युएई, असार २९ - युएईमा रहेका नेपालीलाई संविधानको मस्यौदामा राय सुझाव पठाउन यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । संविधानको मस्यौदा समतिलाई राय सुझाव पठाउन आबुधाबीमा रहेको नेपाली दूतावासले आफ्नो अधिकारिक वेबसाइट मार्फत आग्रह गरेको हो । 
'हामीले यहाँ रहेका सबै नेपालीलाई राय सुझाव पठाउन अनुरोध गरेका छौ, यदी इन्टरनेटको पहुँच नपुगेका नेपाली कामदारबाट पनि राय सुझाव संकलन गरेर नेपाल पठाउन सहयोग गरिदिन नेपाली संघसस्थाका प्रतिनिधिहरुलाई अनुरोध गर्दछौ' उज्यालोसँग कुरागर्दै युएईका लागि नेपाली राजदूत धनन्जय झाले बताउनुभयो । 
अहिले सुझाव संकलनको काम भैरहेकाले विदेशमा रहेका नेपालीले पनि सुझाव दिन सकिने व्यवस्था रहेको दूतावासका द्वितिय सचिव कृष्ण अर्यालले  बताउनुभयो । विदेशमा रहेका नेपालीले सम्बन्धित देशमा रहेको नेपाली दूतावासको इमेल ठेगाना अथवा संविधानसभाको मस्यौदा सुझाव समितिको इमेल ठेगानामा सुझाव पठाउन सक्ने दूतावासको भनाई छ । 
यहाँ रहेका संघसस्थाका प्रमुखले पनि सामाजिक सञ्जाल मार्फत राय सुझाव संकलन गरेर पठाउने भन्दै सल्लाह सुझाव संकलनका लागि सबैमा अनुरोध गरेका छन् । यहाँ कार्यरत कतिपय नेपाली कामदारले भने परदेशमा रहेका नेपालीलाई मताधिकार तथा संविधान निर्माणको प्रकृयाबाट अलग गराएको आरोप लगाएका छन् ।

Post a Comment

 
Top