Rambaran-Yadav
३ असोज, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले नेपाल बहुभाषिक एवं भौगोलिक विविधतायुक्त देश भएको बताउँदै हिमाल पहाड र तराई मधेसका जनताको एकता एवं मेलमिलापमा जोड दिएका छन् ।
आइतबार नेपालको संविधान- २०७२ जारी गरेपछि मन्यव्य दिँदै राष्ट्रपति यादवले भने- ‘योसँगै गणतन्त्र संस्थागत भएको छ । नेपाली जनतामा निहीत सार्वभौमसत्ता र राज्यशक्तिको स्रोत जनता हुन् भन्ने मान्यता पनि स्थापित भएको छ ।’
राष्ट्रपति यादवले आफ्नो लिखित मन्तव्यमा भने- ‘संविधान घोषणासँगै देश दिगो शान्त र स्थायित्व र न्यायपूर्ण सामाजिक आर्थिक विकासको बाटोमा तिब्रताका साथ अघि बढ्ने हाम्रो विश्वास छ ।’
राष्ट्रपतिले संविधान गतिशील दस्तावेज भएको बताउँदै संघीयता लगायतका विषयहरु फराकिलो हुँदै जाने विश्वास व्यक्त गरे । ‘संघीयता र गणतन्त्रसहितको हाम्रो बहुदलीय संसदीय शासन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व र सहभागिताका आधार संविधान कार्यान्वयनका क्रममा अझ फराकिलो र विकसित हुँदै जानेछन्’ राष्ट्रपतिले भने- ‘नयाँ संविधानले सबै क्षेत्र र समुदायको जनताको आकांक्षा, पहिचानलाई समान ढंगले संरक्षण र प्रदर्शन गर्नेछ । विविधिताका बीचमा एकतामा जोड दिँदै सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्ने मौका यो संविधानले प्रदान गर्नेछ ।’
राष्ट्रपतिले आफ्नो सम्बोधनमा भने- ‘संविधान गतिशील दस्तावेज हो । यसको सफल प्रयोग गर्दै सम्बृद्धि हासिल गर्न आग्रह गर्छु । जनताका प्रतिनिधिद्वारा संविधानसभाबाट पारित यो संविधान भौगोलिक अखण्डता र स्वाधीनता र जनतामा निहीत सर्वभौमसत्ताको संरक्षण गर्ने साझा दस्तावेज हो ।’
त्यसैगरी पारस्परिक एकताका साथ संविधानमा भएका जनताका अधिकार, उपलब्धि र संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनालाई संरक्षण, सम्वर्धन गर्न राष्ट्रपतिले आह्वान गरेका छन् ।
राष्ट्रपतिले संविधान निर्माणमा भूमिका खेल्ने सबैलाई धन्यवाद एवं बधाइ दिएका छन् । ‘संविधानसभाका सदस्यहरुलाई अध्यक्षमार्फत धन्यवाद दिन्छु’ राष्ट्रपतिले भने-‘यो संविधान र परिवर्तित सभाले देशको एकताको कडी मजबुत गर्दै जानेछ । राष्ट्रको जय होस्, सबै नेपालीको जय होस् । धन्यवाद ।’

Post a Comment

 
Top