कतार, साउन १ – काभ्रे माझी फेदाका रामशरण गौतम बसुन्धारामा रहेको ग्रिन स्टार म्यानपावर कम्पनीका एजेन्ट मार्फत केही दिन पहिले कतार आउनुभयो । कतार आउन उहाँले एजेन्टलाई १ लाख ५२ हजार रुपैयाँ तिर्नुपर्‍यो ।
अपरेटरको कामका लागि कतार आउनुभएका उहाँलाई एजेन्टले राम्रो कमाई हुने र कम्पनीले नै अपरेटरको लाइसेन्स बनाइदिन्छ भनेका रहेछन् । तर एजेन्टले भनेजस्तो यता आएर भएन । गौतम भन्नुहुन्छ ‘लाइसेन्स बनाए बापत ३५ सय रियाल काट्ने र १४ सय तलब र २ सय खाना सुविधा दिने भनेको छ । उता पनि ढाड भाँचिने गरी पैसा तिरियो यता लाइसेन्स बनाउँदा पनि पैसा तिर्नु पर्ने रहेछ म त खुत्रुक्कै परें ।’
गएको फेब्रुअरी महिनामा स्प्लेन्डिड जब सोलुसन तिनकुनेबाट झण्डै ४२ जना युवा कतार आए  । म्यानपावर र म्यानपावरका एजेन्टलाई ६० हजारदेखि एक लाख रुपैयाँसम्म तिरेर आएका उनीहरुले तीन महिनासम्म तलब पाएनन् ।  दैनिक १० देखि १२ घण्टा काम गर्नुपर्ने तर समयमा नै तलब र खाना सुविधा नभएपछि उनीहरुले नेपाली दूतावासलाई गुहारे । दूतावासले कम्पनीका प्रतिनिधिलाई बोलाएर समस्या समाधान गर्न भनेपछि कम्पनीले पारिश्रमिक उपलब्ध गरायो ।
धनकुटाका गिरिबहादुर राई निर्माणाधिन घरभित्र केवुल सम्बन्धी काम गर्ने भनेर कतार आउनुभएको थियो । तर यहा“ आएपछि बाटो खन्ने काम रहेछ । त्यसमाथि  समयमै पारिश्रमिक नपाएपछि उहाँ सहित १० जना भन्दा बढी नेपाल फर्किए । कम्पनीले म्यानपावरलाई फ्री भीषा र फ्री टिकट दिए पनि उनीहरु धेरै पैसा तिरेर कतार आएका थिए ।
काभ्रेका देवराज नेपाल होटलमा काम गर्न भन्दै केही दिन पहिले कतार आउनुभएको हो । काठमाडौंको अक्टोपस म्यानपावर कम्पनीबाट आफन्तलाई एक लाख रुपैयाँ तिरेर आउनुभएका उहाँ अहिले किल्निङ कम्पनीमा काम गरिरहनु भएको छ । देवराज भन्नुहुन्छ ‘होटलमा भनेर आएको हो । कमाई १६ सय रियल हुन्छ भनेको थियो, यहा“ आएपछि त काम र कमाई नै अर्कै रहेछ ।’ उहाँले अहिले खानका लागि दुई सय सहित महिनाको ११ सय रियल तलब पाउनु भएको छ । ‘आफन्तले नै ठगे, ६ महिना बसेर फर्कनु पर्ला । उहाँ भन्नुहुन्छ ‘आउ“दा लागेको ऋण तिर्न भएपनि ६ महिना त बस्नै प¥यो ।’
यस्ता श्रमिकहरु केही प्रतिनिधि पात्र मात्रै हुन् । श्रमिकको सम्पर्क सिधै म्यानपावर कम्पनीसँग नहुँदा वैदेशिक रोजगारीमा आउन चाहाने युवा ठगिने गरेका छन् । म्यानपावर कम्पनीले श्रम स्वीकृति लिएको मागपत्र कुनै न कुनै राष्ट्रिय दैनिकमा प्रकाशित गर्नुपर्ने प्रावधान छ । उनीहरु पत्रिकामा एउटा सेवा सुविधा राखेर विज्ञापन प्रकाशित गर्छन । तर ती सेवा सुविधा धेरैजसो फर्जी हुने गरेका छन् । विज्ञापनमा तलब सुबिधा एकथरी राखिएको हुन्छ । एजेन्टले तलब सुविधाको आधारमा आफूखुशी यति खर्च लाग्छ भन्छन् ।
विज्ञापनमा जान लाग्ने लागत खर्च २० हजार भनेर लेखिएको हुन्छ । अन्तर्वार्ताको क्रममा मनलाग्दी पैसा लिने गरिन्छ । कुनै कामदारले लागत खर्च त २० हजार लेखिएको छ नि भनेर प्रश्न गर्‍यो भने एजेन्ट तथा म्यानपावर व्यावसायीले ‘जान मन भए भने जति पैसा तिर्नुस् नत्र अरु मान्छे छन्’ भन्ने गर्छन् । यसले गर्दा कामदारसँग म्यानपावर कम्पनीले मागे जति पैसा दिनु बाहेक अर्को विकल्प हुँदैन ।
खाडीका ६ देश सहित मलेसियामा शून्य लागतमा कामदार पठाउने सरकारी निर्णय गएको असार २१ गतेदेखि लागू भएको छ । प्रवासमा बस्ने लाखौं कामदारहरु सरकारको यो निर्णयबाट खुशी छन् । तर कामदारलाई विदेश पठाउने व्यवसायीले भने सरकारी निर्णयको विरोध गरिरहेका छन् । धेरै रोजगारदाता कम्पनीले कामदार झिकाउँदा लाग्ने सम्पूर्ण खर्च बेहोरेको हुन्छ ।
यस्तै कामदार पठाउने म्यानपावरलाई प्रति कामदार केही कमिशन पनि दिने गरेका छन् ।  यसैले गर्दा शून्य लागतमा कामदार पठाउने सरकारी निर्णयले म्यानपावर व्यवसायीलाई कुनै असर पर्दैन । सरकारी निर्णय प्रभावकारी रुपमा कार्यान्वयन हुने हो भने कामदार ठगिने र अलपत्र पर्ने क्रम कम हुनेछ । सरकारी निर्णयको विरोध गर्नुको साटो म्यानपावर व्यावसायी पनि कार्यान्वयनमा लागे सबैलाई राम्रो हुन्छ ।

Post a Comment

 
Top