सुर्खेत, भदौ ३ – अखण्ड मध्यपश्चिमका लागि छुट्टाछुट्टै रुपमा विरोध प्रदर्शन गर्दै आएका सुर्खेतका राजनीतिक दल संयुक्त रुपमा आन्दोलन गर्न सहमत भएका छन् । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको सहजिकरणमा भएको छलफलपछि १२ राजनीतिक दल संयुक्त रुपमा आन्दोलन गर्न सहमत भएका हुन् ।
मध्यपश्चिमलाई छुट्टै प्रदेश र त्यसको राजधानी सुर्खेतमा कायम गर्न माग गर्दै दलहरुले १२ दिनदेखि छुट्टाछुट्टै रुपमा विरोध प्रदर्शन गर्दै आएका थिए । साझा नारा र साझा मुद्दा सहित माग पुरा नभएसम्म विरोध प्रदर्शन जारी राख्ने दलहरुले प्रतिवद्धता जनाएका छन् ।
उनीहरुले आन्दोलनका लागि ‘हाम्रो साझा एकता, अखण्ड मध्यपश्चिमका लागि प्रतिवद्धता’ भन्ने मुल नारा तय गरेका छन् । अखण्ड मध्यपश्चिम कायम गर्नुपर्ने, अवैज्ञानिक सीमांकन खारेज गर्नुपर्ने, आन्दोलनमा ज्यान गुमाएकालाई शहिद घोषणा गर्नुपर्ने, घटनाको न्यायीक छानविन आयोग गठन गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार गर्नु पर्ने लगायतका माग अघि सारेका छन् । आन्दोलनलाई अझै सशक्त बनाउनका लागि सबै राजनीतिक दलहरु सल्लाहकार रहेको नागरिक संघर्ष समितिको पुनर्गठन गरिएको छ ।
वरिष्ठ संयोजकमा देवेन्द्र विसी र उद्योग वाणिज्य संघका क्षेत्रीय अध्यक्ष पदमबहादुर शाही कार्यकारी संयोजक रहेको १ सय ५१ सदस्यीय समिति संघर्ष समिति पुनर्गठन गरिएको छ ।नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राप्रपा, राप्रपा नेपाल, राष्टिय जनमोर्चा, नेकपा मसाल, नेकपा¬—माओवादी, नेकपा माओवादी र समाजवादी जनताबादीले साझा प्रतिवद्धता जनाएका छन् ।

Post a Comment

 
Top