काठमाडौं,
भदौ ४ – धादिङको सदरमुकाम धादिङबेसी नपुग्दैको सानो गाँउ । साउनको अन्तिम
हप्ता । मध्यान्ह १२ बजे । बेसी भएकाले मधेसमा जस्तै उधुम गर्मी छ । त्यै
टोलमा छ, लक्ष्मण परियारको घर ।
खाना खाने बेला भएकाले लक्ष्मणको परिवारका
सबैजसोलाई घरैमा भेटियो । घर पनि के भन्नु । घामपानीमा टाउको लुकाउने टहरा
। नयाँ मान्छे देखेपछि घरका सबैजना झुम्मिए ।
वैशाख १२ गते गएको बिनासकारी भूकम्पपछि
लक्ष्मणको घर बस्नै नहुने भएको छ । हपहपी गर्मीमा पनि प्लाष्टिकको टहरामा
बसेका छन । उनीहरुले घर चाहिँ कहिले बनाउलान ?
छेउमै बसेका भाइलाई लक्ष्मणले सोध्नुभयो ‘यो घर बनाउन दुई लाख जतिले पुग्ला है कान्छा ?’
‘अहिलेको जुगमा त्यत्तिले कहाँ पुग्नु
दुईतले घर बनाउन । कम्तिमा तीन–चार लाख रुपैयाँ लाग्ला ।’ लक्ष्मणले पनि
दाइको कुरोमा सही थाप्नुभयो ।
यत्ति पैसा नभएपछि लक्ष्मणका परिवारले बारीको पाटोमा घामपानी नभनी रातदिन कटारहेका छन् ।
सरकार र अरु संघसंस्थाले दिएको राहतले
केही दिन चल्यो । अनि घरले पुरिएको अन्न निकालेपछि अहिले त्यसैले चल्दैछ ।
लक्ष्मणका छोरा राजु ४ वर्षदेखि कुवेतमा छन् । भूकम्प गएको समाचार सुनेपछि
नेपाल फर्कने कुरा गरे ।
‘भूकम्प गएको सुनेपछि अहिल्यै आउँछु, भरे
नै आउँछु भन्न थाल्यो । यहाँ हामी राम्रै छौं भनेपछि घर बनाउने पैसा लिएर
अर्को वर्ष आउँछु भनेको छ ।’ लक्ष्मणले भन्नुभयो । अहिले राजुको मन अडिएको छ
कुवेतमै ।
Post a Comment