भक्तपुर, साउन १५ - नेपाली कांग्रेस भक्तपुरमा क्रियासिल सदस्यको विषयलाई लिएर विवाद भएको छ । विवाद कै कारण नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिको भवन शिलन्यासमा प्रमुख अतिथिका रुपमा आएका भौतिक योजना तथा यातायात मन्त्री बिमलेन्द्र निधि कार्यक्रमस्थल नजिकैबाट फर्किनु भएको छ । 
नेपाली कांग्रेस जिल्ला श्रोतका अनुसार कांग्रेस भित्र विवाद भएको र कार्यक्रममा पुराना नेता तथा कार्यकर्तालाई समेत नबोलाएको थाहा पाएपछि विवादमा नपर्नका लागि मन्त्री निधि कार्यक्रमस्थल नजिकै पुगेर फर्किनु भएको हो । 
‘कार्यालय शिलन्यासका लागि आएका मन्त्री निधि कार्यक्रम स्थलको ५० मिटर नजिक पुगेपछि हिलो छ, बैठक पनि सुरु हुन लाग्यो, म बस्न भ्याउँदिन भन्दै गाडीबाटै नओर्ली फर्कनु भयो ।’ कांग्रेसका एक जिल्ला नेताले नाम उल्लेख नगर्ने सर्तमा भने ‘यहाँको विवादकाबारेमा थाहा पाएपछि फर्किएको भन्ने सुन्यौ ।’
मन्त्री निधि फर्किएपछि कार्यालय भवनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले शिलन्यास गर्नुभयो । कार्यक्रममा कांग्रेस भित्रको विवाद, गुटउपगुटको चर्चा गर्दै उहाँले फेरि पनि महाधिवेशन सार्ने षडयन्त्र भएको भन्दै खबरदारी गर्नुभयो । 
महतले भन्नुभयो ‘संविधान जारी गर्ने तयारीमा सबै लागेका छन्, यो बेलामा कांग्रेसको गाउँ, नगर र क्षेत्रको निर्वाचन केहीदिन यता उती सर्ला तर खबरदार केन्द्रीय महाधिवेशन अब कुनै बाहनामा सार्न पाईन्न ।’
महाधिवेशनमा व्यक्तिगत पहुँच, चाप्लुसी र आफन्तको नातामा कसैलाई ल्याउन नहुनेमा जोड दिदै उहाँले भन्नुभयो ‘पार्टीले अब योग्यता, क्षमता र क्रियाशिलको आधारमा नेतृत्व चयन हुनुपर्छ, कसैको दबाब र चाप्लुसीको भरमा होईन ।’
नेता महतले संविधानको मस्यौदामा धेरै कमिकमजोरी रहेको धेरै सभासदलाई चित्त नबुझे पनि संविधान जारी भएर एउटा बाटो तय होस भनेर चुप लागेको बसेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति गणेशमान चक्रधरले कांग्रेस केन्द्रका केही नेताका स्वार्थका कारण भक्तपुरमा क्रियासिल सदस्यका विवाद बल्झिएको आरोप लगाउदै विधान विपरित क्रियासिल सदस्यको नाम आए अमान्य हुने बताउनुभयो । 
‘जिल्लाले सिफारिस गरेको बाहेक प्रक्रिया विपरित सिधै केन्द्रबाट जथाभावी क्रियासिल सदस्यको फाराम भराएर सदस्यता ल्याएर त्यसलाई जिल्लाले मान्दैनौं ।’ उहाँले भन्नुभयो ‘कांग्रेस क्रियासिल सदस्यको फाराम केन्द्रमा नियम संगत पठाएका छौ, विधानमा उल्लेख परिपत्र विपरित क्रियासिल सदस्य आएमा मान्दैनौ, त्यसरी सदस्यता ल्याए त्यसको परिणाम महाधिवेशनमा देखाईदिन्छौ ।’
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. १ र २ का सभापति, सभासद रामेश्वर ढुङ्गेल, नेपाली कांग्रेसका भक्तपुर पूर्व अध्यक्ष महेश श्रेष्ठ, मध्यपुर नगर सभापति अष्टकुमार कवेँ, भक्तपुर नगरपालिकाका नगर सभापति रबिन्द्र प्रधान लगायतका जिल्लाका पुराना नेता अनुपस्थित थिए । 
कार्यक्रममा अनुपस्थित केही नेताले भने जिल्ला अधिवेशनको अगाडि कार्यालय भवनको शिलन्यास गरेर प्रभाव पार्न खोजेको आरोप लगाउँदै कार्यक्रमलाई आफूहरुलाई खबर नै नगरेकाले नआएको जानकारी दिए । 
नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले अनन्तलिङ्गेश्वर नगरपालिका १२ दधिकोट हनुमन्ते खोला किनारामा निर्माण हुन लागेको समितिको कार्यालय भवन ३ आना २ पैसा क्षेत्रफलमा आगामी एकवर्ष भित्र ८० लाखको लागतमा निर्माण हुने भएको छ । कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्ने थिमिका रामकाजी चक्रधर, जुन श्रेष्ठ र राजेश त्वायनावासुलाई कार्यक्रममा सम्मान गरिएको छ । 
कार्यक्रममा भवन निर्माणका लागि कांग्रेसका भक्तपुरका पूर्व सचिव विष्णुराज कार्कीले पूर्व कांग्रेस नेत एवं आफ्ना हजुरआमा थिरकुमारी कार्की र बाबु श्यामबहादुर कार्कीको स्मृतिमा १ लाख १ हजार रुपैयाँ, ओम श्रेष्ठले २५ हजार रुपैयाँसहित१ लाख ५० हजार रुपैयाँ संकलन भएको छ ।

Post a Comment

 
Top