म्याग्दी, भदौ २ – म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर मन्दिरमा झण्डै साढे १० लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । साउन महिनामा परेका ५ ओटा सोमबारमा गलेश्वरधाम दर्शन गर्न तथा पूजा आराधना गर्न आएका भक्तजनहरुबाट १० लाख ३९ हजार ७५ रुपैयाँ सङ्कलन गरिएको हो । 
साउनको पहिलो सोमबार २ लाख ७ हजार नौसय ९७, दोस्रो सोमबार २ लाख ५ हजार पाँचसय ८१, तेस्रो सोमबार २ लाख ५६ हजार पाँचसय ६३, चौथो सोमबार १ लाख ९१ हजार दुईसय ६५ र पाँचौ तथा अन्तिम सोमबार १ लाख ७७ हजार नौसय ५३ रुपैयाँ सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
  पाँचओटा सोमबारमध्ये तेस्रो सोमबार सबैभन्दा बढी र अन्तिम सोमबार सबैभन्दा कम भेटी सङ्कलन भएको थियो । गएको वर्ष भन्दा यसवर्ष भेटी सङ्कलन र भक्तजनहरुको संख्या पनि बढेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव गुमानसिं कार्कीले बताउनुभयो । वर्षायाम एवं खेतीपातीको समय र देशको संक्रमणकालीन अवस्थाका कारण अपेक्षा गरेअनुसार भक्तजनहरु आउन नसकेको उहाँको भनाई छ ।  यस वर्षको साउन महिनामा म्याग्दीसहित बाँके बर्दिया, रुपन्देही, नवलपरासी, चितवन, काठमाडौं, पोखरा, पर्वत, बागलुङलगायतका जिल्लाहरुबाट गरी झण्डै १ लाख भक्तजनहरुले मन्दिरको दर्शन गरेका थिए । मन्दिरमा पूजा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, विभिन्न क्लब, आमा समूह, सहकारीलगायतले स्वयंसेवा गरेका थिए । मन्दिरमा उठेको भेटीबाट मन्दिरको भौतिक पूर्वाधारको विकास तथा कर्मचारी र ज्येष्ठ नागरिकको व्यवस्थापनमा लगानी गरिने सचिव कार्कीको भनाई छ । 
​साउने सोमबारमा मात्रै १० लाख रुपैंयाभन्दा बढी भेटी सङ्कलन

Post a Comment

 
Top