काठमाडौं, भदौ २० - परिचय नखुलेको रोगका कारण पूर्वी नेपालका चार जिल्लामा एकहप्ता भित्र ७ जनाको ज्यान गएको छ । संखुवासभा, भोजपूर, सिराहा र धनकुटामा उपचार गराइरहेका ९ जना विरामीमध्ये ७ जनाको ज्यान गएको हो । विरामी २ जनाको अवस्था पनि गम्भीर रहेको छ । 
संखुवासभाका ५, भोजपूरका २, सिराहा र धनकुटाका एक एक जना विरामी परेका थिए । उनीहरु मध्ये ७ जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । 
स्थानीय तहमा गरिएको प्रारम्भिक परीक्षणबाट रोग पत्ता लाग्न नसकेपछि चारवटा नमुना आइतबार थाइल्याण्डको राजधानी बैंकक पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 
उनीहरुलाई हान्टा भाइरस लागेको अनुमान गरिएपनि नेपालमा परीक्षण संभव नभएपछि नमुना बैकक पठाइएको महाशाखाका निर्देशक डा बावुराम मरासिनीले बताउनुभयो । नमुना परीक्षणको रिपोर्ट आउन २–४ दिन लाग्ने भन्दै उहाँले रिपोर्ट आएपछि मात्र रोगबारे पत्ता लाग्ने बताउनुभयो । 
विरामीमा सुरुमा उच्च ज्वरो आउने, हातखुट्टा र जीउ दुख्ने, अल्छी लाग्ने लक्षण देखा परेको मरासिनीले जानकारी दिनुभयो । यो भाइरसको प्रत्यक्ष उपचार र औषधि छैन । तर भाइरसका कारण देखिने समस्याको उपचार (सपोर्टिभ ट्रिटमेन्ट) गरेमा यो भाइरस लागेका मानिसलाई बचाउन सकिन्छ । 
मुसाले टोकेमा, मुसाले टोकेका र जुठो पारेर छाडेको खाना खाएमा र मुसाको दिसापिसाबबाट समेत हान्टा भाइरस मानव शरिरमा सर्ने चिकित्सकले बताएका छन् । प्रभावित क्षेत्रमा मुसाको टोकाइ र दिसापिसाबबाट टाढा रहन चिकित्सकले आग्रह गरेका छन् ।
यो भाइरस सन् १९७० को दशकमा पहिलो पल्ट दक्षिण कोरियामा देखा परेको थियो । दक्षिण कोरियाको हान्टा नदीको किनारामा बस्ने मानिसलाई यो रोग लागेका कारण भाइरसको नाम नै हान्टा राखिएको हो ।

Post a Comment

 
Top