काठमाडौं , साउन १२ - ललितपुरको नख्खुमा मोटरसाइकललाई ठक्कर दिने बसका चालकलाई ट्राफिक प्रहरीले पक्रेको छ । गएको शुक्रवार बा ५१ प ७८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिने ना ५ ख ३७४४ नम्बरको बसका चालक सर्लाहीको ईश्वरपुरका दिपनारायण दनुवारलाई ट्राफिक प्रहरीले काठमाडौंको महाराजगञ्ज चप्पल कारखानाबाट पक्राउ गरेको हो ।  
उनले तीन दिनसम्म प्रहरीलाई झुक्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ललितपुरका प्रमुख हाछेथुले जानकारी दिनुभयो । ‘सुरुमा बालुवाटार बाेलायो, त्यहाँ पुगेपछि पानीपोखरी छु भन्यो । तर ऊ त सर्लाही पो पुगेछ ।’
हाछेथुले भन्नुभयो ‘त्यसपछि मसँग लाइसेन्स छैन म आउँदिन भन्यो तर चालक नआई गाडी छोड्दिन भनेपछि बल्ल समितिको सहयोगमा उसलाई समात्यौं ।’ शुक्रवार भएको दुर्घटनामा काठमाडौं कुलेश्वर बस्ने रौतहटका आकाश सिंह र अदमान सिंह घाइते भएका थिए । आकाशको दाहिने खुट्टा छिनेको छ । 

दुर्घटना गराउने चालकलाई पनि कारवाही गर्ने

ट्राफिक प्रहरीले अव दुर्घटना गराउने चालकलाई पनि कारवाही गर्ने भएको छ । अहिलेसम्म दुर्घटना भएपछि यातायात समिति र पीडित पक्षविचको सहमतिमा मुद्दा मिलाउने गरिएपनि अव भने चालकलाई कारवाही गरिने ललितपुरका ट्राफिक प्रहरी प्रमुख हाछेथुले बताउनुभयो ।

Post a Comment

 
Top