Indra-Khatri,-Ramechhap-Murder
२४ साउन, रामेछाप । साउन २३ गते रामेछाप नगरपालिका ४ डुमि्रबोटकी २९ वर्षीया इन्द्रा खत्री विकको हत्या गरेको अवस्थामा शनिबार दिउँसो शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शनिबार दिउँसो मन्थली नगरपालिका १ स्थित सुकाजोर खोला नजिकै जंगलमा हत्या गरेको अवस्थामा उनको शव फेला परेको हो ।
उनकी १४ महिनाको छोरीको भने जिवितै उद्दार गरिएको छ । शनिबार दिउँसो बस्तु चराउन गएका गोठालाहरुले जंगलमा बच्चा रोएको सुनेपछि हेर्न जाँदा बालिकालाई जिवितै फेला पारेका थिए ।
त्यसपछि उनीहरुले प्रहरीमा खबर गरेकोमा प्रहरी टोली जंगलमा पुगी खोजी गार्दा बालिका रहेको स्थानभन्दा १५ मिटरमाथि महिलाको शव फेला पारेको थियो । उनको अनुहार र टाउकोमा ढुंगाले हिर्काएको चोटहरु छन् भने घाँटिमा सल बाँधिएको थियो ।
शव बाटो छेउमा नै घोप्टो पारेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । १४ महिने बालिका रोजिना विकको पनि दाहिने आँखा माथि हिर्काएको चोट छ । चोटको कारण उनको आँखामा रगत जमेको छ ।
बालिकालाई उद्धार गरी मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचारको लागि राखिएको छ ।
घटना शंकास्पद
सुर्खेतको छिन्चु १ सुर्खेत माइती भएकी गहरसिंह खत्रीकी छोरी इन्द्राले रामेछापको रामेछाप नगरपालीका ४ डुमि्रबोटका २६ वर्षीय रमेश विकसँग २०७० असार १३ गते बिबाह गरेकी थिइन् । नेपाली सेनामा कार्यरत उनले सुर्खेतमा जागिरमा गएको बेला बिबाह गरेको खुलेको छ । परिवारका सदस्यहरुलाई जानकारी नदिइ उनले खत्रीसँग दोस्रो बिबाह गरेका थिए । उनीबाट २०७१ जेठ ११ गते छोरी समेत जन्मिएकी थिइन् ।
उनको विबाह र जन्मदर्ता २०७२ साउन १४ गते रामेछाप नगरपालीमा भएको फेला परेको छ । बुधबार छिन्चुबाट रामेछाप आएकी ती महिला सो रात मन्थलीको भैसेसुरस्थित खड्ककुमारी श्रेष्ठको होटलमा बास बसेकी थिइन् । रामेछापस्थित सेनामा रहेका पतिलाई भेट्न भनि उनी विहीबार विहान होटलबाट रामेछाप बजार पुगेकी थिइन् ।
शुक्रबार दिउँसो पुनः होटलमा फर्किएकी इन्द्रा अपरान्ह ४ बजेतिर पतिले फोन गरेर बोलाएको भन्दै होटलबाट निस्किएको होटल मालिक खड्गकुमारी श्रेष्ठले बताइन् । ‘छोरीलाई सातु घोलेर खुवाएर श्रीमान्को फोन आयो भनि निस्किएकी थिइन् । श्रीमानको सरुवा छिन्चु तिरै मिल्ने भयो । सामान लिन आउनु भनि बोलाएका छन् । म गएँ भनेर निस्किएकी थिन् । आजत लाश पो भेटिएछ । यो के अचम्म,’ उनले भनिन् ।
घटनाको प्रकृति हेर्दा उनको शुक्रबार रातिल नै हत्या भएको अनुमान गरिएको छ । मृतकको शव प्रहरीले शनिबार अपरान्ह मन्थली ल्याएको छ । हत्या कसले गर्‍यो भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।
http://www.onlinekhabar.com/

Post a Comment

 
Top