काठमाडौं, असोज ३ – नयाँ संविधान जारी हुनै लाग्दा देशैभर उत्साह छाएको छ । संविधानसभा भवनभित्र र बाहिरको सडक, चोकसँगै देशका बिभिन्न ठाउँमा संविधानको स्वागतका लागि भव्य तयारी भैरहेको छ । काठमाडौंका चोक र गल्लीमा नागरिक नयाँ संविधानको बारेमा भलाकुसारी गरेका भेटिन्छन । नयाँ संविधानको स्वागतमा सरकारले आइतबार र सोमबार  सार्वजनिक विदा दिएकाले नागरिक सडकमा  निस्केर संविधानबारेमा चासो ब्यक्त गरेका छन् । संविधानसभा भवन नयाँ बानेश्वरलाई बेहुली जस्तै सिंगारिएको छ । भवनको मुलद्वारदेखि नै फूलमाला र ध्वजापताकाले झकिझकाउ बनाइएको छ । भवन परिसरमा रहेका सबै पोलमा राष्ट्रिय झण्डा फहराइएको छ । संसद सचिवालयका कर्मचारी थप सजावटका लागि ब्यस्त छन् । संविधानसभा भवनमा बेलुका रंगीचंगी बत्ती बाल्न आवश्यक तयारी भैरहेको छ ।  देश बिदेशका बिशिष्ट पाहुना आउने भएकाले वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीले गस्ती गरिरहेका छन् । संविधानसभाका गतिविधी नियाल्न बानेश्वर वरपर नागरिकको निकै घुईंचो लागेको छ । संविधानसभाको गेट वरपर फोटो खिच्नेको पनि उत्तिकै भिड छ । नयाँ बानेश्वर, बागबजार, पुल्चोक, माइतिघर थापाथली लगायतका ठाउँमा ‘नयाँ संविधानलाई स्वागत’ लेखिएका तुल ब्यानर झुण्ड्याइएको छ । बानेश्वर क्षेत्र वरपरको सडक कुचो लगाएर चिटिक्क पारिएको छ । 

Post a Comment

 
Top