यूएई , भदौ ३ - तीज आउन एक महिना बाँकी भएपनि रोजगारीका लागि संम्युत्त अरब एमिरेट्स यूएई आएका नेपालीलार्इ यसको रन्कोले छोइसकेको छ । यूएईमा रहेका नेपाली संघसंस्थाले नेपालबाट आउने कलाकारको नामसहित सांगितिक कार्यक्रमको प्रचार थालिसकेका छन् ।
शुक्रबार सार्वजनिक बिदाको दिन बरदुबर्इको आसपासमा भेला भएका नेपाली कामदारलार्इ आयोजकले साँगीतिक कार्यक्रमको टिकट बिक्री गर्न थालेका छन । नाम चलेका कलाकार आउने भनेपछि नेपाली समुदाय पनि टिकट किन्न पछि पर्दैनन् । टिकट बिक्रीका लागि कार्यक्रम आयोजकले बरदुबई वरपरका नेपाली ब्यवसायीका पसललाई राम्रैसँग उपयोग गरेका छन् । आयोजकले स्थानीय प्रशाशनसँग अनुमति लिएर ठूला होटलका सभाहलहरु बुकिङ गर्न थालेका छन् ।
झण्डै चार लाख नेपाली रहेका यूएईमा चाडपर्व मनाउन र बिभिन्न सांस्कृतिक कार्यक्रम गर्न नेपाली संघसंस्थाबीच प्रतिस्पर्धा नै हुन्छ । धेरै दर्शकलाई आफुतर्फ खिच्न नेपालबाट नाम चलेका कलाकार भित्र्याएर कार्यक्रम गर्ने लहर नै चलेको छ । भदौ ३० अर्थात १६ सेप्टेम्बर बुधवार परेको तीजको दर खाने र सांस्कृतिक कार्यक्रम युएर्इमा २१ दिन अघिदेखि सुरु हुँदैछ ।
नेपाली जनसंपर्क समिति यूएईले अगस्ट २८ मा अबुधाबीको अरब उडपी रेस्टुरेन्टमा एक तीजविशेष कार्यक्रमको आयोजना गर्दैछ । यूएईमा काम गर्ने स्थानीय कलाकारहरुको जमघटमा समितिले तीज मनाउन लागेको समितिका सभापति चित्र केसीले जानकारी दिनुभयो । त्यही दिन दुबईको एभरेष्ट होटलमा गुल्मी सेवा समाज यूएईले सांगीतिक माहौलमा दर खाने कार्यक्रम गर्ने भएको छ । यहाँका स्थानीय कलाकारको जमघटमा यहाँ कार्यरत महिलाहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष लक्षमण भण्डारीले बताउनु भयो । 
यूएईमा एउटा स्वतन्त्र समुहले आगामी सेप्टेम्बर ४ तारिख शुक्रबार नायिका रेखा थापाको नेतृत्वमा सारजहामा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सोही दिन एनआरएन यूएईको अधिवेशन पनि हुने भएकोले कार्यक्रम ओझेलमा छ । नायिका रेखाको साथमा नायक श्याम अर्याल, पर्शुराम रिजाल, गायिका मीना अधिकारी, कलाकार रेस्मा तिम्सिना, आस्मा पाण्डे लगायत स्थानीय कलाकारहरुको जम्बो टोलीले ४ तारिख सारजाह र ११ तारिखमा फुजेराका नेपालीहरु सँगै तीज मनाउदै छन । कार्यक्रमबाट संकलित रकम सामाजिक काममा खर्चिने कार्यक्रमका सम्योजक रतन थापाले उज्यालोलाई बताउनु भयो ।
त्यस्तै सेप्टेम्बर ४ मै तीजकै अवसर पारेर पर्वत सेवा समाज यूएईले नेपालबाट लोक गायिका रमिला न्यौपाने, कुलेन्द्र बिकका साथमा तीज धमाका कार्यक्रम गर्दै छ । स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुती देखाउने पर्वत समाज यूएईका अध्यक्ष राजेन्द्र अधिकारिले बताउनु भयो । 
तीज आउन एक साता पहिलेको शुक्रबार यूएईमा तीन वटा कार्यक्रम हुँदै छन । अन्तराष्ट्रिय कलाकार समाज यूएई च्याप्टरका अध्यक्ष मोहराज शर्माका अनुसार नायिका प्रीयकां कार्की, हाँस्य कलाकार मनोज गजुरेल, लोकगायिका कृष्णा गुरुङ सहितको टोलीले सेप्टेम्बर १० मा दुबईमा च्यारिटी मूलक कार्यक्रम गर्ने भएको छ । यही टोलीले सेप्टेम्बर ११ तारिख रसअल खेमामा पनि च्यारिटीमूलक कार्यक्रम गर्दैछ ।
उता सोही दिन आबुधाबीमा पनि कार्यक्रम हुँदैछ । काइट इन्टरनेसनलको पहिलो प्रस्तुति स्वरुप यूएईको आबुधाबीमा रमझमपूर्ण तीज कार्यक्रम आयोजना गरिएको छ । आयोजकले गायिका कोमल वलीका साथमा भद्रगोलका कुमार कट्टेल र पाँडे बुढा आउन लागेको भन्दै प्रचारप्रसार गरिरहेको छ ।  
सेप्टेम्बर ११ मै रुपन्देही सेवा समाज युएई र लुम्विनि वेलफेएर सोसाइटी महिला विभाग युएईको संयुक्त आयोजनामा दुबईको अस्टेरिया होटलमा तीज विशेष कार्यक्रम हुँदै छ । कार्यक्रम सम्योजक दीपा पाण्डेका अनुसार सो कार्यक्रममा गायिका मन्जु पौडेल, हाँस्य कलाकार कमल गाउँले र लोकगायक रामजी खाँड यूएई आउँदै हुनुहुन्छ । 
यस् पटक यूएईमा दुई वटा कार्यक्रम जुधेका मात्र छैनन । यहाँका मुख्य शहरै पिच्छे थरीथरीका कलाकार ल्याएर कसले कती बढी फाईदा कमाउने भन्ने प्रतिस्पर्धा नै चलेको संघसस्थाका केही प्रतिनिधिहरुको भनाइ छ । 
तीजको तेस्रो दिन पञ्चमीको अवसरमा यूएईमा तीज बिसेष कार्यक्रम को अन्तिम कार्यक्रम हुने छ । श्रीकृष्ण गण्डकी सहयोग समाजले सेप्टेम्बर १८ मा खुमन अधिकारी, गायिका उमा गिरी र स्थानीय कलाकारहरुका साथमा बरदुबईको इम्पेरियल होटलमा तीज विशेष कार्यक्रम गर्न लागेको हो ।  समाजले उक्त कार्यक्रमबाट संकलित रकम आधुनिक शिक्षाका लागि नेपालमा सहयोग गर्ने समाजका कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

‘प्रवासमा भड्किलो कार्यक्रम अनावश्यक’

तीज आउन झन्डै एक महिना बाँकी छँदै परदेशमा भइरहेको यस्तो तडकभडकलार्इ कतिपयले भने मन पराएका छैनन् । महिनौ अघिदेखि यसरी टिकट बेच्नु राम्रो नभएको दुबर्इमा कार्यरत स्याङ्जाका रमेश खनालले बताउनुभयो ।
देश बाहिर रहेकाहरुले मनोरन्जनका लागि सांस्कृतिक कार्यक्रम गर्नु सान्दर्भिक भएपनि स्थापित संघसंस्थाले नाफा कमाउने उद्धेश्यले कार्यक्रम गर्नु र चर्को शुल्कमा टिकट बेच्नु गलत भएको फुजेराहमा कार्यरत रोल्पाका केशर बहादुर थापा बताउनुहुन्छ । सामान्य कार्यक्रमका लागि पनि ३० देखि ५० धिराम्स अर्थात एक हजार नेपाली रुपैयाँ प्रवेश शुल्क राखिएको हुन्छ । यो शुल्क सामान्य मजदुरको रुपमा काम गर्ने नेपालीको पहुंच भन्दा टाढाको हुने थापाको भनाइ छ ।
तर आयोजकहरु भने नेपाली जहाँ भएपनि आफ्नो कला र संस्कृति संरक्षणमा सक्रिय हुनुपर्ने बताउँछन् । जहाँ भएपनि चाडपर्व रितिरिवाज सम्झिने नेपाली परम्परा अनुसार चाडपर्वको अवसरमा सांस्कृतिक कार्यक्रम गर्ने गरेको गुल्मी सेवा समाज यूएईका अध्यक्ष लक्ष्मण भण्डारीले बताउनुभयो ।  
चाडपर्वहरु देशको पहिचान गराउने विषय भएकाले यसलाई मनाउनुपर्ने नेपाली जनसम्पर्क समिति यूएईका सभापति चित्र केसीको भनार्इ छ ।

Post a Comment

 
Top