काठमाडौ‌, भदौ ३१ - अघि अघि अस्पतालका डाक्टर । पछि पछि लागे, सुकलालका सानो छोरा र सुकलाल । आनन्दवन अस्पतालको वेड नं. ५ मा सुकलालकी श्रीमती सीता विक पल्टिरहनुभएको थियो । अकस्मात आँखा अगाडि दाह्री र कपाल सेतै फुलेका, लठ्ठी टेकेका व्यक्ति देख्दा उहाँ झस्किनुभयो । सीतालाई श्रीमान् आउँदै हुनुहुन्छ भन्ने त्यस अघि थाहा थिएन । सानो छोरा मानबहादुरलाई सँगै देखेपछि सीताले बल्ल ठम्याउनुभयो आफ्नै श्रीमान् सुकलाललाई ।

सीता –‘आजै हिँडेका ?’
सुकलाल –‘हो त, आजै बसमा चढेर आएको, रसुवामा कर्मचारीले टिकट काटिदिए अनि बाटो खर्च पाँच सय रुपैयाँ दिनुभयो । बालाजु माछापोखरीमा बसबाट ओर्लिना साथ सर लिन आईपुग्नुभएछ ।’
यति बोलेपछि एकैछिन मौनता छायो अस्पतालमा । वरिपरिका शैयामा सुतिरहेका विरामीहरु पनि सुकलालतिरै हेरिरहेका थिए । ..............त्यतिन्जेलसम्म सीताले श्रीमान्लाई नियाल्न भ्याउनुभएछ क्यारे ! ‘दाह्री पनि लामा लामा भएछन्, कपाल कति लामा पालेका ?’ उहाँले भन्नुभयो ।
‘आफ्नो खाने सुत्ने त टुङ्गो भएन, दाह्री काटुँ कि कपाल ? पछि काटौंला नि’ सुकलालले एकै सासमा जवाफ भ्याउनुभयो ।
‘लुगा धुनुओर्नु छैन ?’
श्रीमतीको शब्द भुँइमा खस्न नपाउँदै सुकलालले जवाफ फर्काईहाल्नुभयो ‘कसले धोइदिन्छ त ?’
सुकलालको यो शब्दमा श्रीमती बिना आफ्नो जिन्दगी लथालिङ्ग भएको बिम्ब झल्किन्थ्यो । श्रीमतीले श्रीमानको बाहिरी स्वरुप नियालेर श्रीमानका बारेमा टिप्पणी गरेपनि श्रीमान्का लागि यो अनुकुल थिएन । दृष्टिविहीन नभईदिएको भए सायद सुकलालले श्रीमतीको अवस्थाका बारेमा हेर्नुहुन्थ्यो । दुब्लाएको मोटाएको वा भूकम्पका कारण ढुंगाले किच्दा लागेको घाउ चोट र भईरहेको उपचारका बारेमा जानकारी लिनुहुन्थ्यो । तर सुकलाललाई यत्ति मात्र थाहा छ – खुट्टामा गम्भीर चोट लागेको श्रीमतीको खुट्टा केही छोटो भएको छ ।
लामो समय बुबा र भाइबाट छुट्टिएर न्यास्रिएकी सुकलालकी छोरी बर्ष ११ की लक्ष्मी विक खुसीले फुरुङ्ग भइन् । अस्पतालमै आमाको स्याहार गर्दागर्दै व्यवहारको भारले थिचिएर हुनुपर्छ, लक्ष्मीले केही परिपक्क व्यवहार देखाइन् । उनले साँढे पाँच महिना पछि भेटेका बुबालाई डोर्याएर शौचालयसम्म पुर्याइन्, हात धोइ दिइन्, खानेकुरा ल्याइदिइन् र खान आग्रह गरिन् । भूकम्पले तितरवितर भएका विश्वकर्मा परिवारका सबै सदस्य भेटेर खाना खाएको संयोग मात्र थिएन, प्राप्ति पनि थियो ।
‘अस्पतालमा यसपटक धेरै मानिसहरु हराए, मलाई सेनाका सुवेदारले यही भन्नुभएको थियो । चार महिना सम्मपनि केही खबर नपाएपछि मैले परिवारको माया मारिसकेको थिएँ’ गहभरी आँशु पार्दै सुकलालले भन्नुभयो ।

यसरी पत्ता लाग्यो आमा छोरीको अवस्था  

बेपत्ता श्रीमती र छोरीको खोजीका लागि दिनरात धाउँदा पनि पत्ता नलागेपछि सुकलाल थाकिसक्नुभएको थियो । उहाँले श्रीमती र छोरीलाई जीवित भेट्न सकिएला भन्ने आशा पनि त्यागिसक्नुभएको थियो । विभिन्न अस्पतालमा उपचार गर्दै भदौको पहिलो हप्ता ग्वार्कोमा रहेको अन्नपूर्ण पुनःस्थापना केन्द्रमा आमा छोरी (सीता र लक्ष्मी ) थपिए । त्यसपछि केन्द्रले ठेगाना पत्ता लगाउन खोजी गर्न थाल्यो । विभिन्न स्रोतको खोजी गर्दा सेनाको माध्यमबाट आईपुगेको पत्ता लगाएपछि पुनःस्थापना केन्द्रले सेनाकै माध्यमबाट घरसम्म खबर पठायो । रसुवाको धुन्चेमा बस्दै आउनुभएका सुकलाल विकको कानमा यो खबर पुग्दा आमा छोरी वेपत्ता भएको पाँच महिना नाघिसकेको थियो । अन्नपूर्ण पुनःस्थापना केन्द्रका निखिल ढुङ्गाना भन्नुहुन्छ ‘थेरापी गर्नका लागि हामी कहाँ नआईपुगेको भए उनीहरुको अहिलेसम्म पनि ठेगाना खुल्ने थिएन ।’ झण्डै हप्ता दिनको प्रयासपछि परिवारसँग सम्पर्क भएपनि सीतालाई भेट्न कोही आएनन् ।
सीताको नजिकको आफन्त नआएपछि उहाँको थप उपचार रोकिएको थियो । अस्पतालले सुकुलालकी श्रीमतीको थप उपचारका लागि मन्जुरीनामामा हस्ताक्षर गर्ने नजिकको आफन्त खोजिरहेको रहेछ । आमाको स्याहार सुसार गरिरहेकी लक्ष्मी विकले समेत आफूभन्दा ठूला मान्छे आईदिए आमाको उपचार हुने इच्छा व्यक्त गरेकी थिइन् ।   

यसरी इच्छा सिद्धी भयो विक परिवारको

अस्पतालको कानुनी प्रक्रिया पूरा गराई सीताको थप उपचारको उपाय खोजिरहनुभएका सुकलालको गोजीमा सुको थिएन । ऋणपान गरेर बल्लतल्ल जुटाएको ६ हजार रुपैयाँ बोकाएर पठाएको जुवाई अस्पतालमा मुख देखाएर फर्केका थिए । त्यहीबेला ‘गाउँमा श्रीमान, शहरमा श्रीमतीः देखभेट नै नहुने यो कस्तो नियति !’ शीर्षकमा उज्यालो अनलाइनमा समाचार प्रकाशन भयो । मानवीय संवेदना बोकेको यो पीडाको कथा धेरैले पढे । देशविदेशबाट सीताको उपचारका लागि सहयोगको हात फैलाउने वाचा गरे । त्यसमध्ये चन्द्रनारायण मेमोरियल ट्रष्टको सहयोगमा रसुवामा श्रीमती र छोरीको सुर्तामा दिन विताईरहनुभएका सुकलालले श्रीमती र छोरीलाई भेट्न पाउनुभएको हो । ट्रष्टले विकको परिवार रसुवा फर्केपछि केही समयसम्मका लागि राशन खर्च समेत व्यहोर्ने जनाएको छ । काठमाडौमा रहँदा विक परिवारको खाना तथा बसाई र रसुवा फर्केपछि तत्काल राहतका लागि ५० हजार रुपैयाँ विनियोजन गरेको चन्द्रनारायण मेमोरियल ट्रष्टका संस्थापक पुष्प श्रेष्ठले बताउनुभयो । Covina Nepalese Community ले भने सबै विरामीको उपचारका लागि सहयोगी बन्न सकोस् भन्ने उद्देश्यले ३० हजार ४ सय ६२ रुपैयाँ अस्पतालको कोषमा जम्मा गर्ने जनाएको छ ।सुकलाल अब श्रीमती र छोरीको उपचार पूरा गरी सँगै फर्किने योजनामा हुनुहुन्छ । ‘मेरो हालत यस्तो छ, अरु जस्तो आउँदै जाँदै गर्न सक्दिन । त्यसैले दुई चार दिन बसेर भएपनि आमा छोरी दुवैलाई सँगै लिएर जाने विचार छ’ सुकलालले भन्नुभयो ।

Post a Comment

 
Top