काठमाडौं, असोज ४ – ट्राफिक प्रहरी देखेपछि मात्र नियम पालना गर्ने, नत्र जथाभावी सवारी चलाउने प्रवृत्तिले आइतबार फेरि अर्को दुर्घटना निम्त्याएको छ ।

संविधान जारी भएको खुशीयालीमा देशभर हर्षोल्लास भैरहँदा ललितपुर इमाडोलको एक परिवार शोकमा डुबेको छ । दुईजना साथीलाई मोटरसाइकलमा राखेर हुईंकिएका आशिष रावतको दुर्घटनामा ज्यान गएपछि परिवार शोकमा डुबेको हो ।
आइतबार राति पौने ११ बजे बा ६९ प ५१४१ नम्बरको मोटरसाइकलमा दुईजना साथी राखेर हुईंकिंदै गर्दा आशिष दुर्घटनामा परेका हुन् । उनीहरु बिरामी साथीलाई भेट्न सुमेरु अस्पताल जाँदै थिए । तीव्र गतिमा रहेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
‘ट्राफिक नियम पालना नगरेको कारण दुर्घटना भएको देखिन्छ’ ललितपुरका ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुले भन्नुभयो, ‘सडकमा ट्राफिक छैन भनेर जथाभावी चलाउँदा यो हालत भएको हो ।’
मोटरसाइकलमा तीनजना चढेको देखेपछि प्रहरीले रोक्न खोज्दा पनि आशिषले मोटरसाइकल नरोकेको र झन् तीव्र गतिमा चलाएको प्रहरी अनुसन्धानमा देखिएको छ । दुर्घटनामा मोटरसाइकल पछिल्तिर बसेका विष्णु केसी र नेत्र थापा घाइते भएका छन् ।

Post a Comment

 
Top