महोत्तरी, भदौ‌ १८ - तराई मधेशमा चलिरहेको अनिश्चितकालिन आम हड्तालको मौका छोपेर महोत्तरी र सर्लाहीमा वन तस्करी मौलाएको छ । तस्करहरुले महोत्तरी र सर्लाहीको राष्ट्रिय वन र सागरनाथ वन विकास परियोजना क्षेत्रको जंगलबाट दर्जनौं सखुवाका काँचा रुख काटेर लगेका छन् । बर्दिबास नगरपालिका वडा नम्बर १२ मा पर्ने टुटेश्वरनाथ साँझेदारी वनबाट मात्रै यस बीचमा एक दर्जन भन्दा धेरै सखुवाका रुख काटिएका छन् । वन क्षेत्रमा प्रहरी प्रशासन र जिल्ला वन कार्यालयका सशस्त्र वन रक्षकको उपस्थिति नभएको मौका छोपेर तस्करहरुले रातारात रुख काटेर लाने गरेका हुन् ।
दुई हप्ता अघिदेखि महोत्तरी र सर्लाहीको पूर्व पश्चिम राजमार्गमा पर्ने जंगल क्षेत्रबाट सशस्त्र प्रहरीले आफ्नो सुरक्षा पोष्ट हटाएपछि वन तस्करी मौलाएको हो । असुरक्षा बढेको भन्दै पूर्व पश्चिम राजमार्गमा पर्ने महोत्तरीको लक्ष्मिनियाँ र सर्लाहीको बाँके जंगलमा सशस्त्र प्रहरी बस्न छाडेको छ । राजमार्ग क्षेत्रमा सशस्त्र प्रहरी बस्न छाडेपछि राजमार्गमा यात्रा गर्ने यात्रुलाई असुरक्षा बढेको छ भने वन तस्करलाई अनुकूलता थपिएको छ ।
महोत्तरीका जिल्ला वन अधिकृत शान्तमाया श्रेष्ठले वन तस्करी वढेको जानकारी आफूलाई भएपनि त्यसलाई रोक्न सक्ने हैसियतमा अहिले वन कार्यालय नरहेको बताउनुभयो । जिल्ला वन कार्यालयमा तालाबन्दी भएपछि एकहप्ता अघि काठमाडौं जानु भएकी श्रेष्ठले भन्नुभयो, ‘अहिले हामी आफैं असुरक्षित छौं, जलेश्वरको कार्यालय जोगाउनै अहिले समस्या छ । राती वनमा गस्ती गर्न सक्ने अबस्था छैन । वन तस्करी नियन्त्रको लागि अहिले हामी थप केही गर्न सक्दैनौं ।’
वन तस्करी नियन्त्रणको लागि प्रहरी प्रशासनसँग सुरक्षा माग्दा समेत अहिले वन जंगलको सुरक्षामा ध्यान दिन सक्ने अबस्था नरहेको जवाफ प्रशासनले दिने गरेको श्रेष्ठले बताउनुभयो । एक हप्ता अघि आन्दोलनकारीले जलेश्वरमा रहेको जिल्ला वन कार्यालयमा तालाबन्दी गरेपछि वनका कर्मचारी घरघरमा गएर आराम गरेर बस्दा वन क्षेत्रमा तस्करहरु सक्रिय भएका हुन् ।
आन्दोलनरत संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले मंगलबार र बुधबार राती महोत्तरी र सर्लाहीको पूर्व पश्चिम राजमार्ग क्षेत्रमा सखुवाका दर्जनौं काँचा रुख ढालेर सडक अबरुद्ध पारेका छन् । सडक अबरुद्ध पार्न ढालिएका रुखको पनि तस्करी हुन थालेको छ । ढालिएका रुख हटाएर प्रहरीले राजमार्गलाई खुलाए पनि सम्बन्धित निकायले ढालिएका रुखका टुनाको व्यवस्थापन गर्न नसक्दा तस्करी वढेको हो । महोत्तरीको बर्दिबास, खयरमारा, रामनगर, लक्ष्मिनियाँ, सर्लाहीको सागरनाथ, भक्तिपुर, कालिञ्जोर, रानीगंज, फूलजोर क्षेत्रको जंगलमा अहिले बढी मात्रामा काठ तस्करी भैरहेको स्थानिय बासिन्दाले बताएका छन् ।  सागरनाथ वन विकास परियोजना सर्लाहीका प्रमुख अम्बिका पौडेलले बिगत एक हप्ताको अबधिमा ५ जना काठ तस्करलाई नियन्त्रणमा लिएर जरिवाना गरेर छाडेको जानकारी दिनुभयो ।
‘काठ तस्करीमा संलग्नलाई अहिले रंगेहात पक्राउ गरेपनि मुद्दा दायर गरेर कार्वाही गर्न सक्ने अबस्था छैन’ पौडेलले भन्नुभयो, ‘जिल्ला सदरमुकाममा जानसक्ने अबस्था छैन, जंगलमा गाढी लिएर गस्ती गर्न सक्ने अबस्था पनि छैन । वन तस्करी नियन्त्रण गर्ने नाममा धेरै जोखिम मोल्नु पनि भएन ।’ अहिलेको संकटपूर्ण अबस्थामा काठ तस्करीमा संलग्नको सुराकी लिने काम आफूहरुले गरिरहेको र अबस्था सहज भएपछि उनीहरुलाई पक्राउ गरेर कार्वाही प्रक्रिया अघि बढाइने दावी पौडेलले गर्नुभयो ।

Post a Comment

 
Top