काठमाडौं, साउन १– तपाईंलाई पत्यार नलाग्न सक्छ, भूकम्प पीडित भएर आफ्नो बासस्थान नै छाडेर हिँडेकाहरु शौचालय खर्च बापत १४ हजार तिर्छन् भनेर । गएको वैशाख १२, १३ र २९ गते गएको भूकम्पका कारण सिन्धुपाल्चोकका धेरै घर भत्किए । हजारौं विस्थापित भए । उनीहरु आफ्नो ठाउँमा बस्न नसकेर काठमाडौं उपत्यकासम्म आएर बसिरहेका छन् । 

भूकम्पपछि जमिन नै खस्न थालेपछि सिन्धुपाल्चोकको तातोपानीका बासिन्दा काठमाडौंको थली चौरमा आएर बसेका छन् । खुला चौरमा पालमुनि बस्दा उनीहरुको अवस्था दयनीय बन्दै गएको छ । अझ त्यसमाथि स्वच्छ खानेपानी र शौचालय नहुँदा थप समस्या छ ।
कान्ति भैरव उच्च माध्यामिक विद्यालको स्वामित्वमा रहेको चौरमा बसिरहेका ४७ परिवार भूकम्प पीडितले शौचालय गरे बापत मासिक १४ हजार एक सय रुपैयाँ बुझाउँदै आएका छन् । हरेक परिवारले दैनिक १० रुपैयाँका दरले विद्यालयलाई बुझाउँदै आएका छन् । पीडित कुमार शेर्पाले भन्नुभयो, ‘हामीले हरेक परिवारको दैनिक १० रुपैयाँ बुझाउँदै आएका छन् ।
पैसा बुझाउन एक दिन मात्र पनि ढिलो भयो भने ताल्चा लगाइदिन्छन् । अनि दिसा पिसाब लागे पनि कता जाउँ के गरौं हुन्छ ।’ उनीहरुले १५÷१५ दिनमा रकम बुझाउँदै आएका छन् । खानेकुरा, पानी जस्ता वस्तु राहत स्वरुप पाइरहे पनि शौचालयकै लागि चर्को मूल्य तिर्नु पर्दा उनीहरु आजित भएका छन् । शौचालय बनाइदिन्छौं भनेर विभिन्न संघ संस्था आउँदा पनि स्थानीयको अवरोधका कारण आफूहरु पिल्सिएर बस्नुपरेको पेम्बा लामा बताउनुुहुन्छ ।
थली चौरमा बसेका भूकम्प पीडितमाथि स्थानीय क्लिनिकले पनि चर्को मूल्य लिने गरेका छन् । सामान्य स्वास्थ्य समस्या भएर गएपनि क्लिनिकले आफूलाई नचाहिँदो पैसा लिने गरेको उनीहरुको गुनासो छ । त्यस्तै, स्थानीय प्रहरी चौकीले पनि भूकम्प पीडितलाई सताउने गरेको छ । बेला बेलामा बोलाएर अनावश्यक सोधी खोजी गर्ने, बसिरहेका हरुको नामावली माग्ने गरेको छ । 

१५ हजार पाएनन् 

सरकारले भूकम्प पीडितलाई १५ हजार दिइसकेको दावी गरेपनि तातोपानीका विस्थापितहरुले भने अझै पाउन सकेका छैनन् । कसैकसैलाई परिचयपत्र दिए पनि पैसा भने अझै पाउन नसकेको दावा शेर्पाको भनाई छ । गाविस सचिवलाई फोन गरेर पैसा दिन आग्रह गरे पनि वास्ता नगरेको विस्थापितहरुको गुनासो छ ।

Post a Comment

 
Top