जाजरकोट, साउन २८ - नागरिक संगठनहरुको नेतृत्वमा पाँच दिनअघि मध्यपश्चिम प्रदेशको माग गर्दै सुरु भएको आन्दोलन अराजक बन्दै गएपछि शुक्रवारदेखि आन्दोलनको नेतृत्व दलहरुले लिएका छन् ।

स्थानीय प्रशासनको पहलमा विहान बसेको सर्वपक्षीय बैठकले आन्दोलनलाई शान्तिपुर्ण बनाउन दलहरुले नेतृत्व लिनु पर्ने निर्णय गरेपछि उनीहरुले नेतृत्वले लिएका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, नेकपा–माओवादी, नेकपा माओवादी, राप्रपा नेपाल, राप्रपालगायतका दलको प्रत्यक्ष सहभागितामा शुक्रवार सदरमुकाममा शान्तिपुर्ण प्रदर्शन भएको छ । प्रदर्शनपछि आयोजित सभालाई सम्वोधन गर्दै सवै दलका जिल्ला स्तरीय नेताहरुले आफूहरुका शान्तिपुर्ण मागलाई तत्काल सम्वोधन गर्न शीर्ष नेतृत्वलाई आग्रह गरेका थिए ।
नेपाली कांग्रेसका बेदराज सिँह, नेकपा एमालेका नवराज सिँह, एकीकृत नेकपा माओवादीका चन्द्रबहादुर थापा, नेकपा–माओवादीका प्रताप जैसीलगायतले जायज मागलाई पुरा गर्न सरकारलाई आग्रह गर्नुभयो ।
६ नम्बर प्रदेशको सीमांकन खारेज गरी मध्यपश्चिम विकास क्षेत्रलाई मध्यपश्चिम प्रदेश कायम गर्नु पर्ने माग गर्दै जाजरकोटेली आन्दोलनमा उत्रिएका छन् । लगातारको बन्दले जाजरकोटेलीले नै सास्ती खेप्नु परेको छ । वन्दका कारण जाजरकोटबाट बाहिर जाने र जिल्ला आउने कुनै पनि गाडी चलेका छैनन् । जसका कारण जनजीवन निकै कष्टकर बनेको छ ।

Post a Comment

 
Top