पर्वत, भदौ २ - व्यवस्थापिका संसदमा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि ५ करोड रुपैंया माग गर्ने सभासद्ले यसअघि पाएको एक करोड रुपैंया पनि खर्च गर्न सकेका छैनन् । निर्वाचन क्षेत्र विकास कार्यक्रम र सांसद विकास कोष मार्फत प्राप्त गरेको रकम पनि खर्च गर्न नसकेका हुन् । पर्वतका दुई निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सभासद् र एकजना समानुपातिक सांसदमार्फत भित्रिएको २ करोड ४५ लाख रुपैंया खर्च हुन सकेको छैन । रकममध्ये १९ लाख १२ हजार ८ सय ८५ रुपैंया फ्रिज भएको जिल्ला विकास समितिले जनाएको छ । तोकिएको समयमा विकास निर्माणका योजनाहरु सम्पन्न हुन नसक्दा रकम फ्रिज भएको जिल्ला विकास समिति पर्वतले जानकारी दिएको छ । 
क्षेत्र नंं. १ का सभासद् अर्जुनप्रसाद जोशीमाफर्त आएको रकममध्ये ७ लाख ४२ हजार ९ सय ७, क्षेत्र नं. २ का सभासद् विकास लम्सालमार्फत आएको रकममध्ये १० लाख ४० हजार ८ सय ३ र समानुपातिक सभासद् कल्पना चापागार्इंको सांसद विकास कोषबाट १ लाख ३५ हजार १ सय ७५ रुपैंया फ्रिज भएको हो । 
क्षेत्र नं. १ मा संचालित योजनामध्ये सल्यान सिंचाई मर्मत गुण्टेखेतको २२ हजार, वाँसखर्क लेकफाँट सडकको २५ हजार, शालिजा धाईरिङ्ग सडकको ३७ हजार ४ सय १०, खौला सडक मर्मत सुधार योजनाको २ लाख १७ हजार २ सय १३, चित्रे सडक मर्मत सुधार योजनाको २ लाख ३४ हजार २ सय ४२, नाङलीवाङ खानेपानी आयोजनाको ११ हजार ३ सय ७६, देउपुर सडक मर्मत योजनाको १ लाख ९५ हजार ५ सय ३ फ्रिज भएको छ । 
त्यस्तै विद्यालय तथा क्याम्पस फर्निचर खरिद योजनाको २० हजार ९७, धाईरिङ अल्लो उपसमुह भवन निर्माणको ५० हजार, खौलाकोट पर्खाल निर्माणको ५० हजार र कृषि उपज केन्द्र तिलाहारको १५ हजार ७८ रुपैंया फ्रिज भएको छ । 
क्षेत्र नं. २ तर्फ खोरपोखरा–सालघारी–चिउरीखाल्टा–गेप्ताङ सडकको ३ लाख ६९ हजार ७ सय ६७, तातोपानी, रुग्दी, शंकरपोखरी–भगरा सडकको ३ लाख ५१ हजार ४ सय ८१, खेलकुद मैदान निर्माण योजनाको २ लाख १८ हजार १ सय विद्यालय फर्निचर खरिद योजनाको ९२ हजार १ सय ८७,  र डुम्रेभन्ज्याङ–भुर्तेलथोक–त्रिवेणी–वहाकी सडकको ३ हजार २ सय ११ रुपैंया फ्रिज भएको जिल्ला विकास समितिका लेखापाल रामनाथ शर्माले जानकारी दिनुभयो  । 
जिल्लाका सबैजसो गाविसका सबैजसो वडाहरुमा सडक सञ्जाल फैलिएको भएपनि निर्वाचन क्षेत्र विकास कार्यक्रमको अधिकांस बजेट सडकमै छुट्टाइएको हो । सभासद्हरुले १० लाखभन्दा माथिका योजनाहरु मात्र छनौट गर्नुपर्ने भएपनि बिभिन्न ठाउँमा टुक्रे योजनामा समेत रकम विनीयोजन गरेका थिए । क्षेत्र नं. २ मा मात्र सांसद विकास कोष निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट गरी २१ वटा योजनामा रकम विनीयोजन गरिएको थियो । त्यस्तै क्षेत्र नं. १ मा २२ वटा टुक्रे योजनामा रकम विनीयोजन गरिएको थियो । जसमा निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट ६ वटा सडक मर्मत योजनामै रकम छुट्टाइएको थियो । क्षेत्र नं. १ मा ५२ प्रतिशत रकम सडकमा छुट्टिएको थियो । 
जिल्ला विकास समितिमा आर्थिक वर्ष ०७१÷७२ मा कुल बजेट मध्ये ५ करोड ९० लाख, ९६ हजार ५ सय ११ रुपैंया फ्रिज भएको थियो ।

Post a Comment

 
Top