सुवासचन्द्र नेम्वाङ

चुनौतीहरु धेरै थिए तर ती सबै चुनौतीलाई पार लगाइयो । हिजोअस्तिसम्म मात्र पनि हामीलाई थाहै छ, दलहरुबीचमा तिक्तता बढेर उत्कर्षमै पुगेको थियो । अहिले संविधान जारी गर्ने कतिपय दलहरु बहिस्कारको स्थितिमा थिए ।  बोलचाल थिएन  । त्यो स्थितिमा सारै ठूलो मेहनतले संविधानसभालाई लामो समय बिनासूचना अनिश्चित कालका लागि स्थगितसम्म गरेर आखिरमा सबैलाई एक ठाउँमा उभ्याउन सकियो ।
मलाई खुशी लागेको छ, संविधानसभाले संविधान बनाएको छ । हिजो अस्ति हामीले संविधान निर्माणको काम गरिरहँदा र हामीले हाम्रो निर्णय गरिनसकेको अवस्थामा उठेका मागहरुको एउटा प्रसंग छ ।  त्यतिबेला सुझावहरु आए, मागहरु प्रस्तुत भए त्यसलाई अर्कै ढंगले हेर्नुपर्छ ।  यिनीहरुले निर्णय गर्न लागेका छन् भनेर ती कुराहरु उठ्नुलाई एकदम स्वभाविक मान्नुपर्छ । हामीले जब त्यसलाई सम्वोधन गर्‍यौं । कतिपय कुराहरु सम्वोधन भए, कतिपय कुराहरु भएनन् र हामीले संविधान निर्माणको कामलाई टुंग्यायौं ।
त्यसपछि भने परिपेक्ष फेरिएको छ । तिनै साथीहरुले राम्रो काम भयो संविधान बन्यो अब हाम्रा कामहरु आउने दिनमा गर्दै जाउँला भन्नुभएको छ । तरपनि केही असन्तुष्टिहरु बाँकी छन् । म त्यसलाई सम्मान गर्छु । मैले निरन्तर आग्रह गरिरहेको छु यो जुन संविधान छ, यो तपाईँहरु समेतको मेहनतको परिणाम हो । यसैको आधारमा उभिएर आउने दिनहरुमा तपार्इँहरुका कुराहरुलाई संविधानमा समेट्ने प्रक्रियामा जाऔँ । संसारभरिको चलन यही हो भनेर मैले आग्रह गरेको छु ।
म आदरणीय दिदीबहिनी, दाजुभाइहरु, मित्रहरुलाई भन्न चाहन्छु २००७ साल देखिको चाहना र भावनाले मूर्तता पाएको छ । तुलनात्मक रुपमा हामीले राम्रो संविधान बनाएका छौँ । प्रगतिशील संविधान बनाएका छौँ । महिला, दलित, जनजाती, मधेसी सबैलाई हुने खालको संबिधान बनाएका छौँ । सयमा सय सबैका सबै कुराहरु नपरेका हुन सक्छन् । कहीँ पनि पर्दैन तर धेरैहदसम्म हामीले सम्वोधन गर्ने प्रयास गरेका छौँ । गणतन्त्रलाई, समावेशितालाई, धर्म निरपेक्षतालाई संघीयतालाई हामीले संस्थागत गरेका छौं । जनमैत्री संविधान बनाएका छौं । बाँकी रहेका कुराहरुलाई समेट्न सक्ने आधार तयार गरेका छौँ ।
एकदम लचिलो संविधान बनाएका छौं । कतिपय कुराहरुमा हिजोको जस्तो गल्ति नगरौँ । यो संबिधान ६० वर्षसम्म कमा र फुलस्टप पनि परिवर्तन हुँदैन भन्ने भावना राखेर होइन, आवश्यक पर्दा जनता र देशको हितमा हामी संशोधन गर्नको लागि जहिले पनि तयार हुनुपर्छ । हामीले त्यो ठाउँ राखेका छौँ । नेपालकै इतिहासमा पहिलोपटक नागरिकले निर्वाचन गरेको सार्वभौम संविधानसभाले यो संविधान बनाएको छ । त्यसैले नितान्त नागरिकको सहभागितामा बनेको संविधान हुनाले पनि जनताका बाँकी रहेका समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्ने आधार तयार भएको छ ।
यही आधारमा उभिएर अगाडि बढौँ मेरो सबैलाई आग्रह छ । अहिले संविधान बनाउने हाम्रो अगाडि चुनौती थियो । त्यो चुनौतीलाई हामीले पार लगायौँ । धेरै मेहनतबाट यो बिन्दुमा आइपुग्यौँ । एउटा चुनौती पार भयो । अब अर्को चुनौती अहिलेदेखि नै सुरु भएको छ । त्यो हो, यो संविधानको सहज, सफल र प्रभावकारी कार्यान्वयन ।
यसलाई कार्यान्वयन गर्ने जिम्मा यहीँका राजनीतिक दलहरुको, नेताहरुको, यहीँको जनसमुदायको हो । त्यो कार्यान्वयन त्यत्तिकै चुनौतीपूर्ण हुन्छ । त्यसैले अहिलेदेखि नै दलहरुलाई नेताहरुलाई सबैलाई म आग्रह गर्न चाहन्छु हामी सबैको कुरा सुन्छौँ, सक्नेसम्म सम्वोधन गर्छौ भन्ने भावनाकासाथ अहिले देखि नै छलफल अगाडि बढाऔँ । त्यो आधारमा अगाडि बढौँ । मेरो विश्वास छ हामीले त्यसरी अगाडि बढ्दा एउटा टुंगोमा पुग्ने राम्रो आधार तयार गरेका छौँ । 

– संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँगको कुराकानीमा आधारित

Post a Comment

 
Top