ओली भन्छन्- त्यो ऐतिहासिक घर हो


house (2)
४ असोज, काठमाडौं । वैशाख १२ को विनाशकारी भूकम्पले हल्लाएको मुटु ठाउँमा आउन नपाउँदै वैशाख महिनाको अन्तिम साताको एक दिन कोटेश्वर निवासी अर्जुन भण्डारीको मुटु ढुक्क फूल्यो ।
नफूलोस् पनि किन ? नदीका दुई किनारा जस्ता मानिएका एमाले अध्यक्ष केपी ओली र एमाओवादी नेता डा.बाबुराम भट्टराई एकाएक उनको घरमा प्रवेश गरे ।
पाइलटको प्लानिङ
कोटेश्वरको एसओएस स्कूलसँगैको भण्डारीको सामान्य घरमा देशका दुई ठूला नेता सुटुक्क प्रवेश गरेका थिए । उनीहरुको भेटघाटको चाँजो मिलाएका रहेछन् नातामा अर्जुनका भिनाजु पाइलट रामेश्वर थापाले ।
सोच्दै नसोचेको घटना आफ्नै घरभित्र हुँदा उनको मुटु ढक्क फुलेको थियो । त्यसपछि त उनको यही घरमा प्रचण्ड र बिजय गच्छदार अनि माधव नेपालहरुको ओहोर-दोहोर नियमतिजसो हुन थाल्यो ।
एकले अर्काको छेउमा बस्दा पनि बात लाग्छ जस्तो अवस्थामा रहेका नेताहरुलाई यो घरमा ल्याएर नछुटि्टने गरि मिलाउने धागो बनेका रहेछन्, रामेश्वर थापा ।
प्रचण्ड भाग्ने ठाउँ खोज्थे
भूकम्पको त्रासले काठमाडौंका मान्छेहरु घर छाडेर पालमा बसिरहेका बेला अर्जुनको घरमा भने ठूला नेताहरुको नियमितजसो जमघट हुन थाल्यो । एक दिन त नेताहरु वार्ता गरिरहेका बेला विहान साढे ६ बजे भूकम्पले एक धक्का दिइहाल्यो ।
अरु नेता कोठामा झुण्डिएको बत्तीको झल्लर हल्लिएको हेर्न थाले, प्रचण्ड भने ठूलै आयो भने त भाग्नुपर्छ भन्दै बाहिर भाग्ने ठाउँ हेर्न थाले ।
‘भूकम्पले धेरै मान्छेलाई तितर-बितर पारेका बेला मेरो घरले भने विपरीत बाटो हिँडिरहेका नेतालाई जुटायो’ अनलाइनखबरसँग भण्डारीले खुलासा गरे ।
ओली प्रचण्ड मिलेको घर
एक अर्काबीच पानी बाराबारको अवस्थामा रहेका र विपक्षीलाई पागल घोषणा समेत गरेका दुई नेताको मिलन भण्डारीकै घरबाट शुरु भएको थियो । अर्जुन भण्डारीको घरबाट शुरु भएको प्रचण्ड र केपी ओलीको पुनर्मिलन अहिले घनिष्ठ मित्रका रुपमा परिणत भइसकेको छ ।
गोप्यता कसरी लुकाए ?
चारदलबीचको १६ बुँदे सहमतिको सूत्रधार बनेको यो घरका घरबेटीले कहिल्यै कसैलाई आफ्नो घर प्रयोग भएको बारे बताएनन् । उनले यो गोप्यता संविधान प्रमाणीकरण नभएसम्म लुकाउन चाहे । तर, लुकेन ।
Prachanda-Baburam-KP-and-Rameswor-Thapa
संविधान जारी हुने दिन भने उनले आफ्नो ऐतिहासिक घरको कथा लुकाउन सकेनन् र अनलाइनखबर मार्फत उनले खुलासा गरे- हो, नेपालका प्रमुख दलका शीर्ष नेतालाई मिलाउने मेरै घर हो, मेरै घरको सोफामा बसेर नेताहरुले १६ बुँदे सम्झौताको मस्यौदा बनाएका हुन् ।
अनलाइनखबरले अर्जुन भण्डारीको घरमा प्रचण्ड र ओली कसरी मिले भन्ने समाचारको खुलासा गरेपछि नेताहरुबीच यो गोपनियता कसले खोल्यो भन्ने चर्चा समेत चलेको थियो त्यसबेला ।
भण्डारीलाई देश बिदेशबाट फोन गरेर नेतालाई मिलाएको भन्दै बधाइ पनि दिए । ‘तर त्यो समाचार र फोटो नेताहरुबाटै अनलाइनखबरमा चुहिएको भन्ने उहाँहरुले नै भन्नुभयो, मप्रति कसैले शंका गर्ने ठाउँदिइँन’ उनले भने ।
ओलीले भने-ऐतिहासिक घर
अर्जुन भण्डारीको घरबाट १६ बुँदे सम्झौताको जग निर्माण भएपछि एक दिन ओलीले भनेछन्- तपाईको यो घर ऐतिहासिक बनेको छ । संविधान जारी भएपछि यो घरको महत्व बढ्नेछ ।
ओलीका लागि त यो घर यस्तो चौतारो बन्यो कि,उनी जुनसुकै ठाउँमा जानुपर्दा पनि एक छिन अर्जुनको घरमा छिरेर आराम गर्थे अनि हिँड्थे । प्रायः सधै बालुवाटार जानुअघि शीर्षनेताहरु उनकै घरमा भेला भएर अनौपचारिक कुरा गरेर हिँड्थे ।
क-कसको जमघट भयो ?
१६ बुँदे सम्झौताको जग निर्माण गर्दा उनको घरमा १३ पटक शीर्षनेताहरुबीच छलफल भएको थियो । केपी ओली, प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, बिजय गच्छदार, नारायणकाजी श्रेष्ठ र बिष्णु पौडेल यो घरमा धेरैपटक छलफलमा बसे ।
Prachanda-KP-Baburam-Gachadhar-and-miss-Bhandari
मधेस आन्दोलन चर्किएपछि पनि एकपटक क्याप्टेन रामेश्वर थापाले शीर्षनेताहरुलाई जुटाएर छलफल गराए । ‘मेरो घरमा छलफल गरेपछि सहमति हुन्छ भन्नु हुन्छ नेताहरु’ मख्ख पर्दै उनले भने ।
जेठ २४ मा के भएथ्यो ?
उनलाई अझै पनि सम्झना छ, जेठ २५ गते चार दलबीच १६ बुँदे सम्झौता हुनुभन्दा एक दिन अघि धेरै नेताहरु उनकै घरमा बसेर निकै गलफत्तिपछि अब सहमति भयो भन्दै निस्केका थिए ।
भोलिपल्ट १६ बुँदे सम्झौताको समाचार आएपछि उनी निकै खुसी भए । ‘यो देशलाई निकास दिन मेरो घर उपयोगी भएकोमा म निकै खुसी भएँ’ भण्डारीले भने ‘अब संविधान नै जारी हुने भएपछि त यो घर मेरा लागि अमूल्य भएको छ’ ।
व्यापारै छाडेर दौडिए
रामेछाप गागल भदौरेका स्थायी बासिन्दा रेष्टुरेन्ट व्यवसायी अर्जुनले ०५८ सालतिर कोटेश्वरमा ९ आना जग्गामा साढे दुई तले घर बनाएका थिए । अन्ततः यही घर नेपालको नयाँ संविधान जारी गर्ने आधारस्थल बन्यो ।
Prachanda-KP-and-Arjun-Bhandari
नेताहरु उनको घरमा आउनुअघि खबर गर्थे । प्रायः खबर क्याप्टेन रामेश्वर थापा मार्फत गर्थे जो अन्नपूर्ण पोष्टका प्रकाशक पनि हुन् । त्यसपछि उनी जहाँ भए पनि घरमा पुग्थे ।
भण्डारी भन्छन्- देशका ठूला नेताहरु आउने भएपछि मैले आफ्नो ब्यापार व्यवसाय छाडेर आउनै पर्‍यो । मेरी श्रीमतीले साह्रै उत्साही भएर चिया खाजा बनाएर खुवाइन् ।
के-के खान्थे नेताले ?
अर्जुनको घरमा नेताहरुले प्रायः सधै खाने भनेको ग्रीन टी र ब्ल्याक टी हो । त्यस बाहेक फापरको सादा रोटी, सामान्य तरकारी र कहिले कहीँ तेल नराखी बनाएको चिकेन ।
माधव नेपालचाहिँ खाने कुरामा नाकनिक नगर्ने नेता मान्छन् उनी । ‘माधव नेपाल गामगुम जे पनि खाने, अरु नेतालाई भने विभिन्न रोग रहेछन्’ उनले नेताको खानेबानी सुनाए ।
उनको घरमा एक दिनमा दुई पटकसम्म वार्ता भए । तर, कहिल्यै उनले यो कुरा बाहिर ल्याएनन् । ‘नेताहरुले विश्वास गरेर मेरो घर छान्नुभयो, यसमा मैले विश्वासघात गर्ने कुरै भएन’ उनले भने ।
छिमेकीको डाइलग
उनको घर अगाडि सडकमा नेताका र सुरक्षाकर्मीका गाडी राखिएपछि त्यो बाटो ब्लक हुन्थ्यो । कतिपय बेला छिमेकीले संविधान पनि बन्दैन बाटो पनि बन्दैन भन्दै आक्रोश पनि पोखे ।
तर १६ बुँदे सम्झौतादेखि संविधान जारी हुने बेलासम्म आइपुग्दा उनका छिमेकी पनि उनको घरले नेतालाई मिलाएको खुसी भएका छन् । ‘अब त मलाई पो के हुन्छ भनेर सोध्न थालेका छन्’ भण्डारी भन्छन् ।
बिजय भोजको आशा
संविधानको जग बनेको उनको घरमा अब नेता फर्केर आउलान् ? भण्डारीलाई विश्वास छ-संविधान जारी भएपछि अवश्य पनि एकपटक नेताहरुको पुनर्मिलन यहि घरमा हुनेछ ।
त्यसदिन उनले नेतालाई खाजा होइन खाना खुवाउनेछन् । अनि त्यो बिजय भोजमा उनको परिवार पनि सामेल हुनेछ ।
- See more at: http://www.onlinekhabar.com

Post a Comment

 
Top