काठमाडौं, साउन ४ – संविधानको प्रारम्भिक मस्यौदामा आज देशभर एकैसाथ नागरिकको सुझाव संकलन हुँदैछ । जिल्ला सदरमुकाम र २ सय ४० वटै निर्वाचन क्षेत्रका पायक पर्ने ठाउँमा बिहानैदेखि चहलपहल सुरु भैसकेको छ । सभासद र नागरिक एकै ठाउँमा बसेर प्रत्यक्ष रुपमा सुझाव संकलनको काम हुन लागेको हो । सुझाव संकलनका लागि सभासद र कर्मचारी यसअघि नै जिल्ला सदरमुकाम र निर्वाचन क्षेत्रमा पुगिसकेका छन् ।
देशका बिभिन्न ठाउँमा केही दिनअघिदेखि नै मस्यौदाबारे अन्तक्र्रिया भैरहेका छन् । सरकारले सुझाव संकलनलाई राष्ट्रिय अभियानकै रुपमा अघि बढाउँदै आज र भोलि सार्वजनिक बिदा दिएको छ । सुझाव संकलन हुने ठाउँमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । राप्रपा नेपाल तथा मधेश केन्द्रित केही दलले सुझाव संकलनमा भाग नलिने घोषणा गरिसकेका छन् । गाउँठाउँमा केही दिनदेखि नै संविधानको मस्यौदामाथि चर्चापरिचर्चा सुरु भैसकेको छ ।
सुझाव संकलनका लागि समय कम भएको र वर्षा तथा खेतीपातीको सिजन भएकाले धेरैको सहभागिता कम हुने देखिएको छ । यस्तै आम नागरिकले दिएको सुझाव संविधानमा समेटिनेमा पनि आशंका गरिएको छ । तर संविधानसभा सचिवालयले भने नागरिकको सुझाव समेट्नकै लागि देशव्यापी अभियान चलाइएको जनाएको छ । नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले चुस्त र व्यवस्थित रुपमा काम गरिरहेकाले सबैका सुझाव संविधानमा समेटिने प्रतिवेदन लेखन उपसमितिका संयोजक प्रेमबहादुर गिरीले बताउनुभयो ।  
संविधानमा नागरिकले फोन वा इमेल गरेर पनि सुझाव दिने व्यवस्था मिलाइएको छ । सचिवालयमा हिजोसम्म साढे १२ हजार भन्दा धेरै सुझाव संकलन भैसकेको छ । आज जस्तै भोलि पनि देशभर सुझाव संकलनको काम हुनेछ । संविधानसभा सचिवालयमा भने पर्सि ५ गतेसम्म सुझाव पठाउन सकिनेछ । 

दलीय सहमति विपरीतका सुझाव

संविधानसभा सचिवालय र बिभिन्न जिल्लामा यसअघि भएका अन्तक्र्रियामा प्राप्त केही सुझाव दलीय सहमति र संविधानको मस्यौदामा प्रस्तावित विषयभन्दा फरक देखिएको छ । संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली, धर्मनिरपेक्षता, मौलिक अधिकार लगायतका विषयमा नागरिकबाट फरक सुझाव आएको हो ।
धेरै नागरिकले ८ भन्दा कम प्रदेश बनाउन, सीमांकन र नामांकन टुंग्याउन, राष्ट्रपति र वडाध्यक्ष प्रत्यक्ष चुन्ने व्यवस्था गर्न, समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न, हिन्दू राष्ट्र कायम गर्न लगायतका सुझाव दिएका छन् । मुख्य तीन दलले भने पार्टीको एजेण्डामा सुझाव दिन कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी लगायतका दलले १६ बुँदे सहमतिको आधारमा सुझाव दिन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।  

सहभागी हुन अपील

प्रधानमन्त्री सुशील कोइरालाले संविधानको प्रारम्भिक मस्यौदामाथिको छलफलमा भाग लिन सबैलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाले मस्यौदाप्रति नागरिकको धारणा बुझ्ने प्रयास आधुनिक र उच्च लोकतान्त्रिक अभ्यास भएकाले सबैलाई आफ्नो सुझाव दिन आग्रह गर्नुभएको हो ।
उहाँले मस्यौदामा निहित धारा र प्रावधानलाई कस्तो बनाउदा उपयुक्त हुन्छ भन्ने विषयमा आफ्ना ज्ञान र अनुभवमा आधारित भएर सुझाव दिन स्वदेश तथा विदेशमा रहेका सबैलाई अनुरोध गर्नुभएको छ ।
कोइरालाले संविधानसभामा प्रतिनिधित्व गर्ने र बाहिर रहेका राजनीतिक दललाई पनि रचनात्मक सुझाव दिएर संविधान निर्माणको महायज्ञमा सहभागी हुन आह्वान गर्नुभएको छ । मुख्य दलका शीर्ष नेताहरु, संविधानसभाका अध्यक्ष र सभासदहरुले पनि सुझाव संकलन अभियानमा सक्रिय सहभागी हुन सबै नेपालीलाई आग्रह गरेका छन् ।

Post a Comment

 
Top