काठमाडौं, असार २४ – वैशाख १२ गते भूकम्प
लगतै धेरैजनाको बास सडक र चौरमा भयो । काठमाडौंको टुँडिखेल नैै ढाकिनेगरी
बिस्थापित बस्न थाले । सुरुका दिनमा दिनमा १० हजार पीडित बसेको टुँडिखेलमा
अहिले ११ सय जना मात्र छन् ।
ती ११ सय जनालाई बस्नको लागि कति टहरा
चाहिएला ? थोरैमा पनि २ सय जति त चाहिएला । तर टुँडिखेलमा भने ११ सय जनाको
लागि जम्मा ८५ वटा पाल मात्र छन । यति धेरै पीडितहरु जम्मा ८५ वटा पालमा
बस्नुपर्ने पालको अभाव भएर भने होइन । पीडितको भनाई अनुसार त्यहाँबाट
बिस्तारै हटाउन सरकारले यस्तो उपाय अपनाएको हो ।
यसरी धेरै परिवार एकै छाप्रोमा किन
राखिएको होला त ? नाम नखुलाउने शर्तमा शिविरको सुरक्षाका लागि खटिएका एक
सैनिकले भने, ‘हामीले यसरी कडाइ नगरेको भए टुँडिखेलमा अहिले पनि १ हजार
छाप्रा हुन्थे होला । वास्तविक पीडित हामीले चिनेका छौं, नक्कलीलाई त
अफ्ठेरो पारेर यहाँबाट पठाउने नै हो ।’
कुनै परिवार टुँडिखेलबाट घर फर्के भने
उनीहरुले प्रयोग गरेका पाल सेनाले लैजान्छ । यति मात्र होइन सेनाले हरेक
दिन बिहान र बेलुका पालमा बसेकाहरुको नामावली अपडेट गरिरहन्छ । यसरी
नामावली अपडेट गर्दा पीडित बनेर नयाँ कोही आए नआएको थाहा हुन्छ ।
‘एउटैै
छाप्रोमा १८ जनासम्म बस्दा निकै गार्हो हुन्छ सानो सानो कुरामा पनि झगडा
परिरहन्छ’ असनमा कोठा भत्किएर टुँडिखेलमा बस्दै आएकी दुर्गा खड्काले
भन्नुभयो ‘यहाँ त जेल जस्तै छ, यति सानो छाप्रोमा १७ जना कसरी बस्नु, कसरी
खानु?’ सेनाले यसरी अफ्ठेरोमा राख्नुको कारण आफूहरुलाई हटाउन खोजेको उहाँको
बुझाई छ ।
भूकम्प गएको २ महिनासम्म खाली ठाउँमा
बसेकाहरु केही सक्कली पीडित भएपनि अरु चाहिँ राहतको लागि बनावटी पीडित बनेर
बसेको सरकारको अनुमान छ । धेरै पीडित काठमाडौंको एअरपोर्ट, पशुपति,
जोरपाटी, जावलाखेल, टुँडिखेल लगायतका खुला चौरमा बसेका छन् । अन्य बिकल्प
नभई सरकारले उनीहरुलाई झट्टै हटाउन पनि सकेको छैन भने अर्कातिर अब पनि
बस्न दिने हो भने सार्वजनिक जग्गा अतिक्रमण हुने डर छ ।
‘सरकारी जग्गामा बसेका को सक्कली र को
नक्कली पीडित हो भनेर हामीले अध्ययन गरिरहेका छौ’ काठमाडौंका प्रमुख
जिल्ला अधिकारी एकनारायण अर्यालले भन्नुभयो, ‘घर सग्लै भएकाहरु पनि राहतको
लोभले खाली जग्गामा पीडित जस्तो गरेर बसेका छन उनीहरुलाई छिट्टै हटाइनेछ
भने सक्कली पीडितहरुलाई सरकारले बैकल्पिक व्यावस्था गर्नेछ ।’
साभार : उज्यालो अनलाईन

Post a Comment