बागलुङ, भदौ २ -  नेपाली सेनाको एक टोलीले अन्नपूर्ण पदमार्ग अन्तर्गतको थोरङ्लापास क्षेत्रमा दोस्रो चरणको फोहोर संकलन तथा व्यवस्थापन काम गरेको छ । वातावरण संरक्षण तथा पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने उद्देश्यले मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरी बरालको पहलमा पदमार्गमा रहेका फोहोर संकलन गरी व्यवस्थापन गरिएको हो ।
पर्यटकीय क्षेत्र अन्नपूर्ण पदमार्ग अन्तर्गत मुस्ताङ र मनाङको सीमानामा पर्ने ५ हजार ४ सय १६ मिटर उचाइमा रहेको थोरङ्लापास क्षेत्रमा पर्यटक तथा पदमार्गीले गरेको फोहोर संकलन तथा व्यवस्थापन गरिएको भीमदल गण मुस्ताङका कर्णेल अर्जुन बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार थोरङलापासदेखि मुक्तिनाथसम्म अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने झण्डै १३ किमि पदमार्गको फोहोर संकलन गरिएको थियो ।
मुस्ताङको पर्यटकीय क्षेत्रमा पुगेको क्षति र अन्नपूर्ण पदमार्ग पर्यटकका लागि सुरक्षित भए नभएको स्थलगत जानकारीका लागि अनुगमन पनि गरिएको प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो । उहाँले निरीक्षणको क्रममा अन्नपूर्ण पदमार्ग तथा मुस्ताङका अन्य पर्यटकीय स्थल पनि सुरक्षित भएको र यहाँ पर्यटक आउनको लागि कुनैपनि अप्ठेरो नभएको जानकारी दिनुभयो ।

Post a Comment

 
Top