३ असोज, काठमाडौं । लामो प्रतिक्षापछि नेपालको नयाँ संविधान आज घोषणा भएको छ । थुप्रै चुनौति र दवाबहरुका बीच संविधान निर्माणमा सफलता पाएपछि राजनीतिक दलहरु बधाइका पात्र बनेका छन् ।
संविधान घोषणापछि यसको श्रेय लिन दलहरुबीच होडवाजी चल्ने नै छ । हामीले राजनीतिभन्दा बाहिर रहेर राजनीतिकलाई गहिरोसित नियालिरहेका समाजका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुलाई सोध्यौं, यो संविधान निर्माणको वास्तविक हिरो को हो ? प्रस्तुत छ, उनीहरुको जवाफ जस्ताको तस्तैः
ओली निर्णायक, प्रचण्ड र देउवा सहयोगी
Hari-Adhakariहरी अधिकारी, समीक्षक
म एउटा सिंगो व्यक्तिलाई पूरा श्रेय दिन चाहन्न । तथापि संविधान निर्माणको प्रक्रियामा लगातार एउटै अडानमा बसेर टसमस नगरेका व्यक्ति केपी ओली हुन् । उनको सुरुदेखि प्रचण्डसित राम्रो सम्वन्ध थिएन ।
ओली र प्रचण्डबीच आरोप-प्रत्यारोप पनि धेरै भयो । प्रचण्ड नेतृत्वको मोर्चालाई उनलाई बौलाहासम्म भने । तर, अन्त्यमा ओलीले प्रचण्डलाई आफ्नो बाटोको सहयात्री बनाएर हिँडाएरै छाडे । उनलाई प्रधानमन्त्री हुने लोभले संविधान बनाउन हतारिएको आरोप पनि लगाउँछन् । त्यसमा अलिकति अंश सत्यता पनि होला । तर, राष्ट्रियताका सन्दर्भमा उनले राखेका अडानहरु स्वागतयोग्य छन् ।
अन्तिम घडीमा आएर प्रचण्डको भूमिकाको पनि तारिफ गर्नुपर्छ । उनले इन्डियनहरुसित नझुक्ने दृढता प्रदर्शन गरे भने पार्टीभित्रका चुनौतिहरुलाई पनि साहसिक ढंगले सामना गरे ।
त्यसपछि म श्रेय दिन्छु, शेरबहादुर देउवालाई । पछिल्ला घटना क्रमहरु हेर्दा प्रधानमन्त्री सुशील कोइराला अलिकति लड्खडाएका थिए । मैले पाएको सूचनाअनुसार देउवाले उनलाई दह्रो खुट्टा टेक्न बाध्य बनाएका हुन् । प्रधानमन्त्रीले अलि दिनलाई पछि सारांै न त भन्दा देउवाले ठाडै अस्वीकार गरेका रहेछन् ।
हिरो त सरकार नै हो
bhawani ranaभवानी राणा, व्यवसायी
मेरो दृष्टिकोणमा संविधान निर्माणको हिरो अहिलेको सरकार नै हो । सरकार प्रमुख भएको हिसाबले म प्रधानमन्त्री सुशील कोइरालालाई यसको सबैभन्दा ठूलो श्रेय दिन चाहन्छु ।
तर, एक व्यक्ति वा सरकारको मात्रै प्रयासले यो संभव हुने थिएन । त्यसैले तीन दलका शिर्ष नेताहरुको पनि यसमा अहम् भूमिका छ ।
तीन दलका नेताहरु सम्झिनुपर्दा केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा, कृष्ण सिटौला, बाबुराम भट्टराई लगायत छन् ।
खाँटी नेता ओली
deepak bistaदीपक विष्ट, खेलाडी
संविधान निर्माणको जस एकजना नेतालाई मात्रै दिन हुँदैन । मुख्य रुपमा हेर्दा केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा, सुशील कोइरालाहरुको यसमा महत्वपूर्ण भूमिका देखिन्छ ।
अँ माधव नेपाल पनि । सबैमध्ये पनि धेरै ठूलो रोल चाहिँ केपी ओलीको रह्यो । ओली मलाई खाँटी नेता जस्तो लाग्छ । देशको लागि केही गर्छु भन्ने भावना उनका अभिव्यक्तिहरुमा देखिन्छ ।
यतिबेला संविधानसभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण सभासद ज्यूहरुलाई पनि हामीले सम्भिmनुपर्छ । चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मीज्यूको योगदानलाई पनि बिर्सिनु हुँदैन जस्तो लाग्छ ।
यस्तै गरी व्यूरोक्र्याट्सहरु, नागरिक समाज, मिडिया सबैले आ-आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गरेका छन् । आजको संविधान घोषणासभा प्रत्यक्ष हेर्ने ठूलो इच्छा छ । हामीलाई निमन्त्रणा गरिएको छैन, तर पनि संविधानसभा छेउछाउ गएर त्यहाँको माहोल हेर्नेछु । अरु नेपालीसँगै हर्षोल्लास मनाउनेछु ।
वास्तविक हिरो जनता
Shiva-Gauleशिव गाउँले, पत्रकार
संविधान निर्माणको वास्तविक हिरो नेपाली जनता हुन् । जनताले साथ नदिएको भए संविधानसभामार्फत दोस्रोपटक संविधासभाको गठन नै सम्भव थिएन ।
संविधानसभाको दोस्रोपटक निर्वाचन भएर संविधान निर्माण भएको उदाहरण अन्यत्र कतै पनि छैन । पहिलो संविधानसभाले चार वर्षसम्म संविधान दिन नसक्दा पनि जनताले राजनीतिक नेतृत्वप्रतिको भरोसा कायम राखे । दवाबमूलक भूमिका पनि निर्वाह गरे ।
संविधान निर्माणको प्राविधिक पक्षको कुरा गर्नुहुन्छ भने तीन शीर्ष नेतालाई नै निणर्ायक मान्नुपर्ने हुन्छ । हुन त संविधान निर्माणका लागि ६ सय १ जनाको टोली थियो । तर उनीहरुमध्ये धेरैले चाहेर पनि संविधान निर्माणमा आफूलाई सहभागी गराउन सकेनन् । चारदलका सीमित नेताहरुभित्रै कैद भयो सबै प्रक्रिया ।
लोकतान्त्रिक फोरमका विजय गच्छदार अन्तिम समयमा प्रक्रियाबाट बाहिरिए पनि १६ बुँदेसम्म आउँदा उनको भूमिकालाई बिर्सिन मिल्दैन । अन्तिम समयको कुरा गर्दा केपी ओली र प्रचण्डको भूमिका सबैभन्दा महत्वपूर्ण देखियो । प्रक्रियाबाट पछि हट्न सक्ने सम्भावनाका बाबजुद उनीहरुले जुन अडान लिए, त्यो तारिफयोग्य छ ।
म भूकम्पलाई हिरो मान्छु
anil shahअनिल शाह, बैंकर्स
पहिलो हिरो त म नेपाली जनतालाई मान्छु । किनभने निकै कम देश होलान् जहाँ दोस्रोपटक संविधानसभा चुनाव भएर संविधान बनेको होस् । जनताको साथ र समर्थन नरहेको भए यो सम्भवै थिएन ।
वैशाख १२ गते आएको भूकम्पलाई पनि म संविधान निर्माणको हिरो मान्छु । त्यो भूकम्प नगएको भए राजनीतिक दल र नेताहरु एक ठाउँमा सायद आउने थिएनन् ।
जहाँसम्म नेताहरुको योगदानको प्रश्न छ, उहाँहरुले जे गर्नुभयो, अझै राम्रो र छिटो गर्न सक्नुहुन्थ्यो होला । यद्यपि यो भन्दा धेरै नराम्रो पनि हुनसक्थ्यो । त्यस हिसाबले उहाँहरुलाई धन्यवाद नै दिनुपर्छ । कम्तिमा उहाँहरुले आफ्ना मतभिन्नताहरुलाई पन्छाएर संविधान ल्याउनुभो ।
नेताहरुको वास्तविक भूमिका त अब जरुरी छ । अहिलेसम्म खेलको लागि मैदान तयार भएको हो, नियमहरु बनेका हुन् । अब बल्ल खेल सुरु हुनेछ । यो खेल भनेको राष्ट्रनिर्माणको खेल हो । नेताहरुले यसलाई पनि सत्ताको खेलमा बदले भने चाहिँ देश र जनताको दुर्भाग्य हुनेछ ।
मुख्य जिम्मेवार सरकार हो
upendra kesariउपेन्द्रकेशरी न्यौपाने, कानूनविद
सरकारलाई म मुख्य जिम्मेवार मान्छु । सरकार नै देशको सबैभन्दा ठूलो संस्था हो र संविधान निर्माणको नेतृत्व सरकारले नै गरेको हो । सरकारको पहलबिना राज्यका कुनै पनि अंगले काम गर्दैनन् ।
त्यसैले पनि अरु पार्टी र नेतालाई भन्दा सरकारलाई नै संविधानको जस दिन चाहन्छु । यद्यपि पछिल्लो समय पार्टीहरुको भूमिका पनि सकारात्मक रह्यो ।
ओलीको लाइन सफल
manoj gajurelमनोज गजुरेल, हास्य कलाकार
मेरो विचारमा केपी ओलीजीको स्पष्टवादी अडान र माओवादीप्रति आक्रामक स्वभावले राजनीतिलाई यहाँसम्म ल्याइदिएको हो । यद्यपि म ओलीलाई मात्रै संविधान निर्माणको जस दिन चाहन्न । एमाओवादी अध्यक्ष प्रचण्डको पछिल्लो भूमिका पनि सकारात्मक रहेको छ ।
उहाँले समयको मागअनुसार आफ्नो पार्टीका एजेण्डाहरुलाई विस्तारै-विस्तारै त्यागेर सम्झौता गर्न तयार हुनुभयो । यसलाई उहाँको वाध्यता वा दुरदर्शिता जे भने पनि हुन्छ । उहाँले बोल्ड डिसिजन नलिएको भए संविधानमा ढिलाइ हुन सक्ने अवस्था थियो ।
प्रधानमन्त्री भएको हिसाबले सुशील कोइरालाको भूमिकालाई पनि उपेक्षा गर्न मिल्दैन । सबैभन्दा महत्वपूर्ण कुरा नेपाली जनताको खबरदारी हो । पछिल्लो समय मधेसवादी शक्तिको आन्दोलनले गर्दा पनि संविधान निर्माणमा सकारात्मक प्रभाव परेको म देख्छु । उनीहरुलाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा विदेशी शक्तिहरुले उचालेपछि हाम्रा नेताहरुलाई संविधान जारी गर्नैपर्ने दवाब पर्‍यो ।
- See more at: http://www.onlinekhabar.com/

Post a Comment

 
Top