खोटाङ, भदौ ४ – खोटाङ बास्पानी गाविसमा निर्माण गरिएको लघुजलविद्युत आयोजनाको परीक्षण प्रशारण सुरु गरिएको छ । झण्डै चार वर्षअघिदेखि निर्माण कार्य थालिएको ६९ किलोवाट क्षमताको तापखोला लघुजलविद्युत आयोजनाको परीक्षण प्रशारण सुरु गरिएको हो ।
भर्खरै निर्माण कार्य सकिएको लघुजलविद्युत आयोजनाको परीक्षण प्रशारण सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । आउँदो असोजमा उद्घाटन गर्ने तयारी गरिएको आयोजनाबाट खार्ताम्छा र बास्पानी गाविसका ५ सय ७५ घरधुरी उपभोक्ता लाभान्वित भएका खड्काको भनाई छ ।
लघुजलविद्युत आयोजनाले खार्ताम्छाका १, २, ८ र ९ बास्पानीका १, २, ३, ४, ५, ६ र ७ वडाका उपभोक्ताहरु लाभान्वित भएका छन् । वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको दुई करोड ४१ लाख ४५ हजार तथा उपभोक्ता समितिको ९२ लाख ५५ हजार बराबरको श्रमदानका साथै बास्पानी र खार्ताम्छा गाविसको १५/१५ लाख रुपैयाँ लगानीमा लघुजलविद्युत आयोजना सञ्चालनमा ल्याइएको उपभोक्ता समितिले जनाएको छ ।
जिल्लालाई लोडसेडिङ मुक्त गराउने अभियानलाई सफल बनाउने उद्धेश्यकासाथ लघुजलविद्युत आयोनाको निर्माण कार्य सुरु गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

Post a Comment

 
Top