काठमाडौं, साउन ७ – नेपाल राष्ट्र बैंकले मुद्रास्फीतिलाई नियन्त्रण गर्ने, शोधनान्तर बचच हासिल गर्ने तथा वित्तिय स्थायित्व कायम गर्ने लक्ष्य सहितको मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार भूकम्प पछिको पुनर्निर्माण अभियानलाई सहयोग गर्ने लक्ष्य सहतिको चालु आर्थिक वर्ष २०७२/०७३ को मौद्रिक नीति ल्याएको हो ।
मौद्रिक नीतिले चालु आर्थिक वर्षमा मुल्य वृद्धिदर ८ दशमलव ५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिएको छ । यस्तै कम्तिमा ८ महिनाको बस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने तथा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी मौद्रिक व्यवस्थापन गर्ने उल्लेख छ । वित्तिय क्षेत्रको प्रभावकारी नियमन तथा सुपरिवेक्षण, स्वनियमन, बजार अनुगमन, तथा वित्तिय चेतनामार्फत समग्र वित्तिय स्थायित्व कायम गर्ने नीतिमा उल्लेख छ ।
पूर्वाधार विकासको क्षेत्रमा काम गर्न राष्ट्रिय स्तरको पूर्वाधार बैंक स्थापनाका लागि अनुमति दिने सम्बन्धमा विशेष नीतिगत व्यवस्था गरिने भएको छ । यस्तो बैंक स्वदेशी र विदेशीसँगको संयुक्त लगानीमा स्थापना गर्न सकिने र यसको न्युनतम चुक्ता पूँजी २० अर्ब हुनुपर्ने व्यवस्था गरिने भएको छ ।
यस्तै तुलनात्मक रुपमा गरिबी बढी रहेका तराईका जिल्लाका दक्षिणी सीमावर्ती एक सय १४ वटा गाविस, ४ नगरपालीका, उच्च गरिबी रहेको भनेर तोकिएका १० जिल्ला तथा काठमाडौं बाहेकका भूकम्प अति प्रभावित जिल्लाहरुमा शाखा विस्तार गर्नका लागि बैंक तथा वित्तिय संस्थाले राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने भएको छ ।

Post a Comment

 
Top