वामपन्थीहरूबीच एकता गर्न बाबुरामको प्रस्ताव

डा.बाबुराम भट्टराई
एकीकृत माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सबै कम्युनिस्ट/वामपन्थी पार्टी/समूहबीचमा संगठनात्मक एकताको प्रस्ताव तयार गरेका छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय नयाँ परिस्थिति, नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ शक्ति र तत्कालीन कार्यविभाजन शीर्षकमा उनले तीन पृष्ठ लामो प्रस्ताव आन्तरिक छलफलमा ल्याएका छन् ।
विगतमा मुख्यत: तत्कालीन कार्यनीतिक विवादले कम्युनिस्ट पार्टीमा विभाजन आएको र आज देशमा विभिन्न कम्युनिस्ट/वामपन्थी पार्टी/समूह अस्तित्वमा रहेको धरातलीय यथार्थ स्वीकार गर्दै नयाँ परिस्थितिमा अधिकांश समूहबीच तत्कालीन कार्यनीति र आचरण विषयमा बढ्दो निकटता रहेकाले समाजवादी क्रान्तिको नयाँ राजनीतिक कार्यदिशाको आधारमा सबै कम्युनिस्ट/वामपन्थी पार्टी/समूहबीचमा संगठनात्मक एकताको निम्ति पहल गने उनको प्रस्ताव छ ।
सुरुमा कार्यगत एकता/संयुक्त मोर्चा कायम गर्दै अन्तत: एकीकृत पार्टी निर्माणमा जोड दिने, बहस, छलफलका क्रममा पूरै पार्टी/समूहबीच एकता हुन नसके विचार/प्रवृत्ति मिल्ने समूह/व्यक्तिबीचमा एकता कायम गर्दै नयाँ शक्ति निर्माण गर्न प्रयत्न गर्ने उनको प्रस्तावमा छ । त्यसबाहेक पार्टी/समूहबाहेकका असंगठित व्यक्तिलाई पनि एकताबद्ध गर्न प्रयत्न गर्ने, नयाँ शक्ति/पार्टीको विकासमा तत्कालीन ‘माओवादी’द्वारा अघि सारिएको ‘२१औँ शताब्दीमा जनवादको विकास’ सम्बन्धी प्रस्थापना र अन्य पक्षले अघि सारेका तत्सम्बन्धी नयाँ संगठनात्मक अवधारणालाई विशेष ध्यान दिने उनले आफ्नो प्रस्तावमा उल्लेख गरेका छन् ।
नयाँ संगठनात्मक सिद्धान्तको विकासमा अग्रदस्ता र मास पार्टी, पेसेबर र स्वयंसेवी कार्यकर्ता, समाजवादी प्रतिस्पर्धामा आधारित नेतृत्व चयन प्रणाली, नेतृत्वको चक्रीय प्रणाली वा निश्चित अवधि, समावेशिता/समानुपातिकता, वृद्ध/प्रौढ/युवाको थ्री–इन–वान संलग्नता आदिलाई विशेष ध्यान दिने एवं कार्यशैली, आचरण, परिवार र निजी सम्पत्ति, आर्थिक व्यवस्थापन आदिबारे उन्नत, पारदर्शी प्रणाली विकास गर्ने उनको प्रस्तावमा छ ।
डा. भट्टराईले आफ्नो तत्कालीन कार्यभार/कार्यविभाजनको शीर्षकमा भूकम्पप्रभावित क्षेत्रमा पुनर्निर्माण/नवनिर्माणका निम्ति सक्रिय भूमिका निर्वाह गर्ने, स्वयंसेवा/जनसेवा अभियान सञ्चालन गर्ने, देशव्यापी संगठनात्मक सञ्जाल निर्माण गर्ने/व्यवस्थित गर्ने विषय राखेका छन् ।
प्रशिक्षण, सार्वजनिक गोष्ठी/बहस आयोजना गर्ने, प्रचारप्रसारलाई प्रभावकारी/व्यवस्थित बनाउने, ‘एक कमिटी/समूह, एक उत्पादन’ नीति लागू गर्ने र सबै नेता–कार्यकर्ता आत्मनिर्भर बन्ने प्रयत्न गर्ने, माथिल्लो कमिटी/नेतृत्वको मुख नताकी सबै स्वचालित ढंगले क्रियाशील बन्ने कार्यशैली विकास गर्ने, निकट भविष्यमा हुन सक्ने स्थानीय निर्वाचनको प्रारम्भिक तयारी गर्ने र तत्काल विभिन्न तहमा आवश्यक कार्यविभाजन गर्ने प्रस्तावमा उल्लेख गरेका छन् । डा. भट्टराईको प्रस्ताव यस्तो छ :
नयाँ परिस्थिति, नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ शक्ति
‘माक्र्सवादको पनि जन्म, विकास र मृत्यु हुन्छ ।… माक्र्सवादको मृत्युको अर्थ यो हुन्छ कि माक्र्सवादभन्दा उच्च कुनै चिजले त्यसको प्रतिस्थापन गर्नेछ ।’
– माओ त्से–तुङ (साकताको लेखबारे प्रवचन, १९६४)
‘सबै सामाजिक परिवर्तनहरू र राजनीतिक क्रान्तिहरूको अन्तिम कारण मानिसहरूको दिमागमा वा सार्वकालिक सत्य र न्यायको श्रेष्ठतर अन्तरदृष्टिमा खोज्ने होइन, परन्तु उत्पादन र वितरणको प्रणालीमा आएको परिवर्तनमा खोज्नुपर्दछ ।
– प्रmेडेरिक एंगेल्स (‘ड्युरिङ मतखण्डन’, १८७६)
(क) नयाँ परिस्थिति:अन्तर्राष्ट्रिय
– विश्वस्तरमा : वित्तीय पुँजीको तीव्र भूमण्डलीकरण, विज्ञान/प्रविधिको अभूतपूर्व विस्तार, राष्ट्रिय–राज्यहरूको ह्रासोन्मुखशक्ति र ‘बहुराज्यहरूको भूमण्डलीय प्रणाली’, अन्तर–राज्यीय र आन्तरिक राज्यीय असमान र विषम विकासको तीव्रता, ‘अन्त्यहीन युद्ध’ र ‘अति–प्रभुत्व’को सैन्य रणनीति, तत्काल विश्वयुद्धको न्यून सम्भावना, मानव र प्रकृतिबीचको असन्तुलित सम्बन्ध र पर्यावरणीय समस्या ।
– क्षेत्रीय स्तरमा : चीन र भारत उदीयमान विश्वशक्ति, दुवैबीच सहकार्य र प्रतिस्पर्धाको रणनीति, चीन र अमेरिका दुवैको भारतलाई तान्ने वा न्युट्रल राख्ने प्रयत्न, नेपालले बदलिँदो भूराजनीतिको फाइदा लिन सक्ने सम्भावना वा सो नसक्दा गम्भीर संकटमा फस्ने खतरा ।
– आत्मगत रूपमा : पूर्व समाजवादी सत्ताको पतनपछि विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा, पछिल्लो ४० वर्षमा कुनै पनि कम्युनिस्ट क्रान्तिकारी आन्दोलन पूर्ण रूपले सफल हुननसकेको अवस्था, धार्मिक/जातिवादी आन्दोलनको बढ्दो प्रवृत्ति, चीन, भियतनाम, ल्याटिन अमेरिकी देशमा विभिन्न राजनीतिक प्रयोगहरू ।
राष्ट्रिय
– २००७ आसपासदेखिको पुँजीवादी क्रान्तिको चरण मूल रूपमा सम्पन्न, वर्गीय/जातीय/क्षेत्रीय/लैंगिक विभेद र उत्पीडन कायम ।
– उत्पादक शक्ति र उत्पादनको अत्यन्त न्यून विकास, निरपेक्ष गरिबी र बेरोजगारीको प्रचुरता, श्रम पलायन/निर्यात, बढ्दो आर्थिक परनिर्भरता, पर्यावरणीय संकट, गाउँ र सहरबीच असन्तुलन ।
– क्रान्तिकारी वामपन्थी र प्रगतिशील शक्तिबीच टुटफुट र विघटन, सापेक्ष रूपमा बलियो वामपन्थी जनआधार, आम रूपमा बढ्दो वैचारिक संकट र राजनीतिक वितृष्णा ।
तत्कालीन
– विनाशकारी महाभूकम्पपछि राष्ट्रिय पुनर्निर्माण र नवनिर्माण तत्काल मुख्य कार्यभार ।
– संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण मुख्य राजनीतिक कार्यभार ।
(ख) नयाँ विचार
– प्रत्येक नयाँ युग र क्रान्तिको नयाँ चरणले ज्ञान/विज्ञान/विचारको नयाँ चरणमा विकासको माग ।
– द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आधारभूत नियमहरू र भौतिक/जीव विज्ञानका पछिल्ला अनुसन्धानका आधारमा र विगतका क्रान्ति/प्रतिक्रान्तिका अनुभवहरूको आधारमा माक्र्सवादलाई नयाँ चरणमा विकास गर्नुपर्ने आवश्यकता, प्रत्येक युग र चरणसँगै नयाँ ‘वाद’/‘विचार’को नामकरण गर्ने प्रवृत्तिको पुनरावलोकन ।
– समाजवादी/कम्युनिष्ट आन्दोलनमा गतिरोधको वस्तुनिष्ठ चिरफार; माक्र्सवादका
– विभिन्न वैचारिक/राजनीतिक धार र प्रयोगहरूको गम्भीर अध्ययन/अनुसन्धान, माक्र्सवादइतर विचारका सकारात्मक पक्षहरू ग्रहण ।
– विगतका समाजवादी सत्ताहरूको पतन/असफलताको चिरफार : उत्पादन सम्बन्ध र उत्पादक शक्तिबीचको असन्तुलन, सामाजिकता र व्यक्तिको निजत्व/मनोभावबीचको सम्बन्ध, पार्टी र सत्तामा जनवाद र केन्द्रीयताको अन्तरसम्बन्ध, नेतृत्व प्रणालीको विकास आदिको विशेष अध्ययन/अनुसन्धान ।
– मात्रात्मक र गुणात्मक परिवर्तन, सुधार र क्रान्ति, शान्ति र हिंसाको अन्तरसम्बन्धबारे थप अध्ययन/अनुसन्धान ।
– चेतना, संस्कृति, नैतिकता, आचरणबारे थप अध्ययन र विकास ।
(ग) नयाँ कार्यदिशा
– ‘विश्वव्यापी रूपमा सोच, स्थानीय रूपमा कार्य गर’ सिद्धान्तलाई आत्मसात् गर्ने ।
– नेपालमा अहिलेसम्मका पुँजीवादी क्रान्तिको मुख्य स्वामित्व ग्रहण गर्दै समाजवादी क्रान्तिको आर्थिक–सामाजिक आधार निर्माण गर्ने र क्रान्तिको रणनीति र कार्यनीतिको शृंखला विकास गर्ने ।
– नेपालमा उत्पादन र उत्पादक शक्तिको अत्यन्त न्यूनस्तर रहेको स्विकार्दै केही समय राष्ट्रिय औद्योगिक पुँजीको विकासमा जोड दिने र त्यसलाई समाजवादी दिशा दिन ध्यान दिने ।
– ‘तल’ र ‘माथि’को संघर्ष/हस्तक्षेप/पहलको उचित तालमेल मिलाउँदै सडक, सदन र सरकारको मोर्चामा सक्रिय सहभागिता कायम गर्ने ।
– वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक र अन्य वर्गेत्तर प्रश्नहरूलाई एकीकृत ढंगले सम्बोधन गर्ने ।
– राष्ट्रिय र अन्तर्राष्ट्रिय पुँजी तथा पुँजी र श्रमको भूमिकाबीच उचित सन्तुलन मिलाउन ध्यान दिने ।
– निजी, सामूहिक/सहकारी र राज्य क्षेत्रको भूमिकाको सन्तुलन मिलाउने ।
– पुँजीवादी लोकतन्त्रलाई सहभागितामूलक र समावेशी/समानुपातिक लोकतन्त्रमार्फत विस्तार गर्दै समाजवादी लोकतन्त्रको आधार तयार गर्ने ।
(घ) नयाँ शक्ति/संगठन/पार्टी
– नयाँ राजनीतिक कार्यदिशाअनुरूप नयाँ संगठित शक्ति/पार्टीको निर्माण गर्ने ।
– विगतमा मुख्यत: तत्कालीन कार्यनीतिक विवादले कम्युनिस्ट पार्टीमा विभाजन आएको र आज देशमा विभिन्न कम्युनिस्ट/वामपन्थी पार्टी/समूह अस्तित्वमा रहेको धरातलीय यथार्थ स्वीकार गर्दै आजको नयाँ परिस्थितिमा अधिकांश समूहहरूबीच तत्कालीन कार्यनीति र आचरण विषयमा बढ्दो निकटता रहेकाले समाजवादी क्रान्तिको नयाँ राजनीतिक कार्यदिशाको आधारमा सबै कम्युनिस्ट/वामपन्थी पार्टी/समूहबीचमा संगठनात्मक एकताको निम्ति पहल गर्ने ।
– सुरुमा कार्यगत एकता/संयुक्त मोर्चा कायम गर्दै अन्तत: एकीकृत पार्टी निर्माणमा जोड दिने ।
– बहस, छलफलका क्रममा पूरै पार्टी/समूहबीच एकता हुन नसके विचार/प्रवृत्ति मिल्ने समूह/व्यक्तिबीचमा एकता कायम गर्दै नयाँ शक्ति निर्माण गर्न प्रयत्न गर्ने ।
– पार्टी/समूहबाहेकका असंगठित व्यक्तिलाई पनि एकताबद्ध गर्ने प्रयत्न गर्ने ।
– नयाँ शक्ति/पार्टीको विकासमा तत्कालीन ‘माओवादी’द्वारा अघि सारिएको ‘२१औँ शताब्दीमा जनवादको विकास’सम्बन्धी प्रस्थापना र अन्य पक्षहरूले अघि सारेका तत्सम्बन्धी नयाँ संगठनात्मक अवधारणालाई विशेष ध्यान दिने ।
– नयाँ संगठनात्मक सिद्धान्तको विकासमा अग्रदस्ता र मास पार्टी, पेसेवर र स्वयंसेवी कार्यकर्ता, समाजवादी प्रतिस्पर्धामा आधारित नेतृत्व चयन प्रणाली, नेतृत्वको चक्रीय प्रणाली वा निश्चित अवधि, समावेशिता/समानुपातिकता, वृद्ध/प्रौढ/युवाको थ्री–इन–वान संलग्नता आदिलाई विशेष ध्यान दिने ।
– कार्यशैली, आचरण, परिवार र निजी सम्पत्ति, आर्थिक व्यवस्थापन आदिबारे उन्नत, पारदर्शी प्रणाली विकास गर्ने ।
(ङ) तत्कालीन कार्यभार/कार्यविभाजन
– भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण/नवनिर्माण निम्ति सक्रिय भूमिका निर्वाह गर्ने, स्वयंसेवा/जनसेवा अभियान सञ्चालन गर्ने ।
– देशव्यापी संगठनात्मक सञ्जाल निर्माण गर्ने/व्यवस्थित गर्ने ।
– प्रशिक्षण, सार्वजनिक गोष्ठी/बहस आयोजना गर्ने ।
– प्रचारप्रसारलाई प्रभावकारी/व्यवस्थित बनाउने ।
– ‘एक कमिटी/समूह, एक उत्पादन’ नीति लागू गर्ने र सबै नेता/कार्यकर्ता आत्मनिर्भर बन्ने प्रयत्न गर्ने ।
– माथिल्लो कमिटी/नेतृत्वको मुख नताकी सबै स्वचालित ढंगले क्रियाशील बन्ने कार्यशैली विकास गर्ने ।
– निकट भविष्यमा हुन सक्ने स्थानीय निर्वाचनको प्रारम्भिक तयारी गर्ने ।
– तत्काल विभिन्न तहमा आवश्यक कार्यविभाजन गर्ने ।
साभार : नयाँ पत्रिका

Post a Comment

 
Top