुली, सात बर्षिय समिर पराजुली, १० बर्षिय मनबहादुर सुनार र १० महिनाका वालक किस्मत सुनार अझै बेपत्ता छन् । उनीहरुको खोजी गर्न शुक्रवार बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन् ।
लुम्लेमा तीन वटा सुरक्षा निकायका एक सय भन्दा बढी सुरक्षाकर्मी र पाँच वटा डोजर एक्साभेटर खटिएको र भदौरेमा पनि एउटा एक्साभेटरसहित ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिनुभयो । पहिरोबाट निकालिएका सबै शब आफन्तलाई बुझाईएको प्रहरीले जनाएको छ ।]

Post a Comment

 
Top