काठमाडौं, साउन ९ - नेपाल सरकारबाट प्रस्तावित रक्त सञ्चार ऐनले नेपाल रेडक्रसले रक्त सञ्चार क्षेत्रमा पर्‍याउदै आएको अतुलनीय कार्यको पहिचान र सम्मान गर्नुपर्ने निश्कर्ष निकाल्दै  नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार सेवाको दुइ दिने वार्षिक समीक्षा बैठक ११ बुँदे घोषणापत्र जारी गरेको छ । 
समीक्षा बैठकले रक्तदातालाई धन्यवाद  नारासहित आगामी एक वर्षमा नेपालमा रक्तसञ्चार सेवा स्थापनाको ५० औं वर्ष विविध गतिविधिका साथ मनाउने समेत घोषणा गरेको छ । ‘ती गतिविधिहरु रक्तदाता उत्प्रेरणा, अभिमुखिकरण, रक्तसञ्चार सेवाको सम्मानमा केन्द्रीत रहनेछन् ।’ नेरेसोका कार्यकारी निर्देशक इन्द्रबहादुर केसीले बताउनुभयो । 
रक्त सञ्चार गतिविधिमा संलग्न २२ जिल्लाका व्यवस्थापक तथा प्राविधिकहरु र केन्द्रीय रक्तसञ्चार केन्द्रको संलग्नतामा सम्पन्न सो वैठकले जारी गरेको घोषणापत्रमा रक्त सञ्चार सेवामा नियमित रक्तदाताहरु बढाउने, सेवाको गुणस्तर अभिबृद्धि गर्दै जाने, जिल्लाहरुमा स्थापित रक्तसञ्चार सेवाको भौतिक तथा मानव स्रोतको पूर्वाधार अभिबृद्धि गरिने र नेपाल सरकारसँगको सहकार्य वढाइने उल्लेख गरिएको छ । 
वैशाख १२ गतेको भूकम्पको कारण केन्द्रीय रक्तसञ्चार भवन लगायत देशभरी क्षतीभएका सेवा यूनिटहरुको पुननिर्माणलाई प्राथमिकता दिने पनि घोषणापत्रमा उल्लेख छ । स्मरणीय छ, भूकम्प पश्चात केन्द्रीय रक्त सञ्चार सेवाका दुवै भवनहरु बस्न योग्य नभएकोले रक्त सञ्चारका सम्पूर्ण कार्य नेपाल पुलिक क्लवमा टेण्ट राखि सञ्चालन गर्दै आइरहेको थियो  ।  
महिला रक्तदाताको संख्या वढाउन विगत एक वर्षमा गरिएको प्रयास उल्लेखनीय रहेको र आगामी दिनमा त्यसलाई निरन्तरता दिइनुपर्ने सहभागीहरुले जोड दिनुभएको छ । देशभरीमा करिव ४ हजार क्याम्पमार्फत विगत एक वर्षमा स्वयंसेवी रक्तदाताहरुको योगदानमा ३ लाख भन्दा वढी यूनिट रगत तथा रक्ततत्व वितरण गरिएको समीक्षाको क्रममा प्रस्तुतीकरण भएको थियो । 
कुल रक्तदातामध्ये महिला रक्तदाताको संख्या १३ प्रतिशतमात्र रहेको छ । रक्तसञ्चार केन्द्रकी निर्देशक मनिता राजकर्णिकारले भन्नुभयो  ‘तर, भुकम्प पश्चातको परिस्थितिमा रगतको आपूर्ति सहज वनाउन महिला तथा पुरुषहरुले स्फूर्त तरिकाले गर्नुभएको रक्तदानको कारण रगत अभावको अवस्था आएन ।’ 
वैठकको समापन कार्यक्रमको अध्यक्षता गर्नुभएका नेरेसोका उपमहामन्त्री हरि न्यौपानेले भन्नुभयो ‘नेपाल रेडक्रस सोसाइटीले १०१ स्थानमा रक्त सञ्चार सेवा सञ्चालन गर्दै आएको छ र ती सवै युनिटहरुको एकमुष्ठ प्रतिनिधित्व नेपाल रेडक्रसले गर्ने भएकाले सवै युनिटको छुट्टाछुट्टै दर्ता प्रकृया हामी गर्ने छैनौं र यसबारे नेपाल सरकारसँग कुराकानी भइरहेको छ ।’
नेपाल रेडक्रसको दर्ता प्रकृया रोकिएको भन्ने समाचारको जिज्ञासामा उहाँले थप्नुभयो ‘२०२० सालदेखि अनवरतरुपले क्रियाशिल नेपाल रेडक्रस मानवीय सेवाको लागि सदैव तल्लीन छ र सवै आवश्यक प्रकृया अनुसार चलिरहेको छ । यसको नियमित रुपले नवीकरण हुनेछ ।’
बैठककै क्रममा नेपाल रक्तसञ्चार सेवा प्राविधिक समाजले विशेष सम्मान कार्यक्रम पनि आयोजना गरेको थियो । वि.सं २०२३ मा नेपालमा रक्त सञ्चार सेवा सुरु भएको थियो र त्यस पश्चात यसको सञ्चालन नेपाल रेडक्रस सोसाइटीले गर्दै आएको छ ।

Post a Comment

 
Top