काठमाडौ‌, भदौ १८ - तराईका विभिन्न जिल्लामा भैरहेको बन्दले बिरामीले झन् बढी सास्ती खेप्नुपरेको छ । केही ठाउँमा बन्दकर्ताले एम्बुलेन्स समेत चल्न दिएका छैनन् । अस्पताल र स्वास्थ्यचौकी पुगेका बिरामीले समेत औषधी नपाएको गुनासो गरेका छन् ।
तराईका जिल्लामा अहिले सर्पदंशका बिरामीलाई दिने एन्टी स्नेक भेनमको अभाव भएको छ । सर्पले टोकेका बिरामी बढ्दै गएपनि ढुवानीमा समस्या हुँदा प्रभावित क्षेत्रमा औषधी पु¥याउन नसकिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीका अनुसार क्षेत्रीय स्टोरमा औषधी भएपनि उपचार केन्द्रसम्म पुर्याउन सकिएको छैन ।
महाशाखामा अबको १५/२० दिनलाई पुग्ने एन्टी स्नेक भेनम औषधी स्टकमा छ । तर स्टकमा भएका औषधी पनि बन्दका कारण प्रभावित ठाउँमा पुर्याउन सकिएको छैन । औषधीको ढुवानीमा अझै समस्या देखिए गृह मन्त्रालयसँग समन्वय गर्ने तयारी भैरहेको मरासिनीले बताउनुभयो । अरु ठाउँको तुलनामा रुपन्देहीमा सर्पदंशका बिरामी बढेका र त्यहाँ औषधी पुर्याउन कठिन भएको उहाँले बताउनुभयो । यस्तै सरकारले एन्टी स्नेक भेनमको खरिद प्रक्रिया पनि अघि बढाएको छ । १०/१५ दिन पछि औषधी आइपुग्ने सरकारले जनाएको छ ।
http://ujyaaloonline.com/

Post a Comment

 
Top