झापा, साउन १४ – भुटानी शरणार्थीलाई विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले दिँदै आएको सहायता सामग्री पौष्टिक पिठो र चिनी अब केही महिनाको लागि नदिने भएको छ । अन्तर्राष्ट्रिय समुदायबाट आफुलाई प्राप्त हुने आर्थिक सहयोग घटेको कारण देखाउँदै डब्ल्यूएफपीले पौष्टिक पिठो र चिनी तत्कालका लागि बन्द गर्नु परेको जनाएको शरणार्थीका प्रतिनिधिले बताएका छन् ।
दुईदिन अघि डब्ल्यु एफ पीको दमक स्थित कार्यालयका अधिकारीले ती सामग्री बितरण कहिले सम्मका लागि बन्द गरिएको हो भन्ने नखुलाएको बैठकका एक सहभागी शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरका सचिब चम्पसिंह राईले उज्यालो अनलाईनलाई बताउनुभयो ।
डब्ल्युएफपीले अगस्ट महिनादेखि पौष्टिक पिठो र सेप्टेम्बरदेखि चिनी बितरण स्थगित गरिने तर कम तौलका र कुपोषणको समस्या भएका बालबालिकालाई भने पिठो नियमित बितरण गरिने जनाएको छ । 
भुटानी शरणार्थीले २२ बर्षदेखि दैनिक ३५ ग्राम पौष्टिक पिठो र दशग्राम चिनी पाउँदै आएका छन् । खाद्य सामग्री चामल, दाल, नुन, तेल र चना साथै हरेक दुईसाताको तालिकामा शरणार्थीका परिवारलाई पिठो र चिनी पनि शिविरस्थित खाद्य गोदामबाट बितरण गरिँदै आएको छ । हाल झापा र मोरङका शिविरमा २०हजार भुटानी शरणार्थी रहेका छन् ।

Post a Comment

 
Top