काठमाडौं, साउन २ – ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा नेपालले शनिबार जर्सीसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा जर्सीसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र जर्सीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेपछि आयरल्याण्डको डबलिनमा हुनेछ । शुक्रबार भएको खेलमा पपुवा न्युगिनीसँग ८ विकेटले पराजित भएपछि सन् २०१६ मा भारतमा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकप खेल्ने सम्भावना लगभग सकिएको नेपाल शनिबार जर्सी विरुद्धको खेलमा आफ्नो प्रदर्शन सुधार गर्ने लक्ष्यका साथ मैदान उत्रने छ । समुह चरणको एक मात्र खेल बाँकी रहँदा नेपाल पाँच खेलबाट ३ अंक सहित समुह एको पाँचौं स्थानमा छ ।

नेपालको सम्भावना

नेपालको विश्वकप खेल्न पाउने अब गणितीय सम्भावना मात्रै छ । नेपालले जर्सी विरुद्ध राम्रो रनरेटको जित निकालेको तथा नामिबिया र हङकङमध्ये एकले आफ्ना बाँकी दुई खेल गुमाएको अवस्थामा मात्रै नेपालको चौंथो स्थान  भित्र रहँदै विश्वकपका लागि प्लेअफ खेल्न पाउने सम्भावना बन्ने छ । तेस्रो स्थानमा रहेको नामिबियाको चार खेलबाट पाँच तथा चौंथो स्थानमा रहेको हङकङको पनि समान चार खेलबाट पाँच अंक नै छ । नामिबियाले अब पपुवा न्युगिनी र हङकङ तथा हङकङले अमेरिका र नामिबियासँग खेल्न बाँकी छ ।
यस्तो अवस्थामा नामिबिया पपुवा न्युगिनी र हङकङ दुवैसँग पराजित भएमा वा हङकङ अमेरिका र नामिबिया दुवैसँग पराजित भएमा मात्रै नेपालका चौंथो स्थानमा पर्ने सम्भावना रहन्छ ।

खेल टेलिभिजनमा हेर्न पाइने

नेपाल र जर्सीबीच शनिबार हुने खेल टेलिभिजनमा प्रत्यक्ष हेर्न पाइने छ । दिउँसो पौने तीन बजेपछि हुने खेल एनटिभी प्लस र स्पोर्टस च्यानल स्टार स्पोर्टस फोरले प्रत्यक्ष प्रशारण गर्नेछ । आयरल्याण्ड गएर प्रत्यक्ष हेर्न नपाएकाले घरमै बसेर क्रिकेट खेलको मजा लिन पाउनेछन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले विश्वकप छनौटका ५१ मध्ये २० वटा खेल टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलएको छ । जसमा नेपालका दुई खेल परेका छन् । शुक्रबारको पपुवा न्युगिनी विरुद्धको खेल पनि प्रत्यक्ष प्रशारण भएको थियो ।

Post a Comment

 
Top