काठमाडौं, भदौ ३ - आज आठौँ राष्ट्रिय सूचना दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैछ । सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनमा आएको दिन २०६४ साल भदौ ३ गतेदेखि दिवस मनाउन थालिएको हो । दिवस मनाउन थालिएको ८ वर्ष पुगेपनि नागरिकले अझै पनि आफुसँग सरोकार राख्ने विषयको सूचना पाउन सकिन्छ भन्ने नै थाहा पाएका छैनन् ।
संविधान अन्तर्गतका निकाय, ऐनद्धारा स्थापित निकाय, सरकारले गठन गरेको निकाय लगायत सरकारले सम्झौता गरेका सार्वजनिक चासोका विषयमा आमनागरिकले सूचना माग्न पाउने छन् । तर सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था वा अन्तराष्ट्रिय सम्बन्धमा खलल पुग्ने खालका सूचना भने गोप्य राख्ने अधिकार सम्बन्धित निकायसँग छ ।
यस्तै व्यक्तिको गोपनीयता, उसको जीउ, ज्यान, सम्पत्ति, स्वास्थ्य वा सुरक्षामा खतरा पुर्रयाउने सूचना प्रवाह गर्न बाध्य नहुने ऐनमा उल्लेख छ । ऐन लागु भएपछि सरकारले राष्ट्रिय सूचना आयोग पनि गठन गरेको छ । आयोगले त्रिभूवन विश्वविद्यालय लगायत अरु विश्वविद्यालय, उच्च माध्यमिक शिक्षा परिषद् र परीक्षा नियन्त्रण कार्यालयबाट आएको परीक्षाफल चित्त नबुझे उत्तर पुस्तिका हेर्न पाउने निर्णय गरेको छ ।
यस्तै सूचना मागकर्ताले सूचना किन आवश्यक परेको भन्ने खुलाएर आवश्यक सूचना लिन सक्ने लगायतका ४ वटा महत्वपूण काम गरेको छ । तर यसबारे अझैपनि धेरैलाई थाहा हुन सकेको छैन ।
दिवसको अवसरमा प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, सरकारका प्रवक्ता डाक्टर मिनेन्द्र रिजाल लगायतले शुभकामना दिनुभएको छ ।

Post a Comment

 
Top