खोटाङ, साउन १५– खोटाङका एक मुटु रोगीलाई विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग उपलब्ध भएको छ । विजयखर्क–४ का मुटु रोगी ध्यानबहादुर राई सिरानघरेको उपचारका लागि चार लाख १५ हजार ३३५ रुपैयाँ रकम प्राप्त भएको हो । 

खोटाङ सेवा समाज काठमाडौंको समन्वयमा विभिन्न देशमा संकलन गरिएको रकम पीडित राईलाई हस्तान्तरण गरिएको समाजका सचिव बाजिन्द्र बिष्टले जानकारी दिनुभयो । संकलित रकम खोटाङका प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले पीडितलाई हस्तान्तरण गर्नुभएको छ । 
समाजका अध्यक्ष राकेश राईका अनुसार हङकङमा रहनुभएका विजयखर्कका सहरमान राईले व्यक्तिगत रुपमा एक लाख, युकेमा रहनुभएका इश्वर राईको संयोजकत्वमा संकलन गरिएको एक लाख ३७ हजार ३७५, दक्षिण कोरियामा रहनुभएका पहरमान राईको संयोजकत्वमा संकलन गरिएको एक लाख २९ हजार ६००, किरात राई खाम्बातिम युकेबाट ३८ हजार १६० र ईजरायलमा रहनुभएका जगत राईको संयोजकत्वमा संकलन गरिएको दश हजार २०० रुपैयाँ रकम हस्तान्तरण गरिएको हो । राईको सहिद गंगाल हृदय केन्द्र बाँसबारीमा उपचार भइरहेको आफन्तले बताएका छन् । वर्ष दिनदेखि उपचाररत राईको आर्थिक अभावका कारण उपचारमा समस्या आएको थियो ।

Post a Comment

 
Top