Ser-Bahadur-deuba
३१ असार, काठमाडौं । गिरिजाप्रसाद कोइरालाको निधनपश्चात मोरङका कांग्रेस नेता अमृत अर्यालले नेपाली कांग्रेसभित्रको गुटबन्दीलाई गंगटासँग रोचक तुलना गरेका थिए ।
सिंघिया खोलामा एक किसानले गंगटा टिप्दै तन्नामा हालिरहेको देखेपछि अर्यालले सोधेछन्, यसरी गंगटालाई खुल्ला तन्नामा राख्दा भाग्दैनन् ?
किसानले सटिक जवाफ दिएछन्- ‘भाग्दैनन् हजुर, यी गंगटाहरु नेपाली कांग्रेसजस्तै हुन्, एउटाले अर्काको खुट्टा तान्छन् जसले गर्दा कुनै पनि गंगटाहरु तन्नाभन्दा बाहिर जानै सक्दैनन् ।’
पार्टीको १३ औं महाधिवेशनको तिथि नजिकिँदै जाँदा कांग्रेसमा नयाँ नयाँ गुट (गंगटा)हरु जन्मन थालेका छन् । खासगरी महाधिवेशनमा उम्मेदवारका आकांक्षीहरुले आफूनिकट व्यक्तिहरुलाई जम्मा पार्दै गुट बनाउन र अरुको खुट्टा तान्न थालेका छन् । पुराना र सेलाएका गुटहरु पनि सक्रिय हुन थालेका छन् ।
गुट कांग्रेसमा बनाउनेहरुले विभिन्न नाममा बनाएका छन् । कसैले धर्मको नाममा बनाएका छन् भने कसैले वीपीको नाम बनाएका छन् । यसैगरी कसैले गणेशमान सिहंको नाममा गुट बनाएका छन् ।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले नेतृत्व गरेको संस्थापन पक्षको गुट र शेरबहादुर देउवाले नेतृत्व गरेको देउवा गुट चिरपरिचित गुटहरु हुन । रामचन्द्र पौडेलको गुटले देउवा र कोइरालको वीचमा ‘रसायन’को काम गर्दै आएको छ ।
सुशीलसँग को को ?
Sushil-Koiralaप्रधानमन्त्री सुशील कोइरालाको गुटमा संशाक कोइराला, दिलेन्द्र बडू, आनन्द ढुगांना, डा.रामशरण महत, नरहरी आचार्य, मिनेन्द्र रिजाल लगायतका नेताहरु सक्रिय छन् महामन्त्री कृष्ण सिटौला पनि कोइराला गुटसँग निकट छन् ।
सुशील कोइरालालाई साथ दिएका संशाक कोइरालासँग सभासद दीपक गिरी र बद्री पाण्डे निकट छन् ।
आगामी महाधिवेशनमा सुशील कोइराला आफैं सभापतिमा उठ्ने नभए कोइरालाको विरासत थाम्न वीपीपुत्र शशंाकलाई अघि सार्ने संस्थापन पक्षको योजना देखिन्छ । तर, यसमा रामचन्द्र पौडेलले विगतमा जसरी कोइराला परिवारलाई सघाउने वा नसघाउने कुराले निकै ठूलो अर्थ राख्छ ।
देउवाको स्थायी गुट

कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको गुटमा चित्रलेखा यादव, बिमलेन्द्र निधि, रमेश रिजाल, पूर्णबहादुर खडका, रमेश लेखक, भीष्मराजा आङदम्बे, मीन विश्वकर्मा, प्रकाशशरण महत, डिना उपाध्याय, रामहरी खतिवडा, धु्रव वाग्ले, जीवन शाहीलगायतका नेताहरु रहेका छन् ।
देउवा र कोइराला गुटमा सरिरहने कांग्रेस महामन्त्री प्रकाशमान सिहंले पनि छुट्टै उपगुट बनाएका छन् । उनको गुटमा कञ्चनचन्द्र बादे, मोहन राई, राजन केसी आदि छन् । सिंहले आगामी महाधिवेशनमा उपसभापति ताकेका छन् ।
पौडेलको तेस्रो शक्ति
कांग्रेसमा रामचन्द्र पौडेलको पनि आफनो छुट्टै गुट छ । उनको गुटमा कमला पन्त, नविन्द्रराज जोशी (सुर्खेत), राधेश्याम अधिकारी, महेन्द्रध्वज जिसी, अर्जुन जोशी, शारदा पौडेल, मधु आचार्य, तारिणीदत्त चटौत, बलबहादुर केसी, लगायतका छन् ।
कांग्रेसको संसदीय दलको चुनावपछि पौडेल गुट सक्रिय भएको हो । पौडेल आफै संसदीय दलको नेता हुन चाहेका थिए । तर, उनलाई पार्टी सभापतिले साथ नदिएपछि उनले उम्मेदवारी दिएनन् । दलको चुनावमा उनले कोइरालाइलाई साथ दिएका थिए ।
आगामी महाधिवेशनमा पौडेलले पार्टी सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् । यसका लागि उनले आफ्नो गुटमा अन्य गुटका नेताहरुलाई पनि सकेसम्म मिलाउने प्रयास गरिरहेका छन् ।
खुमबहादुरको महामन्त्री बन्ने दाउ
देउवा पक्षसँगै निकट मानिने खुमबहादुर खड्काले हिन्दु धर्मका नाममा अर्को गुट स्थापित गरेका छन् । कोइरालासँग निकट गोविन्दराज जोशी, केबी गुरुङ लगायतका नेताहरुले विपीको नाममा उपगुट बनाएका छन् ।
खुमबहादुर खड्का गुटमा पूर्वसभामुख तारानाथ राणाभाट, पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरे, सभासद सुवर्ण ज्वारचन, केन्द्रीय सदस्य पुष्पा भुसाल, शंकर भण्डारी, पूर्वराज्यमन्त्री देबेन्द्रराज कँडेल, सियारा यादब, चिरञ्जीवी वाग्ले, लोकेस ढकाल, चन्द्र केसीलगायतका नेताहरु सहभागी छन् ।
खुमबहादुर खड्काले महाधिवेशनमा महामन्त्री ताकेका छन् । यसका लागि उनी देउवासँग सम्झौता गर्ने पक्षमा छन् र पार्टीभित्र शक्ति आर्जन गरिरहेका छन् ।
खडका गुटले आगामी महाधिबेशनमा हिन्दु धर्मको एजेण्डा उठाउने भएको छ । यस गुटका सबै नेताहरुले महाधिबेशनमा उम्मेदवारी दिने तयारी गरेका छन् । संविधानमा सनातन हिन्दु राष्ट राख्नु पर्छ भन्दै खडका गुटले आन्दोलन नै शुरु गरेको छ ।
कांग्रेसले हिन्दु धर्मलाई एजेण्डा नबनाए कांग्रेस सिद्धिने चेतावनी दिदै यस गुटका नेताहरुले हिन्दु धर्मको एजेण्डबाट आफूलाई स्थापित गराउने प्रयास गरिरहेका छन् ।
कुनै गुटमा नलागेका डा. शेखर कोइरालासमेत धर्म निरपेक्षताको विपक्षमा उभिइसकेको अवस्था छ ।
गोविन्दराजको अर्को गुट
खुमबहादुरजस्तै अदालतले भ्रष्टाचारी सावित गरेका अर्का नेता गोविन्दराज जोशीले पनि पार्टीमा अर्कै उपगुट बनाएका छन् । जोशी रामचन्द्र पौडेलका प्रतिद्वन्द्वी मानिन्छन् ।
कांग्रेसमा वीपीको सिद्धान्त ओझेलमा पर्‍यो भन्दै पार्टीमा वीपीको सिद्धान्त कायम गर्न गोविन्दराज जोशी, केवी गुरुङ लगायतका नेताहरुले छु्ट्टै गुट बनाएका छन् ।
यो गुटमा विनयध्वज चन्द, सुनिल भण्डारी लगायतका नेताहरु रहेका छन । यस गुटका नेताहरुले वीपी विचार राष्ट्रिय समाज पनि गठन गरेका छन् ।
उक्त समाजको अध्यक्षमा केवी गुरुङ, उपाध्यक्षमा गोविन्दराज जोशी र महासचिवमा विनयध्वज चन्द छन् । वीपीको विचारलाई स्थापित गराउन भन्दै यस गुटका नेताहरुले आगामी महाधिबेशनमा उम्मेदवारी दिने सोच बनाएका छन् ।
सुजाताको बेग्लै योजना
कांग्रेसको अनुशासन समितिले कारबाही गरेपछि सुजाता कोइरालाले पनि गुटबन्दी थालेकी छिन् । सुजाताको कारबाही फुकुवा भइसकेको छ । आगामी महाधिबेशनमा विधान संशोधन गरी एक जना महिला उपसभापति अनिवार्य राख्ने र सो पदमा आफू सुरक्षित हुने सोच सुजाताले बनाएकी छन् ।
आफूले भनेजस्तो नभए पार्टी सभापतिमै उठ्ने सुजाताको दाऊ रहेको कांग्रेसवृत्तमा चर्चा छ । सुशीलमान शेरचन, रामकुमार चौधरी, लगायतका नेताहरुलाई सुजाताले आफनो गुटमा राखेकी छिन् ।
केसीको अर्को उपगुट
नेपाली कांग्रेसमा अर्जुन नरसिंह केसीले पनि छुट्टै उपगुट निर्माण गर्न थालेका छन् । केसीको उपगुटमा भाइ जगदीशनरसिंह केसी र गगन थापाको सहयोग रहेको बताइन्छ ।
यो गुट कांग्रेस उपसभापति रामचन्द्र पौडेलसित निकट रहेको छ । उक्त गुटमा रहेका नेताहरुले विगतमा पौडेललाई सहयोग गर्ने गरेका छन् ।
चुनावमा टिकट वितरण गर्न गठन गरिएको संसदीय वोर्डमा रामचन्द्र पौडेलको सिफारिशमा केसी नियुक्त भएपछि केसी पौडेलसित नजिक भएका हुन् ।
कांग्रेसको १२ औं महाधिबेशन पछि केसीले आफू महामन्त्रीमा मनोनित हुनुपर्ने माग राखेका थिए । तर, महामन्त्रीमा मनोनित हुन नसकेपछि उनी केही समय देउवातिर नजिक भए ।
देउवा गुटमा लागे पनि केसी मनोनित भएनन् । त्यसपछि उनले छुट्टै गुट बनाउन शुरु गरेका हुन् ।

Post a Comment

 
Top