ललितपुर, असार २७ – ललितपुरको कुमारीपाटीका युके श्रेष्ठ व्यापार गर्नुहुन्छ । तर उहाँ आफ्नो पसलमा ग्राहक छिर्ने मुल ढोका भने प्रायः बन्द गर्नुहुन्छ । ग्राहक छिर्ने ढोका बन्द, गरेर कसरी व्यापार गर्ने नि साहुजी ? बैकल्पिक ढोका देखाउँदै उहाँले भन्नुभयो ‘कस्टमरलाई उ त्यताबाट भित्र बोलाउँछु ।’ पसल अगाडी थुप्रिएको फोहोरका कारण उहाँले पसलको मुख्य ढोका खोल्न नपाएको धेरै भयो । पसल बन्द गरेपछि सबैले यहीं ल्याएर फ्याक्छन्, कस्लाई मात्र नफ्याँक भन्ने । 

रातभरि थुप्रिने फोहोर बिहान सबेरै उठ्नुपर्ने हो तर हप्तामा बल्लबल्ल एक दुई पटक मात्र उठ्छ । गल्लीका कुकुर र सवारीसाधनले फोहोर यत्रतत्र छिरल्छन् । बर्षायाम छ, फोहोर माथि पानी थपिएपछि दुर्गन्ध झनै खपिनसक्नु हुन्छ । पसलमा दिनभरि नाक थुनेर बस्ने कुरा पनि भएन । फोहोरले स्वास्थ्यमा पार्ने असर त अलि टाढाको कुरा भयो फोहोरका कारण उहाँको व्यापारलाई सिधै मार पारेको छ । युके जस्ता धेरै व्यवसायी यस्तो समस्या भोगिरहेका छन्  । ललितपुरमा मात्र होइन फोहोर काठमाडौं उपत्यकाकै ठूलो समस्या हो ।
उपत्यकाबाट दैनिक रुपमा सात सय टन फोहोर निस्कन्छ जसमध्ये ललितपुरबाट ७० टन निस्कन्छ । फोहोर व्यवस्थापन हुन नसक्दा सडक पेटी, नदी किनार र सार्वजनिक क्षेत्र डम्पिङ साइट जस्तै बनेका छन् । फोहोर नथुप्रेका चोक कमै मात्र भेटिन्छन् । यसले व्यापार, स्वास्थ्य, पर्यटन र सौन्दर्यजस्ता धेरै क्षेत्रमा प्रभाव पारेको छ । ललितपुरको कुपन्डोल, पुल्चोक, मानभवन, कुमारीपाटी, पाटन अस्पताल चोक, लगनखेल बसपार्क लगायत उपत्यकाका विभिन्न स्थानमा बेला बेलामा फोहोर थुप्रिने गरेको छ । समयमै फोहोरको व्यवस्थापन नहुँदा समस्या परेको सर्वसाधारण गुनासो छ ।
सडकमा फोहोर थुपार्नुपर्ने बाध्यता, जतासुकै फोहोर फ्याँक्ने नागरिकको बानी र समयमै व्यवस्थापन गर्न नसक्ने सरकारी निकायको कमजोरीका कारण फोहोरको समस्या नसुल्झिएको ललितपुर मानभवनका बिनोद राईको बुझाई छ ।
फोहोरमैलाकै कारण पैदलयात्रुलाई पनि सास्ती हुन्छ । चर्को घाममा टाउको दुख्नेगरी दुर्गन्ध सहनु र झरीमा फोहोरमा चिप्लिएर हिंड्नुपर्ने अवस्था छ । घर मात्र नभएर होटल, कलकारखाना, अस्पताल, विद्यालय आदि ठाउँबाट  निस्कने फोहोर जहाँ पायो त्यही फाल्ने बानीका कारण पनि समस्या हुने गरेको छ ।
सडकमा फालिने फोहोरले शहरको सौन्दर्यतामा समेत असर पारेको छ । २०६८ सालमा बनेको फोहोर मैला व्यवस्थापन ऐनमा हानिकारक फोहोरमैला उत्पादन गर्ने व्यक्ति वा संस्थाले तोकिए बमोजिम व्यवस्थापन नगरे कारवाही हुने प्रावधान छ । तर ऐन कडाईका साथ लागु हुन सकेको छैन । नुवाकोटको ओखरपौवामा रहेको सिसडोल डम्पिङ साइटमा फोहोर धेरै भएकाले समयमै फोहोर उठाउन नसकिएको ललितपुर उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत ताराबहादुर कार्कीका अनुसार अहिले पानीका कारण सिसडोल जाने बाटो पुरिएको छ । 
सुन्दरीघाटमा भएको खाली ठाउँलाई फोहोर ब्यवस्थापनका लागि प्रयोग गर्ने भनिए पनि स्थानीयवासीको विरोधका कारण समस्या भएको छ । कार्यकारी अधिकृत कार्कीका अनुसार ‘ सिसडोल नजिकैको बञ्चरे डाडाँमा बनिरहेको नयाँ ल्यान्डफिल्ड साइट पुरा हुन अझै २/३ बर्ष लाग्नेछ । 
फोहोर बोक्ने गाडी पर्याप्त नहुँदा पनि समस्या छ । तर गाडी थप्नु मात्र स्थायी उपाय भने होइन । शहरी विकास मन्त्रालय अन्र्तगतको फोहोरमैला व्यवस्थापन प्राविधिक केन्द्र, सम्बन्धित नगरपालिका उपमहानगरपालिका र महानगरपालिका तथा नागरिकले आ आफ्ना जिम्मेवारी पुरा गरे फोहोरका कारण बद्नाम शहरको अलिकति भएपनि रौनक आउने थियो ।

Post a Comment

 
Top