काठमाडौं, साउन ४– सोमबार र मंगलबार देशभर संविधानको प्रारम्भिक मस्यौदामाथि नागरिकले सुझाव दिइरहेका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा उपस्थित भएका नागरिकले दिएको सुझावको ओइरो नै लागेको छ ।

 मस्यौदाप्रति सुझाव दिँदै देशै भरका नागरिकले सांसद हुने व्यक्तिको शैक्षिक योग्यता संविधानमै उल्लेख गर्न सुझाव दिएका छन् । चालक अनुमतिपत्र लिनसमेत कम्तिमा एसएलसी पास गर्नु पर्ने कानुन बन्दै गरेको बेला राजनीति गर्ने व्यक्तिको पनि योग्यता तोक्नु पर्ने उनीहरुको सुझाव छ । 
धनकुटा पाख्रेबासका मुक्ति बजागाईले सुझाव दिँदै भन्नुभयो, ‘ड्राइभरको योग्यता तोक्न हुने, सांसद हुने व्यक्तिको योग्यता किन नतोक्ने ? राजनीति गर्ने व्यक्तिको पनि शैशिक योग्यता संविधानमै तोकिनु पर्‍यो ।’
मस्यौदाप्रति सुझाव दिँदै काठमाडौं क्षेत्र नम्बर २ साँखुका राजेन्द्र तिवारीले राजनीति गर्ने र सांसद हुने व्यक्तिको योग्यता उल्लेख गर्न माग गर्नुभयो । 
यस्तै सुझाव दिनका लागि काठमाडौंको दशरथ रंगशालामा पुगेकी काठमाडौं महानगरपालिका ११ बबरमहलकी बसन्ती भट्टले नेताको मात्र नभई, राजनीतिक नियुक्ती हुने आयोग तथा निकायमा नियुक्त हुने व्यक्तिहरुको पनि योग्यता तोक्न माग गर्नुभयो । ‘सांसद हुने व्यक्ति कम्तिमा आइए (कक्षा १२ वा सो सरह) पास हुनुपर्छ ।’ उहाँले भन्नुभयो ‘राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री हुने व्यक्ति कम्तिमा स्नातक उत्तीर्ण हुनुपर्छ ।’
संविधानको मस्यौदामा सुझाव दिने नागरिकले मात्र होइन फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल चलाउने धेरै नागरिकले पनि नेताको योग्यता तोक्न माग गरेका छन् ।

Post a Comment

 
Top