काठमाडौं, असार २८ – पूर्वी पहाडको लिम्बु समुदायको जीवनलाई समेटिएको कथा संग्रह लाटो पहाड अब पर्दामा पनि देख्न पाइने भएको छ । कथाकार तथा कवि उपेन्द्र सुब्बाको कथा संग्रह लाटो पहाडलाई शिल्पी थिएटरले नाटकको  रुपमा प्रस्तुत गर्ने भएको छ ।
असार ३१ गते मञ्चन गर्ने नाटकका लागि थिएटरमा अहिले जोडतोडका साथ तयारी भैरहेको छ । कथा संग्रहमा समावेश कथाहरुमध्ये मनमाया र प्रभु माइलालाई लाटो पहाड नाम दिएर शिल्पीले मञ्चमा प्रस्तुत गर्न लागेको हो । 
नाटकलाई झापा दमकका किरण चाम्लिङले निर्देशन गरेका छन् । पूर्वी पहाडको पाँचथरमा हुर्केका किरण विगत केहि वर्षदेखि शिल्पीमा छन् । यसअघि विभिन्न नाटकमा निर्देशनमा सहयोगी भूमिका खेल्दै आएका किरणको यो पहिलो निर्देशन हो । आफ्नो पहिलो निर्देशन भएपनि यसअघिको अनुभव र मेहनतका कारण नाटक उत्कृष्ट भएको किरण बताउँछन् । उनी भन्छन्, ‘म पूर्वी पहाडमा नै जन्मे हुर्केको भएकाले कथा मैले मजाले बुझेको थिएँ, त्यसैले मलाई नाटक तयार गर्न केहि सहज भएको छ ।’ 
‘अब नाटक कस्तो भयो भन्ने कुरा दर्शकले हेरेर प्रतिक्रिया दिएपछि थाहा हुन्छ, तर मैले सकेसम्म कमेन्ट गर्ने ठाउँ राखेको छैन’ उनी  थप्छन् । नाटकमा रहेको पहिलो कथा प्रभु माइला आफ्नै ठूलाबाको माइला छोराको कथा रहेको लेखक उपेन्द्र सुब्बा बताउँछन् । उनी भन्छ्न, ‘मेरो ठूलाबाको माइला छोरा क्रिश्चियन भएर आएछ त्यसको प्रभाव पुरै गाउँलाई पर्यो तर मेरो परिवारलाई भने छुन पनि सकेन् । उसको यी र यस्तै कुराहरुलाई कथामा समेटेको छु, नाटक हेरेपछि सबै प्रस्ट हुन्छ ।’
त्यस्तै अर्को कथा मनमाया मा लिम्बु समुदायका छोराछोरी बीच हुने भेदाभावलाई समेटिएको सुब्बा बताउँछन् । उनी भन्छन्, ‘मनमायामा लिम्बु समुदायकी एक छोरीको सानैदेखिको भोगाइ समेटिएको छ, जुन पात्र मेरै ठूलो दिदीलाई बनाएको छु, उहाँले गरेको दुःख मैले सानैदेखि देखेको हुनाले त्यसको समिश्रण कथामा रहेको छ ।’ 
नाटकमा लिम्बु संगीत पनि समावेश गराइएको छ । संगीतमा पनि रुची राख्ने भएकाले निर्देशक किरणले दुईवटा गीत समेत तयार पारेका छन् । जसमा उनले अंकितबाबु अधिकारी र झुमा लिम्बुको सहयोग लिएका छन् । अंकितबाबु अधिकारीले गीत भने २ वर्ष अगाडि नै लेखेका थिए । भरियाको विलौना तथा भरिया र मालिकविचको वार्तालापका विषयमा रहेको गीत सुनेपछि निर्देशक किरणले अधिकारीसँग गीत मागेको बताए । नाटक प्रदर्शन हुनुअघि नै मञ्चको डिजाइनले चर्चा बटुलिसकेको छ । मञ्च डिजाइनका लागि शिल्पीकै अर्का निर्देशक जीवन बरालको सहयोग लिएको किरण बताउँछन् । 
मोरङ पथरीका जीवन पनि पूर्वी तराई तथा पहाडका बारेमा जानकार भएकाले नाटकमा झन मसला थपिएको किरण स्वीकार्छन् । नाटकमा बरालले समेत अभिनय गरेका छन् । पूर्वी पहाडको जीवनशैलीका बारेमा जानकार नभएका तथा लिम्बु जातिको सँस्कृतिका बारेमा जानकारी लिन चाहानेका लागि नाटकले सहयोग पुर्‍याउने किरण बताउँछन् । 
उनी भन्छन्, ‘यसमा सबै टीमले धेरै मेहनत गरेको छ, जस्ले नाटकलाई हरेक पक्षबाट राम्रो बनाउन सहयोग पुर्‍याएको छ ।’  यस्तै शिल्पीमा नाटकको लामो अनुभव बटुलेका जीवन बराल पनि नाटक एक पटक हेर्नै पर्ने भएको बताउँछन् । 
जीवन भन्छन्, ‘नाटकमा मैले लिम्बु समुदायमा रहेको बाहुन पात्रको अभिनय गरेको छु, म स्वयं पहाडको जीवनशैलीमा नहुर्केपनि मैले लिम्बु समुदायका बारेमा बुझ्ने मौका पाएको छु,  जस्ले गर्दा जुन चरित्रको अभिनय गर्न मलाई त्यति धेरै समस्या भएन ।’


Post a Comment

 
Top