सोलुखुम्बु,  साउन ३ - सोलुखुम्बुको नाम्चे वा खुम्जुङ जाँदै हुनुहुन्छ ? बाटोमा सँगै हिँडिरहेका साथीले नाम्चे पुगेपछि शरीरमा लगाईरहेको टिसर्ट फुत्त फुकालेर घरको भित्तामा टाँस्न थाल्यो भने आश्चर्य नमान्नुहोस् । गन्तव्यमा पुगेपछि शरीरको टिसर्ट, टोपी वा झण्डा बास बस्ने घरको भित्ता वा सिलिङमा टाँस्ने यहाँको पुरानै नियम हो । 
सोलुखुम्बुको नाम्चे, खुम्जुङ, लबुचे, दिङ्बोचे तथा गोरेप्सेप पुग्ने स्वदेशी तथा विदेशी पर्यटकले चिनो स्वरुप यस्तो वस्तु छाड्ने गरेका हुन् । कतिपय पर्यटकले आफू पुगेको प्रमाणका लागि पनि टिसर्ट टाँस्ने गरेको भ्याली भ्यू लज दिङबोचेका गेलु शेर्पा बताउनुहुन्छ । ‘पर्यटकहरुले टाँसी राखेको टिसर्ट हामी पनि सुरक्षित साथ राखिदिने गर्छौं, कतिपय पर्यटक २ बर्षपछि फर्केर आउँदा पनि आफ्नो चिनो सुरक्षित रहेको हेर्न चाहन्छन्, त्यस्तो भेटिए उनीहरु खुसीले उफ्रन्छन्’ गेलुले भन्नुभयो । 
पर्यटकले टिसर्टमा यात्रा अनुभव र भ्रमण टीममा रहेका साथीहरुको नाम लेख्ने गरेका छन् । कतिपय पर्यटकले आफ्ना चिनजानका साथीभाइ भ्रमण गरेर फर्किएको कुरा टिसर्टमा नाम हेरेरै थाहा पाउने गरेका छन् ।
‘टिसर्टमा चिनजानको मानिसको नाम देखेपछि उनीहरु उत्साहित हुन्छन्, फोटो खिच्छन्, एक प्रकारको प्रमाण पनि रहेछ यो, सायद उता उनीहरुको देशमा लगेर देखाउँदा हुन्’ गेलूले भन्नुभयो । पर्यटकले नाम्चे आएर पनि एभरेष्ट देख्न नपाएको, बाटोघाटो कठीन भएको र जाडोले कठङ्ग्रिएको जस्ता गुनासा पनि टिसर्टमै पोख्ने गरेका छन् । पर्यटकको यस्तो कार्यले लज तथा रेष्टुरेन्ट सञ्चालक भने हैरान छन् । टिसर्ट टाँस्न बाँकी ठाउँ नपाएपछि अरु कोठाको बन्दोबस्त गर्न अनुरोध गर्ने, अरुको टिसर्ट हटाउन खोज्ने सम्मका पर्यटकहरु समेत आउने गरेको लज सञ्चालकहरु सुनाउँछन् ।
घरको भित्ता तथा सिलिङको सफाइ गर्नुपर्दा समेत धेरै गाह्रो हुने गरेको उनीहरुको अनुभव छ । ‘जतनले निकाल्नुपर्छ, अनि टाँस्नुपर्छ, उनीहरुले कति मायाले टाँसेका हुन्छन् हामीले पनि त्यसको सम्मान त गर्नैपर्‍यो नि !’ खुम्बु लज एण्ड रेष्टुरेन्टका दावा शेर्पाले भन्नुभयो ।  विश्व सम्पदा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बर्षेनी ३५ हजार भन्दा बढी पर्यटक घुमफिर तथा हिमाल आरोहणका लागि पुग्ने गरेका छन् । 

Post a Comment

 
Top