काठमाडौं, साउन १६ - संविधानको प्रारम्भिक मस्यौदामा नागरिकबाट प्राप्त सुझावलाई मस्यौदामा समावेश गर्न गठित विशेष समितिले आज शीर्ष राजनीतिक तहमा छलफल गरेर टुङ्ग्याउने भएको छ ।
संवैधानिक–राजनीतिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराई संयोजक रहनुभएको विशेष समितिको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको थियो ।
विशेष समितिअन्तर्गतको कार्यदलले पेस गरेको प्रतिवेदनका सुझावलाई वर्गीकरण गरी उच्च तहबाटै टुङ्गो लगाउनुपर्ने भएकाले विशेष समिति र संवैधानिक–राजनीतिक संवाद समितिको पूर्ण बैठकले ती विषय निरुपण गर्ने जानकारी संयोजक भट्टराईले दिनुभयो ।
उहाँले विशेष समितिलाई चारदिनको समय दिइएकाले विवादित विषयमा समझदारी गर्ने प्रयास अन्तिम समयसम्म पनि गरिने बताउनुभयो ।
नागरिकबाट प्राप्त थुप्रै सुझावलाई वर्गीकरण गरेर मस्यौदाका विभिन्न खण्डमा समावेश गर्न बनेको कार्यदलले विशेष समितिसमक्ष सुझावसहितको प्रतिवेदन पेस गरेको थियो । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलको संयोजकत्वमा उक्त कार्यदल गठन भएको थियो ।
कार्यदलले पेस गरेको प्रतिवेदनमा पुनः छलफल गर्न आज बिहान विशेष समिति बैठक बस्ने र समितिको सुझावलाई अन्तिम रुप दिन सम्वाद समितिको पूर्ण बैठक पनि आज दिउँसो बस्ने छ ।

Post a Comment

 
Top