, डोल्पा हिजो पनि सदाझैं बिहानै उठेँ । नित्यकर्म गरेँ । दिनभरि गर्नुपर्ने कामको योजना बनाएँ । हिजो बिहान १० बजे कार्यालय पुगेँ र नियमित काममा लागेँ । खासगरी नागरिकता र पासपोर्ट बनाउनेलगायत काम लिएर सेवाग्राही आउनुभएको थियो । आफ्नोतर्फबाट गर्नुपर्ने उहाँहरूका काम गरेँ । दिउँसो कार्यालयका प्रमुखहरूसँग छलफलको कार्यक्रम राखिएको थियो, सहभागी भएँ । छलफलमा कार्यालय प्रमुखहरूले भोग्नुपरेका अप्ठेरा र अन्य विविध विषयमा छलफल भयो । कार्यालयबाट दिइने सेवालाई प्रभावकारी बनाउन आवश्यक सुझाव र निर्देशन दिएँ । दिउँसो ३ बजे जिल्ला विकास समितिको सभाहलमा स्थानीय विकाससम्बन्धी गोष्ठी थियो, सहभागी भएँ । जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरू हिजो भेटघाटका लागि आउनुभएको थियो, उहाँहरूसँग स्थानीय प्रशासनले खेल्नुपर्ने भूमिकालगायत विषयमा छलफल भयो । स्थानीय रेडक्रसका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका प्रतिनिधिहरू र कार्यालय प्रमुखहरूसँग बसेर नियमित छलफल गर्ने गरेका छौं । हिजो पनि जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरू, रेडक्रसका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसँग बसेर जिल्लाको अवस्थाबारे छलफल भयो । छलफलपछि जनसेवा चुस्तदुरुस्त बनाउन सरकारी कार्यालयका प्रमुखहरूलाई आवश्यक निर्देशन दिएँ । जिल्लामा शान्ति सुरक्षाको अवस्थाबारे बुझ्नका लागि पनि हामी नियमित छलफल गर्ने गरेका छौं । हिजो पनि सुरक्षा निकायका प्रमुखबाट जिल्लाको शान्ति सुरक्षाको अवस्था बुझेँ । ००० डोल्पामा भूकम्पका कारण ८३ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै, २८ वटा सरकारी संरचना, कार्यालय भवन र विद्यालयमा आंशिक क्षति पुगेको छ । यहाँ मानवीय क्षति भने भएको छैन । हामीले क्षतिको विवरणको लगत संकलन गरेर राखेका छौं । घरहरू सामान्य चर्केकाले हामीले राहत दिने काम भने गरेका छैनौं । बाढी–पहिरोको जोखिममा डोल्पा पनि भएकाले हामीले यसका लागि पूर्वतयारी थालेका छौं । सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखेका छौं । यसका साथै हामीले स्थानीय एफएम रेडियोबाट जनचेतना जगाउने काम पनि गरिरहेका छौं । समस्या पर्दा जिल्ला प्रशासनलाई खबर गर्न पनि भनेका छौं । जिल्लाको गुफाल गाविसको डाँगीबडा भन्ने गाउँमा पहिरोका कारण ६१ घरपरिवार जोखिममा परेको छ । तर, जोखिममा रहेका परिवार त्यहाँबाट सर्न मानिरहेका छैनन् । म आफैँ गएर त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सर्न भनेका छौं । त्रिपाललगायत सामग्री वितरण गरेका छौं । म भर्खरै २१ जेठमा सरुवा भएर बाँकेबाट यहाँ आएको हुँ । यसभन्दा पहिले म बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी थिएँ । भर्खरै जिल्ला आएकाले यहाँको वस्तुस्थिति बुझ्ने काम गरिरहेको छु । जिल्लामा यार्सागुम्बा टिप्नेहरूको अहिले भीडजस्तै छ । प्रहरीको अभिलेखअनुसार ४७ हजार त बाहिरी जिल्लाबाटै आएका छन् । जिल्लाभित्रकै पनि उत्तिकै यार्सा टिप्ने काममा लागिरहेका छन् । जिल्ला यार्साको आकर्षणको केन्द्र भएकाले शान्ति सुरक्षातर्फ विशेष ध्यान दिन जरुरी हुन्छ । मैले यहाँ आएदेखि नै यसतर्फ ध्यान केन्द्रित गरेर शान्ति सुरक्षालाई मजबुत पार्ने काम गरेको छु । अहिले यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । विगतका वर्षभन्दा यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । यहाँ कुनै हिंसात्मक गतिविधि भएका छैनन् ।

Post a Comment

 
Top