बाँके, साउन ११ – स्थानीय निकाय वित्तिय आयोगको न्युनतम शर्त तथा कार्यसम्पादन मापन मुल्यांकनमा बाँकेका आठ गाविस असफल भएका छन् ।  ३४ मध्ये अरु २६ गाविस सफल भएका छन् ।
आयोगका अनुसार सोनपुर, लक्ष्मणपुर, कटकुईया, कम्दी, कालाफाँटा, गनापुर, बेलहरी र शम्शेरगन्ज गरी ८  गाविस एमसिपिएममा असफल भएका छन् । गाविस सचिव हकहित संरक्षण केन्द्रको निर्देशन भन्दै कतिपय गाविस कार्यालयले एमसिपिएम नगराएको जिल्ला विकास समिति बाँकेका जिल्ला शासनविज्ञ मिनबहादुर मल्लले बताउनुभयो ।
एमसिपिएममै नगराएका कारण धेरै गाविस असफल हुँदा जिल्ला विकास समिति बाँकेको समग्र नतिजा समेत कमजोर देखिएको छ । आयोगले दिएको जानकारी अनुसार बाँकेका १० वटा गाविसको मुल्यांकन नै भएको छैन । ति गाविसहरु नगरपालिकामा गाभिएका कारण गाविसको रुपमा  न्यूनतम शर्त मापन तथा कार्य सम्पादन मुल्यांकन गर्नु नपर्ने जिल्ला विकास समिति बाँकेले जनाएको छ ।
आयोगले सार्वजनिक गरेको सूचनामा  न्यूनतम शर्त तथा कार्यसम्पादन नगर्ने  पिप्रहवा, भवानियापुर, परस्पुर, जैसपुर, उदयपुर, वसुदेवपुर, मनिकापुर, पुरैना, खासकारकादो र ईन्द्रपुर गाविस पनि असफल हुने उल्लेख छ । यी सबै गाविस नेपालगन्ज उपमहानगरपालिकाभित्र गाभिइसकेका छन् ।  एमसिपिएममा असफल भएका गाविसले न्यूनतम रकम मात्रै पाउँछन् ।
उनीहरुले पाउने अनुदान रकम कटौतीमा पर्ने जिल्ला विकास समिति बाँकेले जनाएको छ ।  गाविसले एमसिपिएम नगराउँदा असफल भएपछि  अनुदान रकम कटौती हुने भएकाले त्यसको प्रत्यक्ष असर गाविसका बासिन्दालाई पर्ने गरेको छ ।

Post a Comment

 
Top