‘ओ दाइ कहाँ जाने ? कीर्तिपुर हो ? ल ल चढिहाल्नुहोस्’ बल्खु चोकमा रोकिराखेको माइक्रोबसका सहचालक कराए । ‘जाने त हो, बस्ने ठाउँ छ र ?’ मैले सोधें । ‘जति भनेपनि छ ल आउनुहोस्’ उसले बोलायो । पुग्ने बित्तिकै गाडी चढ्न पाइने भयो भनेर म मख्ख परें । तर बसमा बस्ने ठाउँ त परै जाओस्, उभिने ठाउँ पनि छैन । ‘खै त ठाउँ’ मैले सोधें । 
‘यी के यहाँ’ ढोकामा एउटा खुट्टा मात्र टेक्न मिल्ने ठाउँ देखाउँदै उसले भन्यो । दुईजना बस्न मिल्ने सिटमा चारजनासम्म खाँदिएर बसेका छन् । कोही कक्रक्क परेर उभिएका छन् । कोही झुण्डिएका छन् । गर्मीले उकुसमुकुस भएकाहरु लौन जाऔं भाइ भनेर कराउँदैछन् । तर भाइलाई अझै मान्छे पुगेको छैन । एउटा खुट्टा मात्र टेकेर गाडी चढ्न सक्ने मान्छे खोज्दैछ ।
‘भाइ म यसरी त जान सक्दिन, खाली सिट भए मात्र’ मैले भनें । ‘सिट त पाएको पायै हो दाइ, उतै रत्नपार्कबाट त मान्छे उभिएर आएका छन्’ भाइले जवाफ दियो । म नटेरेरै पछि हटें । ‘सिटमा बसेर गएको हेरौंला’ भन्दै भाइ अर्को आँटिलो यात्रुलाई ढोकामा झुण्ड्याएर हुईंकियो । म ट्वाल्ल परेर अर्को बसको बाटो हेर्न थालें ।
अरुबेला अफिस नजिकै धोवीघाटबाट कीर्तिपुर चल्ने बस चढ्ने गर्छु । लगनखेलबाट कीर्तिपुर चल्ने डल्लो खालको पहेंलो बस मुश्किलले आधा घण्टाको फरकमा चल्ने गर्छ । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने सडक छेउ पुगेर उभियो । परसम्म आँखा तन्काएर हेर्यो । त्यहीबाटो भएर पूर्व छुटेका नाइटबस नागढुंगा कट्नेबेला हुँदासम्म पहेंलो डल्लो बस आउँदैन । त्यो बस कुर्दाकुर्दा पहेंलो रङ भएका स्कूलका सबै बस कण्ठ भैसकेको छ ।
ढोका खोल्नै नमिल्नेगरी मान्छे खाँदेर ल्याएको डल्लो बस बल्लतल्ल आउँछ । ठाउँ नभएपनि मान्छे देख्ने बित्तिकै रोक्छ । ढोकामा उभिएका दुई तीनजना अटेसमटेस गर्दै एउटा खुट्टा माथि सिंढीमा झुण्ड्याएर कक्रक्क पर्छन् । बल्लतल्ल ढोका खुल्छ । अब त चढ्न पाइयो भनेर उक्लियो, माथि जाने ठाउँ हुँदैन । यात्रुको भीडमा चेपिन लागेकाजस्ता चालक कराउँछन्, ‘ल ल अलि पछाडि सर्नुहोस् ।’ ‘पछाडि त ठाउँ भए पो सर्नु’ चेपिएर उकुसमुकुस भएका यात्रु कराउँछन् । 
‘ल ल दाइ ढोका चाहिँ लगाउनुपर्छ है बल्खुसम्म, नत्र ट्राफिकलाई तिर्नुपर्छ’ चालक भन्छन् । बल्खुसम्मकै लागि भएपनि ढोका नलगाइ नहुने । त्यहाँबाट कीर्तिपुर लाग्दा ट्राफिकले वास्ता गर्दैनन् । ढोका लगाउनुपरेको ट्राफिकका लागि हो, यात्रुको सुरक्षाका लागि होइन । चालक र सहचालकले मात्र होइन, यात्रुले पनि यही बुझेका छन् । ढोका लगाउन नमिल्ने भएपछि धोवीघाटमा सँगै डल्ले बस पर्खेर बसेका मोटाघाटा र महिला केटाकेटी चढ्न सक्दैनन् । म लिखुरे चालकले जता गएर बस् भन्यो, उतै गएर उभिन सक्छु । 
बसभित्र बल्लतल्ल खुट्टा राखेर झुण्डिन पाएकोमा म त्यसै मख्ख पर्छु । अब त १५ मिनेटमा पुगिने भो भनेर दंग पर्न नभ्याउँदै अघिल्तिर गाडीको लामो लाइन देखिन्छ । ‘लौ कम्तीमा आधाघण्टा जाममा फसिने भो’ अघिल्तिर चालकसँगै बसेका यात्रु बोले । थुक्क बेकारमा बस चढेजस्तो लाग्यो । लगनखेलबाट चल्ने डल्ले बसमा धोवीघाटबाटै बल्खु पुग्न आधाघण्टा, त्यो पनि हिँडेको भन्दा बढ्दा थकाई लाग्नेगरी । यसरी यात्रा गर्नुभन्दा नगरेकै बेस । गाडीमा हुँदासम्म यस्तै लाग्छ । तर भोलिपल्ट फेरि यसरी गाडी नचढी सुखै छैन । 
धोवीघाटमा बल्लतल्ल आउने डल्लेबस भन्दा त बल्खुबाट कीर्तिपुर चल्ने धेरै बस पाउँछन् । पक्कै पनि खाली पाइन्छ भनेर त्यो दिन सहकर्मी ऋतु थेबेसँग मोटरसाइकल पछिल्तिर बसेर बल्खुसम्म पुगेको थिएँ । ‘ल तपाईंभन्दा म छिटो कोठामा पुग्छु’ भन्दै मख्ख परेर बल्खु झरेको । तर त्यहाँबाट पनि बसेर जाने बस पाउनै मुश्किल । ‘सिट पाएको हेरौंला’ भन्दै ढ्यापढ्याप बनाउँदै मलाई खिसी गरेर हिँडेको सहचालक भाइ कीर्तिपुर पुगेर मजस्तै अरुलाई बसभित्र खाँद्न भ्याइसके होला । म अझै बल्खुमा उभिएको छु ।
एउटा, दुईटा, तीनटा, चारवटा जति बस आएपनि उत्तिकै भिड । राम्रोसँग बस्ने ठाउँ त छोडौं, उभिने ठाउँ समेत पाउन मुश्किल । सिट पाए मात्र चढ्छु भनेर पर्खेको मैले अर्को बसको ढोकामै उभिनुपर्यो । अघिको सहचालक भाइले देख्यो भने के भन्ला भनेर डराईडराई भित्र टाउको लुकाएर उभिएँ । ‘यस्तो उठेर यात्रा गर्नुपर्ने गाडीलाई पनि के को बस भन्ने उठ भन्नुपर्छ’ सँगै उभिएका अर्का यात्रुले ठट्टा गरे । उठमै पनि आनन्दले उभिन पाए त हुन्थ्यो नि । लगनखेलबाट चल्ने पहेंलो डल्लेले कुराएर थकाउँछ, अनि कीर्तिपुर बस्ने सबै ‘उठ’ले खाँदेर यात्रुलाई रुवाउँछन् ।

Post a Comment

 
Top