म्याग्दी, साउन १२ – म्याग्दी जिल्लाको गाउँगाउँमा लघुउद्यम तथा घरेलु उद्योगमार्फत उत्पादन गरिएको सामग्रीहरु विदेशमा पुग्ने गरेको छ । उद्यमशीलतार्फ उन्मुख भएका महिलाहरुबाट सीपसँगै आधुनिक प्रविधिको प्रयोग गरी उत्पादित सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइएको हो । 
म्याग्दीको राम्चे–१ र २ नांगीमा सञ्चालित हिमाञ्चल हातेकागज तथा हस्तकला उद्योगबाट निर्मित सामानलाई विदेशका विभिन्न देशहरुमा निर्यात गर्ने गरिएको उद्योगले जनाएको छ । उद्योगीहरुले पठाउने त्यस्ता सामग्रीहरुमा डायरी, शपिङ ब्याग, माला, नोटबुक, टप लगायत रहेका छन् । दैनिक जीवनमा उपयोगमा ल्याउन सकिने ती सामग्रीहरु अस्टे«लिया, जापान, कोरिया, अमेरिका, सिंगापुरजस्ता विदेशी मुलुकमा निर्यात भएको हिमाञ्चल हातेकागज तथा हस्तकला उद्योगका अध्यक्ष कुलमाया चोचाङ्गीले बताउनुभयो ।
उहाँका अनुसार वनजङ्गलमा खेर जाने लोक्ता तथा जडिबुटीको प्रयोगबाट निर्मित डायरी र नोटबुकहरु स्वदेश र विदेशमा निर्यात गरिएको छ । म्याग्दीसहित बागलुङ, पोखरा, काठमाडौं, चितवन र बुटवललगायतका शहरबजारमा नांगीमा उत्पादित सामानले बजार लिएको अध्यक्ष चोचाङ्गीको भनाई छ । अर्डर अनुसार विभिन्न साइज एवं आकारका डायरी, नोटबुक र झोलाहरु बनाउने गरिन्छ । 
एउटा डायरीको न्युनतम १ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म मूल्य पर्ने गरेको उहाँले जानकारी दिनुभयो । नेपालीलाई केही कम र विदेशीलाई बढीमा बिक्री गरिने सामानको खरिदमा नेपालीभन्दा विदेशीको धेरै चासो राख्ने गर्छन् । अहिले हाते कागज उद्योगमा नांगीका ९ जना महिलाहरुले मासिकरुपमा तलब लिनेगरी काम गर्दै आइरहेका छन् । गाउँको सामुदायिक वनबाट लोक्ता ल्याएर सामानहरु निर्माण गरिएको महिला उद्यमीहरु बताउँछन् । 
एसियाको नोबल पुरस्कारका रुपमा प्रसिद्ध रामोन म्यागासेसे पुरस्कारबाट सम्मानित महावीर पुनको सहयोगमा समुदायमा आधारित रहेर विद्यालयलाई आर्थिक स्रोत जुटाउने उद्देश्यले उद्योग स्थापना गरिएको हिमालयन संरक्षण संस्थाका संयोजक चित्र तिलिजाले बताउनुभयो । वि.सं. २०६१ सालमा नेपाली हाते कागजको प्रयोगबाट सामान उत्पादन शुरु गरिएपनि पछि उद्योगका रुपमा दर्ता गरी सञ्चालन गरिएको सचिव तिलिजाले बताउनुभयो । सुरुमा हिमालयन संरक्षण संस्था, जीविकोपार्जन वन कार्यक्रम (एलएफपी), समुदायको सहयोग तथा स्थानीयको श्रमदानमा उद्योग सञ्चालन गरिएको थियो । जिल्ला वन, घरेलु कार्यालयले उद्योगका लागि आवश्यक सामान, संगमले एलएफपीको कार्यक्रम अन्तर्गत कटिङ मेशिन र तालिम सहयोग गरेको जनाएका छन् । मेशिनबाट कागज उत्पादन गर्दा निर्माण लागत कम पर्नेगरेको स्थानीयले बताएका छन् । 
उद्योगबाट प्राप्त आम्दानी हिमाञ्चल उच्च माविमा समेत लगानी भएको छ । गतवर्ष उद्योगले ७ लाख रुपैयाँको कारोबार गरेकोमा आम्दानीको केही अंश विद्यालय सञ्चालनमा सहयोग गरिएको थियो । घरको चुलोचौकोमा सीमित महिलाहरु उद्योग सञ्चालन भएपश्चात् डायरी, नोटबुक, झोलाजस्ता सामान तयार गर्नतर्फ लागको राम्चे गाविसका सामाजिक परिचालक किममाया गर्बुजाले बताउनुभयो । सदरमुकामबाट टाढा दुर्गम गाविसमा सञ्चालित घरेलु तथा आधुनिक प्रविधिबाट आधुनिक तथा उपयोगीसामग्री उत्पादन हुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुगेको पर्यटन व्यवसायीले बताए । नांगीमा पुग्ने स्वदेशी तथा विदेशी जो कोही पर्यटक पनि उद्योग हेर्नका लागि समय लम्ब्याएर बस्ने गरेको राम्चेका स्थानीयको अनुभव छ ।

Post a Comment

 
Top