पर्वत, साउन  ३ - निरन्तरको वर्षाका कारण जिल्लाको दक्षिणमा पर्ने रानीपानीलाई जोड्ने कालीगण्डकी लोकमार्गको फलेवासदेखि रानीपानीसम्मको सडकखण्ड अवरुद्ध भएको छ । 
वर्षाले सडक हिलाम्मे हुनाका साथै ठाउँ ठाउँमा पहिरो खसेको छ । यातयात अवरुद्ध भएपछिसदरमुकाम दैनिक जाने आउने यात्रु अलपत्र परेका छन् । वर्षाअघि कुश्मादेखि फलेवास, पाङ्ग्राङ, बराचौर हुँदै रानीपानीसम्म नियमित बस सेवा सञ्चालन हुँदै आएको थियो । 
गाडीमा तीन/चार घन्टामा सदरमुकाम आउने मानिस अहिले दिनभर पैदल यात्रा गरेर सदरमुकाम आउने गरेका छन् । फलेवासदेखि रानीपानीसम्मको सडक ठप्प भएपछि दैनिक उपभोग्य सामानको अभाव हुन सक्ने सङ्केत देखिएको छ । 
सदरमुकाम आउन जानका लागि जिल्लाका एक दर्जनभन्दा बढी गाविसका मानिसले उक्त बाटो प्रयोग गर्छन् । कालीगण्डकी लोकमार्गको फलेवासदेखि मिर्मीसम्मको सडकखण्ड असार मसान्तसम्ममा सञ्चालनमा ल्याउने भनिए पनि अझै सञ्चालनमा आएको छैन । रासस 

Post a Comment

 
Top